Read Time : < 1 मिनेट
२o८१ जेठ ५ शनिबार १८:o५:oo
संखुवासभाको सिलिचोङ गाउँपालिकामा एकसातादेखि बेपत्ता महिला मृत भेटिएकी छिन्।
गत १६ वैशाखदेखि बेपत्ता भएकी सिलिचोङ–१ बेतेनीका शिवशंकर राईकी श्रीमती ६० वर्षीया गन्जीमाया राई आइतबार दिउँसो बेतेनी खोलामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
स्थानीयले महिला बेपत्ता भएपछि स्थानीय प्रहरी चौकीमा जाहेरीका साथै खोजतलासमा लागेका थिए। खोलामा ढुंगाको बीचमा अड्किएको अवस्थामा शव भेटिएको हो।
घटनाको सिसुवाटारबाट गएको प्रहरी टोलीले अनुसन्धान गरेको थियो। प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी प्राथमिक स्वास्थ्य चौकी ताम्कुका चिकित्सकले पोस्टमार्टम कार्य पूरा गरी आफन्तलाई शव जिम्मा दिएको प्रहरीको भनाइ छ।
महिला आफैँ खोलामा हाम फालेकी हुन् या होइन भनी घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।