१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
शिल्पा कर्ण काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o९:o१:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नेमकिपाको ३१ वर्षे गढ भत्काउने गठबन्धनको कसरत, दोहोरिनेमा सुवाल ढुक्क

Read Time : > 4 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:o१:oo

भक्तपुर १ मा नेमकिपाले ०४८ देखि निरन्तर जित्दै आएको छ

भक्तपुरको राजनीतिमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अलग पहिचान छ । भक्तपुर १ मा नेमकिपाले ०४८ सालदेखि निरन्तर जित्दै आएको छ । अघिल्ला निर्वाचनमा जस्तै यसपटक पनि जित्नेमा नेपकिपा ढुक्क छ भने अन्य दलका उम्मेदवार उसलाई धक्का दिने योजनामा छन् ।

क्षेत्र नम्बर १ अन्तर्गत भक्तपुरका पुराना बस्ती पर्छन् । यस क्षेत्रअन्तर्गतका विश्व सम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्र, नेवारी संस्कृति तथा सम्पदाहरू, स्थानीय नागरिक र सरकारले गरेका नमुना र उल्लेखनीय कार्य देशभर चिनिने गरेका छन् । साथै, चाँगुनारायण नगरपालिका पनि यही क्षेत्रमा पर्छ । ०४८ सालमा नेमकिपाबाट नारायणमान बिजुक्छेले सुरु गरेको विजयको सिलसिला ०५१, ०५६, ०६४ र ०७० सम्म निरन्तर रह्यो । त्यसपछि ०७४ मा पनि उक्त दलले निर्वाचन जित्यो, प्रतिनिधिसभा सदस्य पदमा रहे प्रेम सुवाल । सुवाललाई अहिले फेरि नेमकिपाले उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार यो क्षेत्र माओवादी केन्द्रको भागमा परेको छ । उम्मेदवार छन्, सुनील गोठे । उनलाई नेपाल समाजवादी पार्टी (नेसपा)को समर्थन छ । यसैगरी, एमालेबाट नवराज गेलाल उम्मेदवार बनेका छन् ।

यस क्षेत्रमा चारजनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अर्जुन कोजू, पुष्पराम गेलाल, सुलोचना छ्वाजू र गोकर्णप्रसाद गेलालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीहरू चारैजना ४० वर्षभन्दा कमका उम्मेदवार छन् । ०७४ सालको निर्वाचन परिणाम हेर्ने हो भने ४५ प्रतिशतभन्दा बढी मतसहित नेमकिपाका सुवाल निर्वाचित भएका थिए । प्रतिनिधिसभामा एक सिट मात्र जितेको नेमकिपाले बागमती प्रदेशसभा पनि एक सिट पाएको थियो । प्रदेश सभामा सुरेन्द्रराज गोसाईंले प्रतिनिधित्व गरेका थिए । उनी फेरि पनि प्रदेश सभा सदस्यका लागि दौडमा छन् । 

प्रेम सुवाललाई बराबरको टक्कर
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार प्रेम सुवालले ३३ हजार ७६ (४६.९४ प्रतिशत) मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बाबुराजा जोशीले १७ हजार आठ सय १८ (२५.२९ प्रतिशत) र माओवादी केन्द्रका मिलन सुवालले २१.८२ अर्थात् १५ हजार तीन सय ७४ मत ल्याएका थिए । 

त्यसवेला दोस्रो स्थानमा रहेको कांग्रेसको साथ अहिले माओवादी केन्द्रका सुनील गोेठेलाई छ । उनलाई सत्ता गठबन्धनमा रहेका दलका साथै डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाको पनि समर्थन छ । यसअघिको निर्वाचनमा भने एमाले र माओवादी मिलेकाले एमालेको मत पनि माओवादीलाई गएको थियो । ०७४ मा कांग्रेस र माओवादीले पाएको मत जोड्दा प्रेम सुवालकै हाराहारी हुन्छ । बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिको मत दुई सय ५६ थियो ।

यसलाई पनि गठबन्धनका उम्मेदवार गोठेको मतमा जोड्दा कांग्रेस (२५.२९), माओवादी (२१.८२) र नयाँ शक्ति (०.३८) सहित साढे ४७ प्रतिशत हुन्छ । जुन यसअघि सुवालले पाएको भन्दा थोरैले बढी हो । गठबन्धनमा रहेका दलहरू एक भए सुवाललाई अप्ठ्यारो पर्न सक्ने देखिन्छ । तर, विगतमा उनले पाएको मत र गठबन्धनबाट असन्तुष्टहरूको मत तान्न सके फेरि पनि उनी नै दोहोरिने निश्चित छ ।  

