सातामा दुईदेखि तीन सयमा अझै डेंगु संक्रमण

आइतबार, ११ मंसिर, २०७९
डिजिटल संस्करण

हालसम्म ५२ हजार पाँच सय ५७ जनामा संक्रमण, ६० जनाको मृत्यु

नेपालमा प्रत्येक साता दुईदेखि तीन सयको हाराहारीमा डेंगु संक्रमित थपिने गरेका छन् । एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चिसो मौसमका कारण लामखुट्टेको संख्या घट्दै गए पनि अझैसम्म संक्रमण देखिइरहेको छ ।

महाशाखाको तथ्यांकअनुसार हालसम्म ५२ हजार पाँच सय ५७ जनामा संक्रमण देखिँदा ६० जनाको मृत्यु भएको छ । साउनबाट पिक लिएको संक्रमण मंसिरको पहिलो साता बित्दासमेत शून्यमा झर्न सकेको छैन । महाशाखाअन्तर्गतका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले दैनिक २० भन्दा कम केस देखिए पनि हालसम्म देशभर संक्रमण जानकारी दिए । ‘महाशाखामा रिपोर्ट भएअनुसार दैनिक १६ देखि २० को हाराहारीमा नयाँ केसहरू भेटिएका छन् । पहाडी जिल्लामा केसहरू घटे पनि फाट्टफुट्ट अझै नयाँ संक्रमित भेटिइरहेका छन्,’ उनले भने ।

देशभर डेंगु संक्रमण फैलिरहे पनि महाशाखाले दैनिक संक्रमणको अपडेट ठप्प पारेको छ । हाल देशभर एक सय १८ वटा अस्पतालले मात्र दैनिक रिपोर्ट पठाइरहेकाले दैनिक अपडेट दिन नसकेको महाशाखाले जनाएको छ । डा. दाहालका अनुसार दैनिक थपिनेको संक्रमितका आधारमा अबको दुई सातासम्ममा संक्रमणदर घट्ने अनुमान गरिएको छ । ‘पहाडी जिल्लामा निकै घटिसकेको छ । पछिल्लो समय बर्दिवासलगायत केही ठाउँबाहेक तराईका अन्य क्षेत्रमा पनि घटेको देखिन्छ । यही दरमा घट्दै जाने हो भने मंसिरको अन्तिमसम्म डेंगु संक्रमण शून्यमा झर्छ भन्ने अनुमान गर्न सकिन्छ,’ उनले भने । सबैभन्दा बढी प्रभावित रहेको काठमाडौं उपत्यकामा पनि अस्पताल पुग्ने संक्रमितको संख्यामा उलेख्य कमी आइसकेको चिकित्सकले बताएका छन् । 

See More On

सुझावित समाचार