हेल्थ टिप्स
बढ्दो उमेरसँगै छाला चाउरिने तथा छालामा धर्साहरू देखिने प्रक्रिया स्वाभाविक हो । तर, कतिपयमा युवा अवस्थामै यस्ता लक्षण देखिन्छन् । जसकारण, उनीहरू आफ्नो उमेरभन्दा धेरै पाकोजस्ता देखिन्छन् । छालामा बुढ्यौली देखिने यस्तो प्रक्रियालाई ढिला गर्नका लागि स्वस्थ जीवनशैली, पर्याप्त निद्रा, खानपान, पानीको मात्रालगायत विभिन्न कुरा जरुरी हुन्छ । त्यस्तै, सूर्यको विकिरणबाट पनि बच्नुपर्ने हुन्छ । तपाईंले पोषणयुक्त खानेकुरा लिनुपर्छ । पोषक तत्वले चाउरीपन तथा सुक्खापन हटाएर छालालाई मुलायाम राख्छ र तपाईंलाई बढ्दो उमेरमा पनि युवाजस्तै देखाउँछ ।
भिटामिन सी : भिटामिन सीले हाम्रो शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । भिटामिन सी छालाका लागि पनि उत्तिकै फाइदाजनक छ । यसले कोलाजनलाई बढाउँछ र त्यसको प्रभावस्वरूप छाला स्वस्थ रहन्छ । हाम्रो उमेरसँगै कोलाजन कम हुँदै जाने भएकाले छालामा चाउरीपन तथा विभिन्न धर्सा देखिन्छन् । अमला, कागती, सुन्तलालगायत सिट्रस (अम्लीय) फलको प्रयोगले यसलाई नियन्त्रण गर्न सहयोग गर्छ ।
भिटामिन ई : सूर्यमुखी फूलको तेल, एभोकाडो र बदाममा पर्याप्त मात्रामा भिटामिन ई कम्प्लेक्स हुन्छ । भिटामिन ईका धेरै फाइदा छन् । त्यही कारण धेरैजसो स्किन प्रडक्टमा पनि यसको प्रचुर मात्रा हुन्छ । छालाको बुढ्यौली रोक्न यसले सहयोग गर्छ ।
भिटामिन ए : यसले शरीरमा स्फूर्ति ल्याउने काम गर्छ । साथसाथै, तपाईंको छालालाई पनि स्वस्थ राख्छ । यसमा रहेको रेटिनलले चाउरीपन रोक्ने तथा छालालाई चमकदार बनाउने काम गर्छ ।
भिटामिन बी : हाम्रो छालाका कोषहरूका लागि आवश्यक एन्जाइमको मात्रालाई भिटामिन बीले बढाउँछ । जसकारण बुढ्यौलीको प्रक्रिया ढिलो हुन्छ । माछामासु, अन्डा, दूध, दही, हरियो सागसब्जी, ब्रोकाउलीलगायत खानेकुरामा भिटामिन बी पाइन्छ ।
भिटामिन डी : भिटामिन डी घामको प्रकाशबाट प्राप्त हुन्छ । यो पनि बुढ्यौली रोक्ने भिटामिन हो । यसले छालासँग सम्बन्धित धेरै समस्या समाधान गर्छ । यसले अल्ट्राभ्वाइलेट किरणहरूबाट छालालाई बचाएर चाउरीपन र छालामा देखिने धर्सालाई कम गर्छ ।
जिन्क : जिन्कले कोषिकाहरूको झिल्लीलाई बलियो बनाउँछ । जसकारण छाला चाउरिन पाउँदैन । यसले बुढ्यौलीविरुद्ध रक्षाकवचको काम गरेर तपाईंको छालालाई युवाजस्तै बनाउँछ । दूधजन्य पदार्थ, गेडागुडी, मकै, आल्मोन्डलगायतमा जिन्कको मात्रा प्रचुर हुन्छ ।
लाइकोपिन : लाइकोपिन रगत र टिस्युको एक महत्वपूर्ण हिस्सा हो । यसले छालालाई सूर्यका विकिरणहरूबाट जोगाउने काम गर्छ । गोलभेँडा, तरबुजा र अम्बामा लाइकोपिनको मात्रा प्रचुर हुन्छ ।
रेस्वेराट्रोल : यो एकखाले एन्टिअक्सिडेन्ट हो । यसले केही खास एन्जाइमलाई सक्रिय गराएर छालाको बुढ्यौली रोक्छ । यसका लागि बदाम, पास्ता, अंगुर र डार्क चकलेट लिनुपर्छ ।
करक्युमिन : यो बेसारमा पाइने एक तत्व हो । यसमा सेल्युलर प्रोटेक्टिभ प्रपर्टिज हुन्छ । बेसारको धेरैभन्दा धेरै प्रयोग गर्दा शरीरलाई करक्युमिन मिल्छ । यसले छालालाई चम्किलो र स्वस्थ राख्छ ।
यी कुराबाट टाढा रहनुस्
जंकफुड, अजिनामोटो राखेको र मसलेदार खानेकुरा खानुहुँदैन । ताजा खानेकुरा खानुपर्छ । धेरै डाइटिङ गर्नुहुँदैन । तनाव धेरै लिनुहुँदैन । धूम्रपान–मद्यपान गर्नुहुँदैन ।