गोसाईंको प्रदेश सभामा दोहोरिने चाहना
भक्तपुर १ प्रदेश सभा (क)बाट यसअघि एमालेका हरिशरण लामिछाने विजयी भएका थिए । उनलाई तत्कालीन वाम गठबन्धनको साथ थियो । कांग्रेसका उम्मदेवार जीवन खत्रीले भने नौ हजार नौ सय ७७ मत मात्र पाएका थिए । नेमकिपाका नीरज लवजूले सात हजार १९ मत प्राप्त गरेका थिए । मस्तिष्कघातका कारण लामिछानेको निधन भएपछि पुनः ०७६ मा उपनिर्वाचन हुँदा भने कांग्रेसका कृष्णलाल भँडेलले जित हात पारे । भँडेललाई राप्रपाको साथ थियो । हाल यो क्षेत्रमा नेमकिपाबाट मीनबहादुर बाटा, कांग्रेसबाट सुरेश श्रेष्ठ, एमालेबाट मोहनवीर श्रेष्ठ र राप्रपाका राजु कुइँकेल मैदानमा छन् । नेमकिपाका उम्मेदवार सुरेन्द्रराज गोसाईं भक्तपुर १ प्रदेश सभा (ख)बाट ०७४ मा विजयी भएका थिए । अहिले भने उनलाई चुनौती दिन एमालेका नारायणसुन्दर सिन्तकाल, कांग्रेसका पवन भुजू र राप्रपाका रोशन नापित मैदानमा छन् ।

कुल मतदाता : १०२२६१ 
प्रतिनिधिसभा : प्रेम सुवाल (नेमकिपा), सुनील गोठे (माओवादी), नवराज गेलाल (एमाले), भरतबहादुर खड्का (राप्रपा) ।
प्रदेश सभा (क) : मीनबहादुर बाटा (नेमकिपा), सुरेश श्रेष्ठ (कांग्रेस), मोहनवीर श्रेष्ठ (एमाले), राजु कुइँकेल (राप्रपा) ।
प्रदेश सभा (ख) :  सुरेन्द्रराज गोसाईं (नेमकिपा), पवन भुजू, (कांग्रेस), नारायणसुन्दर सिन्ताकल (एमाले), रोशन नापित (राप्रपा) ।

मतदाताको प्रतिक्रियाले उत्साहित छौँ : प्रेम सुवाल
हामी घोषणापत्रका आधारमा मत माग्दै छौँ । हाम्रो जित्ने आधार नै यही हो । अन्य दलहरूको घोषणापत्र एकातिर, काम अर्कोतिर छ । गाउँपालिका, नगरपालिका र वडाध्यक्षले गर्ने कामबारे लेखिएको छ । जबकि सांसदले नीतिगत तहमा काम गर्ने हो । निःशुल्क विद्यालय शिक्षा, स्वास्थ्य, युवा र देशलाई आत्मनिर्भर बनाउने, वैदेशिक रोजगारभन्दा पनि देशमै रोजगारी सिर्जना गर्ने, कृषकमैत्री नीति बनाउने, सबै नेपालीका लागि स्वचछ खानेपानीको अधिकार सुनिश्चित गर्नेजस्ता कुरा हाम्रो प्राथमिकता हो । घरदैलो र जनसभा गर्दै आफ्ना कुरा राखिरहेका छौँ । संसद्मा हामीले निर्वाह गरेको भूमिकाबारे जनता जानकार छन् । घरदैलो र जनसभामा सहभागिता र सकारात्मक प्रतिक्रियाले हामी उत्साहित छौँ । 

मतदाताले नयाँ अनुहार खोजेका छन् : नवराज गेलाल, एमाले
हाम्रो राष्ट्रिय एजेन्डा त ‘सुखी नेपाली समृद्ध नेपाल’ नै हो । त्यसबाहेक स्थानीयस्तरमा पुरातात्विक सम्पदाको पुनर्निर्माणको काम पूरा गर्ने, मेलम्चीको पानी वितरण, मनोहरा करिडोर निर्माण, खोला व्यवस्थापनलगायतका एजेन्डा लिएर मत माग्दै छु । पर्यटकहरूको बसाइ समय बढाउन, कृषि उत्पादनमा वृद्धिका योजना ल्याउँछौँ । ४० वर्षदेखि एउटै दलले जित्दै आएकोमा अब यो क्षेत्रले नयाँ अनुहार खोजेको छ । हामी नेमकिपाको मुख्य प्रतिस्पर्धी हौँ । स्थानीय चुनाव र यो फरक हो । मेयरमा पनि झिनो अन्तरले हाम्रो उम्मेदवार हार्नुभयो । तर, संसदीय निर्वाचनमा त्यस्तो हुन्न । त्यसवेला वाम एकता भए पनि माओवादीको जम्मा सात सय मत थियो । उहाँहरू पनि अहिले एमाले प्रवेश गरिसक्नुभो । हामी ०७४ मा ल्याएकोभन्दा दोब्बर मत ल्याउन सक्षम भइसकेका छौँ । 

