Skip This
सिख हत्याका लागि भारतलाई दोष दिनु क्यानडाको ‘राजनीतिक बाध्यता’: नयाँ दिल्ली
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Friday, 23 May, 2025
रासस नयाँदिल्ली
२o८१ बैशाख २३ आइतबार १८:२o:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

सिख हत्याका लागि भारतलाई दोष दिनु क्यानडाको ‘राजनीतिक बाध्यता’: नयाँ दिल्ली

Read Time : > 1 मिनेट
रासस, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १८:२o:oo

भारतका विदेशमन्त्रीले गत वर्ष भ्यानकुभरमा एक सिख पृथकतावादीको हत्यामा कथित भारतीय संलग्नतामा क्यानडाको अनुसन्धान ‘राजनीतिक बाध्यता’ भएको टिप्पणी गरेका छन्। हत्या मामिलामा तीन भारतीय नागरिक पक्राउ परेपछि विदेशमन्त्री एस. जयशंकरले उक्त टिप्पणी गरेका हुन्।

क्यानडेली प्रहरीले शुक्रबार हरदीपसिंह निज्जरको हत्या आरोपमा तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले भारत सरकारसँग उनीहरूको सम्बन्ध छ वा ‘अन्य कोही हुन सक्छ’ भन्नेबारे अनुसन्धान गरिरहेको बताएको छ।

क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय गुप्तचरलाई अपराधसँग जोड्ने ‘विश्वसनीय आरोपहरू’ थिए भनेपछि उक्त हत्याले गत शरद ऋतुमा ओटावा र नयाँ दिल्लीबीचको कूटनीतिक सम्बन्धमा चिसोपन ल्याएको छ।

भारतले आरोपहरूलाई ‘अर्थहीन’ भन्दै अस्वीकार गरी कडा प्रतिक्रिया दियो। साथै, क्यानडेली नागरिकका लागि भिसामा केही समयका लागि रोक लगायो भने ओटावालाई आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता ल्याउन बाध्य पार्‍यो।

‘क्यानडामा भारतलाई दोष दिनु उनीहरूको राजनीतिक बाध्यता हो,’ जयशंकरलाई उद्धृत गर्दै प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई)ले भनेको छ। 

सन् १९८० को दशकमा खालिस्तान नामक सिख मातृभूमि निर्माण गर्ने उद्देश्यले भएको पृथकतावादी विद्रोहका क्रममा हजारौँ मानिस मारिएका थिए। उक्त आन्दोलन भारतभित्र धेरै हदसम्म कम भएको छ, तर क्यानडामा रहेका करिब सात लाख ७० हजारसहितको सबैभन्दा ठूलो सिख आप्रवासीको समुदायले अल्पसंख्यक स्वरको समर्थनलाई कायम राखेको छ।

‘नयाँ दिल्लीले ओटावासँग सिख पृथकतावादीहरूलाई भिसा वा राजनीतिक वैधता नदिनका लागि मनाउन खोजेको छ। किनकि तिनीहरूले क्यानडा, हाम्रा लागि तथा हाम्रो सम्बन्धका लागि समस्या निम्त्याउँदै छन्,’ विदेशमन्त्री जयशंकरले भने, ‘क्यानडाले केही मामिलामा हामीसँग कुनै प्रमाण साझा गर्दैन र प्रहरी एजेन्सीहरूले हामीलाई सहयोग गर्दैन।’

सन् १९९७ मा क्यानडा बसाइँ सरेका निज्जरले १८ वर्षपछि त्यहाँको नागरिकता लिएका थिए। उनी कथित आतंकवाद र हत्याको षड्यन्त्र गरेको आरोपमा भारतीय अधिकारीहरूको खोजीमा थिए।

पक्राउ परेका तीनैजना भारतीय नागरिक २० वर्षको आसपासका थिए र उनीहरूमाथि ‘फर्स्ट डिग्री’ हत्या तथा षड्यन्त्रको आरोप लगाइएको थियो। उनीहरूमाथि गत जुनमा निज्जरको हत्यामा गोली चलाउने, चालक र जासुस भएको आरोप लगाइएको थियो। क्यानडेली प्रहरीले हत्यामा ‘अन्य मानिसले पनि भूमिका निर्वाह गरेको’ थाहा भएको दाबी गरेको छ। 

नोभेम्बरमा अमेरिकी न्याय विभागले चेक गणतन्त्रमा बस्ने एक भारतीय नागरिकमाथि कथित रूपमा अमेरिकी भूमिमा अर्का सिख पृथकतावादी नेतामाथि यस्तै प्रकारको हत्या प्रयासको योजना बनाएको आरोप लगाएको थियो। भारतीय विदेशी गुप्तचर अधिकारी उक्त योजनामा संलग्न रहेको वासिंटन पोस्टको अनुसन्धानले गत साता रिपोर्ट गरेको थियो। तर, नयाँ दिल्लीले उक्त दाबीलाई खारेज गरेको छ।