सुनसरी १ : अशोक राईलाई स्वतन्त्रको चुनौती

बिहिबार, १ मंसिर, २०७९
डिजिटल संस्करण

सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि  नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालका साझा उम्मेदवार अशोककुमार राई र एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेन्याङ्बो र सत्तागठबन्धनका माओवादी उम्मेदवार मुक्साङहाङ मेन्याङ्बाबीच प्रतिस्पर्धा हुने भएको छ।जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्षसमेत रहेका राई  ०७४ सालमा एमालेका जयकुमार राईसँग २२ हजार मतान्तरले पराजित भएका थिए । त्यसवेला उनी नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनाव लडेका थिए ।

०७९ को चुनावमा भने उनी एमालेसँग सहकार्य गरेर लड्दै छन् । उनको उम्मेदवारीलाई धरानको हकमा प्रभावशाली नेताको रूपमा लिइन्छ । निर्वाचन क्षेत्रकै लागि सबैभन्दा प्रभावशाली र हेभिवेटको नेताको रूपमा गनिन्छन् । हालसम्म यस क्षेत्रले केन्द्रसम्म जोड्ने त्यस्तो प्रभावशाली नेता एकपटक पाएको थियो । ०४८ सालको आमनिर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका मनमोहन अधिकारीले यस क्षेत्रमा चुनाव लडेर जितेका थिए । ३९ वर्षपछि सुनसरी क्षेत्र नम्बर १ ले केन्द्रीयस्तरमा नै प्रभाव पार्ने उम्मेदवार एमाले र जसपाको साझा उम्मेदवार अशोक राई भएको मतदाताहरूको बुझाइ छ ।

राईको राजनीतिक जीवन अविरल छ । उनकाे उर्वर र गौरवमय समय ०२९ देखि ०६९ सम्म नेकपा एमालेसँग जोडिएको छ । ४० वर्षसम्म उनी एमालेमा नै रहे । ०२९ सालमा विराटनगरमा पढ्दै गर्दा झापाली आन्दोलनकारीहरूसँगको सम्पर्कमा पुगेर कम्युनिसट आन्दोलनमा लागेका अशोकले वामपन्थी यात्रा ०६९ मा विराम लगाएका थिए । अशोक ०३१ सालमा हात्तीसार क्याम्पस धरानमा विद्यार्थी परिषद्को निर्वाचित सदस्य, ०३३ सालमा काठमाडौंमा युवाहरूको ‘राँको समूह’को नेतृत्व गर्दै ०३३ सालमै अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन केन्द्र (मार्क्सवादी लेनिनवादी) को सदस्य भए ।

०३६ सालदेखि पूर्णकालीन भएर पूर्वको पहाडी जिल्ला पुगे । पूर्वको भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका गाउँगाउँ गएर संगठन विस्तार गरे । पूर्वी पहाडमा कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा उनको उलेख्य भूमिका छ । उनले संगठित गरेका, हुर्काएका र प्रशिक्षित गरेका धेरै नेता आज एमालेको नेतृत्व तहमा पुगेका छन् । अशोक ०३७ सालमा पूर्व दक्षिण क्षेत्रीय कमिटी मालेको सदस्य भए । ०४६ सालमा नेकपा (माले)को केन्द्रीय सदस्य हुँदै ०५९ सालमा जनकपुरमा आयोजित नेकपा मालेको सातौँ महाधिवेशनमा सर्वाधिक मत पाए । ०५९ सालको नेकपा एमाले स्थायी कमिटी सदस्य भए ।

०६५ सालको बुटवलमा आयोजित एमाले आठौँ महाधिवेशनमा सर्वाधिक मत प्राप्त गरी निर्वाचित उपाध्यक्ष भए । एमालेबाटै नै अवसर पनि प्राप्त गरे । ०४८ सालमा खोटाङ निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित भए । ०५१ सालमा खोटाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भए । ०५१ सालमा एमालेले यातायातमन्त्री बनायो । ०५३ सालमा संयुक्त सरकारको संसदीय व्यवस्थामन्त्री भए । ०६२ सालमा संयुक्त सरकारको स्वास्थ्यमन्त्री पनि भए । पहिचानको मुद्दामा फरक मत राखेर ०६९ मा अशोकले एमाले छोडे ।०४८ र ०५१ सालमा खोटाङबाट चुनाव जितेका अशोक ०५६ को चुनावमा उदयपुर झरे । त्यसयता प्रत्यक्षतर्फ चुनावमा उठे । सुनसरीमा उनको यो दोस्राे उम्मेदवारी हो ।
 

सुझावित समाचार