मेलम्चीको मुद्दा बोकेर देउवा भेट्न पुगे प्रकाशमान

बुधबार, २१ मंसिर, २०७९
डिजिटल संस्करण

प्रकाशमान सिंहको नेतृत्वमा काठमाडौंका निर्वाचित जनप्रतिनिधिको टोलीले प्रधानमन्त्री देउवालाई मेलम्ची खानेपानी आयोजनाबारे ध्यानाकर्षणपत्र बुझाएको छ । सिंह नेतृत्वमा काठमाडौं ५ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रदीप पौडेललगायतको टोलीले मेलम्ची आयोजनालाई दीर्घकालीन रूपमा अगाडि बढाउनुपर्ने भन्दै नौबुँदे ध्यानाकर्षणपत्र बुझाएको हो । सिंह पनि प्रधानमन्त्रीका आकांक्षी हुन्, तर उनी तत्काल यो दौडमा सक्रिय छैनन् ।

नेता सिंहसहितको टोलीले १५ मंसिरमा मेलम्ची खानेपानी मुहानमा पुगेर स्थलगत जानकारी लिएको थियो । स्थलगत अध्ययनका आधारमा टोलीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षणपत्रमा १ असार ०७८ मा मेलम्चीमा गएको विनाशकारी बाढीपछि मेलम्चीको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराइएको छ । ‘काठमाडौंको खानेपानी समस्या समाधानका लागि मेलम्ची आयोजनालाई पानी दीर्घकालीन रूपमा अगाडि बढाउनुपर्ने स्थलगत निरीक्षणपछि आवश्यकता महसुस भएको छ । त्यस कार्यमा सरकारको भूमिका प्रभावकारी रहनुपर्ने देखिन्छ,’ ध्यानाकर्षणपत्रमा उल्लेख छ । 

ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री देउवाले खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताए । देउवाले मेलम्चीको पानी वर्षभरि नै आउने गरी सरकारले आवश्यक काम गर्ने प्रतिबद्धता जनाएका थिए । देउवाले मेलम्ची खानेपानी विकास समिति खारेज गर्नुको कारण पत्ता लगाउन आवश्यक रहेको भन्दै मन्त्रिपरिषद् बैठकमा मुख्यसचिवसहितका विज्ञ टोली राखेर मेलम्चीको पानीलाई थप व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

ध्यानाकर्षणपत्रमा कर्मचारीको तलब सुविधाको विषय तत्काल सम्बोधन गर्न, मुहान क्षेत्रका स्थानीय तहको मागबारे छलफल गर्न, मेलम्ची बाढिपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुनर्निर्माणलगायत उचित व्यवस्था गर्नुपर्ने साथै मुहान क्षेत्रमा सरकारले ध्यान नदिएका स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा सरकारले विशेष पहल गर्नुपर्नेलगायत विषय समेटिएका छन् । कार्यक्रममा नेता पौडेलले काठमाडौं महानगरबाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउनुपर्ने बताए । पौडेलले बर्र्सातको समयमा पनि मेलम्चीको पानी आउने व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

See More On

सुझावित समाचार