
धनकुटामा सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेता सुनीलबहादुर थापा र एमाले नेता राजेन्द्रकुमार राई मात्र होइनन्, माओवादी त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका हेमराज भण्डारी, राप्रपाका जिल्ला अध्यक्ष कुमारबहादुर थापा पनि प्रतिस्पर्धामा छन् ।
प्रतिस्पर्धामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आरामकुमार लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका विश्वमित्र लावती र एकीकृत शक्ति नेपालका रमेश राई पनि छन् । स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले दुवै उम्मेदवारलाई चुनौती दिने आंकलन गरिएको छ ।
गठबन्धनको तर्फबाट उम्मेदवार कांग्रेस नेता थापा र एमाले उम्मेदवार राई बीच यो तेस्रो पटकको चुनावी भिडन्त हो । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा धनकुटा २ मा राप्रपाबाट उम्मेदवारी दिएका थापाले एमाले नेता राईलाई पराजित गरेका थिए । त्यसबेला धनकुटामा दुईवटा निर्वाचन क्षेत्र थिए ।
०७४ सालको निर्वाचनमा प्रतिनिधिसभामा एउटा मात्रै निर्वाचन क्षेत्र भएपछि एमाले नेता राईले थापालाई पराजित गरे । उनले थापालाई १० हजार ४ सय ५९ मतान्तरले पराजित गरेका थिए । त्यसवेला एमाले र माओवादी गठबन्धन थियो । राईले ३७ हजार ३ सय ३३ र थापाले २६ हजार ८ सय ७४ मत प्राप्त गरेका थिए । यसपटक माओवादी र एकीकृत समाजवादीले कांग्रेस नेता थापालाई समर्थन गरेका छन् ।
गत स्थानीय तह निर्वाचनमा धनकुटाका सातमध्ये चार स्थानीय तहमा सत्ता गठबन्धन विजयी भएको थियो । स्थानीय निर्वाचनमा सत्ता गठबन्धनले ३७ हजार ६ सय ८२ र एमालेले ३६ हजार ३५ मत ल्याएका थिए । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी अलग भएपछि उसको मत प्रभावित हुने देखिएको छ ।
उम्मेदवारका आ–आफ्नै दाबी
सत्ता सत्तागठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवारले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । कांग्रेस नेता एवं पूर्वमन्त्री थापाले आफ्नो जित सुनिश्चित रहेको बताए । विगत पाँच वर्षमा धनकुटाले राष्ट्रिय नेतृत्व नपाएको र धनकुटाको विकास र समृद्धिको लागि आफू योग्य उम्मेदवार रहेको थापाको दावी छ ।
एमाले उम्मेदवार राई पनि आफू निर्वाचित हुने दावी गर्छन् । आफ्नो पार्टी नेतृत्वको सरकारले पाँच वर्षमा धनकुटाका गरिबी पाँच प्रतिशतले घटाएको र धनकुटाको विकासमा भूमिका खेलेका कारण आफू जित्ने उनको तर्क छ ।
स्वतन्त्र उम्मेदवार हेमराज भण्डारी आफू धनकुटेली जनताको प्रिय र युवा उम्मेदवार भएकाले जित्ने बताउँछन् । स्थानीय बुद्धिजीवी एवम् धनकुटा बहुमुखी क्याम्पस धनकुटाका उपप्राध्यापक इच्छापूर्ण राईले धनकुटामा सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने विश्लेषण गरे ।