आफ्नै भवनमा लुम्बिनीका सांसदको शपथ

सोमबार, १८ पुष, २०७९
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभाका सदस्यहरूले प्रदेश सभाको नयाँ भवनमा पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आइतबार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका भालुवाङमा निर्माण भएको नयाँ भवनमा नवनिर्वाचित सदस्यले शपथग्रहण गरेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथग्रहण गराए । लुम्बिनी प्रदेश सभामा ०७४ मा पनि प्रदेश प्रमुखले नै शपथ गराएका थिए । 

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल छ । एमालेका २९, कांग्रेसका २७, माओवादीका नौ, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार–चार सांसद छन् । त्यस्तै, जसपा, लोसपा, जनमत पार्टी र स्वतन्त्र तीन–तीन तथा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् । 

शपथग्रहण समारोहमा मुख्यमन्त्री कुलप्रसाद केसी, पहिलो मुख्यमन्त्री शंकर पोखरेल, निवर्तमान सभामुख पूर्णबहादुर घर्तीलगायत सहभागी थिए । ०७४ मा निर्वाचित पहिलो प्रदेश सभाका सबै बैठक बुटवलमा बसेका थिए । दोस्रो कार्यकालका बैठक भने स्थायी राजधानी भालुवाङमा बस्नेछन् । 

सुझावित समाचार