व्यक्तित्वमा निखार ल्याउन सानैदेखि तेक्वान्दो

बिहिबार, १४ पुष, २०७९
डिजिटल संस्करण

तेक्वान्दोले बालबालिकामा ध्यान, आत्मविश्वास र आत्मसम्मानको भाव बढाउँछ । यसको प्रशिक्षणका दौरान गरिने योगा, श्वासप्रश्वाससम्बन्धी अभ्यास र आत्मविश्लेषण कला मानिसको समग्र जीवनका लागि उपयोगी छ । 

मोहन विश्वकर्मा, तेक्वान्दो प्रशिक्षक राष्ट्रिय खेलकुद परिषद् 

त्यसैले बालबालिकालाई तेक्वान्दो खेलाउन अनिवार्य छ । दैनिक तेक्वान्दो प्रशिक्षण गर्दा शरीरका मासंपेशीहरू बलियो हुन्छन्, स्टामिना बढ्छ, रक्तसञ्चार राम्रो हुन्छ र शरीर लचकदार तथा फुर्तिलो बन्छ । बालबालिकाको शारीरिक विकासका लागि यो अत्यावश्यक छ । यससँगै बालबालिकालाई अनुशासन सिकाउँछ, अद्भूत ध्यानशक्तिको विकासले स्मरणशक्ति बलियो बन्छ, तनावलाई सहज रूपमा सामना गर्न सिकाउँछ, जसले गर्दा बालबालिकाको व्यक्तित्वमा निरन्तर निखार आउँदै जान्छ र भविष्यमा उनीहरूलाई आफू लागेको क्षेत्रमा सफल हुन प्रेरणा मिल्छ । 

आत्मरक्षा
नेपालको लोकप्रिय खेलमा तेक्वान्दो पनि पर्छ । यो खेल बालबालिका मात्रै नभएर जुनसुकै उमेरमा व्यक्तिले पनि खेल्न सक्छन् । तराई, पहाड र हिमालका गाउँमा महिला, पुरुष र बालबालिकाले समेत तेक्वान्दो सिक्ने गरेका छन् । दीपक विष्ट, संगीना वैद्यलगायत यस खेलका धेरै खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक जितेर नेपालको नाम उच्च राखेका छन् । महिला हिंसाविरुद्धको खेलकुद अभियानका दौरान पछिल्ला ४ वर्षभित्र मैले ४१ वटा जिल्लामा पुगेर ११ हजार आमा तथा महिलालाई प्रत्यक्ष तेक्वान्दो प्रशिक्षण दिएको छु । घरेलु हिंसालगायत विभिन्न हिंसाबाट मुक्त गराउनका लागि आफ्ना छोराछोरीलाई तेक्वान्दो सिकाउनुपर्ने रहेछ भन्ने सन्देश तेक्वान्दोमार्फत अभिभावकलाई दिनका लागि यो कार्यक्रम गरिएको थियो । 

स्मार्टनेस 
कतिपयले तेक्वान्दोलाई बल प्रयोगमा खेलिने खेलको रूपमा बुझेका छन् । जो गलत हो । यसमा मुख्यतः ब्लकिङ, किकिङ अभ्यास गरिन्छ । विशेषगरी हात र खुट्टा धेरै चलायमान हुन्छ । अर्काे यसभित्र टेक्निकसँगै ध्यान, योगालगायत समावेश गरिएको हुन्छ । लाफिङ थेरापी, साइको थेरापी, हिलिङ थेरापीलगायत विभिन्न थेरापी यसमा समावेश छन् । जसले मानिसलाई स्मार्ट बनाउने काम गर्छ । यस खेलको नियमित अभ्यास गर्नाले मानिसको रोगसँग जुध्ने क्षमता पनि बढ्छ । 

कस्तो डाइट खाने ? 
यही खेलमा करिअर बनाउने र प्रतियोगितामा सहभागी हुनेले प्रशिक्षक वा डाइटिसियनको निगरानीमा विशेष डाइट रुटिन फलो गरेका हुन्छन् । खेलाडीहरू क्याम्पमा बसेको वेला प्रशिक्षकहरूले डाइटिङको प्लानिङ गरेका हुन्छन् । तर, तपाईं फिटनेसका लागि तेक्वान्दो खेल्दै हुनुहुन्छ भने हेभी डाइटिङ आवश्यक पर्दैन । तर, तपाईंको डाइट सन्तुलित र स्वस्थ हुनुपर्छ । 

बिहान मनतातो पानी पिएर तालिम गर्न सकिन्छ । तेक्वान्दो तालिम सकेर फर्किएपछि झोलिलो पदार्थ सेवन गर्नु राम्रो हुन्छ । मात्रा मिलाएर नियमित रूपमा चना, अन्डा, माछामासु, फलफूल तथा दूधजन्य पदार्थ खान सकिन्छ । पानी पर्याप्त पिउनुपर्छ । 

जाडोमा अभ्यास गर्दाका फाइदा
जाडोमा तेक्वान्दो अभ्यास गर्दा शरीरको कसरतसँगै चिसो सहने क्षमता पनि वृद्धि हुन्छ र विभिन्न रोगबाट जोगिन सहयोग पुग्छ । शरीरले क्याल्सियम र फोस्फोरस सोस्ने काम बढ्छ र बालबालिकाको शारीरिक विकासमा सहयोग गर्छ । शरीरका प्रत्येक अंगको व्यायाम हुने भएकाले रक्तसञ्चार र मस्तिष्कमा अक्सिजनको आपूर्ति बढ्छ । जसकारण, शरीर फुर्तिलो रहन्छ । थकान घट्छ । 

सुझावित समाचार