प्रतिगमनविरुद्ध मेरो उम्मेदवारी हो : सुनील गोठे, माओवादी
हाम्रो मुख्य एजेन्डा शान्ति स्थापना र संविधानको रक्षा तथा स्थायित्व हो । प्रतिगमनविरुद्ध मेरो उम्मेदवारी हो । म अन्य उम्मेदवारभन्दा युवा छु । नयाँ पुस्ताको प्रतिनिधित्व गर्छु । भक्तपुरका केही क्षेत्र बत्तीमुनिको अँध्यारोजस्तै छन् । सांसदको नीति निर्माण र विकास निर्माण दुवै काम हुन् । म संघीयता संस्थागत गर्न र कार्यान्वयन गर्न नीति–निर्माण तहबाट काम गर्छु । यहाँ तामाङ बस्तीमा होमस्टे, बाजागाजा प्रदर्शनीजस्ता योजनाले यस क्षेत्रको संस्कृति प्रवर्द्धनमा टेवा पुग्नेछ । रिङरोडका बाँकी काम पनि अघि बढाउनेछु । खानेपानीको समस्या भएकाले दोस्रो चरणको मेलम्ची ल्याउन, डिपिआर तयार भएको बोजिनीको पानी ल्याउने वा मुहानपोखरीबाट कसरी पानीको जोहो गर्न सकिन्छ, यो विषयमा ठोस निर्णय गरी काम अघि बढाउन पहल गर्नेछु । नालादेखि च्यामासिंह, नगरकोटको सडक निर्माणजस्ता काममा पनि मेरो भूमिका रहनेछ । स्थानीय सरकारले सञ्चालन गरेको अस्पताल, कलेजहरूको स्तरोन्नति गर्न संघ सरकारसँग समन्वय गर्नेछु ।

स्थानीय तह निर्वाचन २०७९ मा वडामा प्राप्त मत

चाँगुनारायण नगरपालिका : वडा नेतृत्वमा कांग्रेस अगाडि, मत एमालेको धेरै
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा चाँगुनारायण नगरपालिकाको मेयरमा कांग्रेसबाट जीवन खत्री चुनिएका थिए । तर, खत्री र निकटतम प्रतिद्वन्द्वी विना बाँस्तोलाबीच धेरै मतान्तर छैन । खत्रीले नौ हजार पाँच सय ५० मत ल्याउँदा बाँस्तोलाले नौ हजार एक सय ६० मत ल्याइन् । 

वडागत रूपमा हेर्दा नौ वडा रहेको यस नगरपालिकामा एउटा वडाको नेतृत्व मात्र नेमकिपाले गरेको छ । चार वडामा कांग्रेस विजयी भएको छ भने दुई–दुई वडामा क्रमशः एमाले र राप्रापाको नेतृत्व छ ।

मतका हिसाबले सबैभन्दा अगाडि ११ हजार दुई सय ९० मतसहित एमाले देखिन्छ । त्यसपछि नौ हजार चार सय ७१ मत कांग्रेसको र पाँच हजार एक सय २४ मत राप्रपाको छ । नेमकिपाले भने पछिल्लो स्थानीय तह निर्वाचनमा चौथो स्थानमा रहँदै तीन हजार नौ सय ६८ मत पाएको छ । 

भक्तपुर नगरपालिका : नेमकिपाबाहेकको जमानत जफत

भक्तपुर नगरपालिकाको नेतृत्व नेमकिपाका सुनील प्रजापतिले गरिरहेका छन् । स्थानीय तह निर्वाचनमा उनले प्रतिस्पर्धीको जमानत जफत गराएका थिए । प्रजापतिले २९ हजार दुई सय ५२ मत पाउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले तीन हजार चार सय सात मत पाएका थिए ।

तेस्रो स्थानमा दुई हजार आठ सय ४१ मतसहित एमालेका रवीन्द्र लाछिमस्यू थिए । १० वडा रहेको यहाँ वडाको नेतृत्वमा पनि नेमकिपाकै मात्र उपस्थिति छ । पछिल्लो स्थानीय तह निर्वाचनमा वडाहरूमा नेमकिपाले पाएको मत कुल २९ हजार नौ सय २७ छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले तीन हजार पाँच सय ४२ र एमालेले दुई हजार आठ सय २९ मत पाएको छ ।

यसैगरी, राप्रपाले एक हजार ३१ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरको तथ्यांक छ । तर, एमालेका प्रतिनिधिसभा उम्मेदवार गेलाल स्थानीय चुनाव र संसदीय निर्वाचन फरक भएका कारण आफूहरूले दोब्बर मत ल्याएर जित्ने दाबी गर्छन् । ‘मेयरमा पनि झिनो अन्तरले हाम्रा उम्मेदवार हार्नुभयो । तर, संसदीय निर्वाचनमा त्यस्तो हुन्न । त्यसवेला वाम एकता भए पनि माओवादीको जम्मा सात सय मत थियो । उहाँहरू पनि अहिले एमाले प्रवेश गरिसक्नुभो,’ उनले भने । 

ad
ad