निर्मला कुर्मी बेपत्ता प्रकरण : पाँच दिनभित्र न्यायिक समिति गठन गर्न ‘अल्टिमेटम’

मंगलबार, १० माघ, २०७९
डिजिटल संस्करण

बेपत्ता बनाइएकी नेपालगन्जकी निर्मला कुर्मी घटना अनुसन्धानमा न्यायिक छानबिन समिति गठनको माग गर्दै २६ दिनदेखि धर्नारत अधिकारकर्मी रुवी खानसहितको टोली पक्राउ परेका छन् । माइतीघर मण्डलाबाट बबरमहल हुँदै सिंहदरबारको दक्षिण ढोकातर्फ जाने क्रममा प्रहरीले उनीहरूलाई सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउपछि प्रहरी वृत्त सिंहदरबारमा करिब दुई घन्टा राखेर उनीहरूलाई छाडिएको थियो । 

खानसहितका अभियन्ता २६ दिनदेखि माइतीघर मण्डलामा लालटिन बालेर धर्नारत छन् । एक वर्षसम्म पनि घटनाको अनुसन्धान अघि नबढेको भन्दै शक्तिशाली न्यायिक छानबिन समिति गठन हुनुपर्ने उनीहरूको माग छ । ‘घटनाको छानबिन गर्न एक वर्षअघि सरकारसँग सहमति भएको थियो । तर, हालसम्म अनुसन्धान अघि नै बढ्न सकेन । सिआइबीसँग बुझ्दा घटनाका मुख्य अभियुक्त भनिएका बादशाह कुर्मीलाई अभियुक्त नै बनाइएको छैन । त्यसैले अब शक्तिशाली न्यायिक छानबिन समिति गठन हुनुपर्छ । यो हाम्रो बटमलाइन हो,’ खानले भनिन् ।

सरकारले पाँच दिनभित्र समिति गठन नगरे माइतीघर मण्डलामै आमरण अनशन बस्ने अभियन्ता खानले चेतावनी दिइन् । ‘हामीले न्यायिक समिति गठनको माग गरेका छौं । पाँच दिनभित्र समिति गठन नभए माइतीघर मण्डलामै आमरण अनशन बस्छौँ । यो हाम्रो ‘अल्टिमेटम’ हो,’ उनले भनिन् ।

धर्नाको ४० दिनपछि गत वर्षको २० पुसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले घटनाको अनुसन्धान गर्ने सरकार र उनीहरूबीच सहमति भएको थियो । त्यसअघि उनीहरू नेपालगन्जबाट २० दिनको पैदलयात्रा गर्दै दबाब दिन काठमाडौं आएका थिए । सोही दबाबपछि घटनाको अनुसन्धान गर्न गृह मन्त्रालय तयार भएको थियो । दुई पक्षबीच भएको सम्झौताअनुसार छानबिन समिति गठन भयो । समितिले पनि घटनाको छानबिन गरिनुपर्ने बताएको छ । तर, हालसम्म सरकारको निकायले छानबिन गर्न सकेको छैन ।

नेपालगञ्ज उपमहानगरपालिका–१७, परसपुरकी निर्मला कुर्मी वर्ष दिनदेखि बेपत्ता छिन् । अपहरणपछि उनको हत्या गरिएको भन्दै आफन्तले बाँके प्रहरीमा १६ मंसिर ०७७ मै १२ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले बेवास्ता गरेपछि घटनालाई लिएर महिला अधिकारकर्मी रुवी खान नेपालगन्जमै आन्दोलनमा उत्रिइन् । कुनै सुनुवाइ नभएपछि उनको टोली पैदल हिँडेर काठमाडौं आएको थियो ।

सुझावित समाचार