१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o७:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा बुद्धमूर्ति र बुटिक रिसोर्ट उद्घाटन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o७:४८:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङको मुक्तिनाथ क्षेत्रमा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को उद्घाटन गरेकी छिन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वउपाध्यक्ष सोनाम लामाले रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । 

लामाले व्यक्तिगत लगानी गरेर मुक्तिनाथ मन्दिरपरिसरमा निर्माण गरेको ३५ फिट अग्लो बुद्धको मूर्ति अनावरण गर्नुका साथै सोही ठाउँमा बनाउन लागेको भगवान् विष्णुको प्रस्तर मूर्तिको समेत राष्ट्रपतिले शिलान्यास गरेकी छिन् । मुस्ताङ क्षेत्रमा धार्मिक र पर्यटकीय गतिविधि बढुन् र स्थानीयको जीवनस्तर उकास्न सहयोग पुगोस् भनेर आफ्नो परिवार नै मुस्ताङमा पूर्वाधार निर्माणमा जुटेको रिसोर्टकी सञ्चालक निमा डिकी लामाले बताइन् । कालिगण्डकी करिडोरमा सडक र अन्य पर्यटकीय पूर्वाधार निर्माण भए पनि स्तरीय रिसोर्टको अभाव देखेरै लगानी गरेको उनको भनाइ थियो । 

भक्तजन र पर्यटकलाई मुक्तिनाथ क्षेत्रमा ‘जाऊँ–जाऊँ’ भन्ने बनाई धेरै पर्यटक भित्र्याउन सकेमा स्थानीयको जीवनस्तरमा कायापलट गर्न सकिने होटेलका सञ्चालक सोनाम लामाले बताए । स्वदेशी, विदेशी पर्यटक र विशिष्ट पाहुनाहरूलाई सुविधायुक्त होटेल बनाउने उद्देश्यले थालेको तयारीले सार्थकता पाएकोे उनको भनाइ थियो । करिब एक सय रोपनीमा फैलिएको होटेलबाट चारै दिशामा हिमाल देखिन्छन् । नीलगिरि, धौलागिरिजस्ता मनमोहक हिमालको घेराभित्र रहेको रिसोर्टमा पर्यटकको सेवाका लागि साउना, स्पादेखि घोडाचढी सुविधा उपलब्ध हुनेछ । रानीपौवा हाइटमा रहेको होटेल क्षेत्रमै करिब पाँच सय बोटको स्याउ फार्म पनि छ । 

कार्यक्रममा राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सबैले हातेमालो गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘विश्वमा बढ्दै गएको जलवायु परिवर्तनलाई ध्यानमा राख्दै मुक्तिनाथ क्षेत्रलाई पनि त्यहीअनुसार ध्यानमा राखेर विकास गर्नुपर्छ ।’ उनले यो क्षेत्रमा धार्मिक पर्यटकबाट भएको आम्दानी मुक्तिनाथ क्षेत्रका जनताको जीवनस्तर उकास्ने गरी पर्यटकीय पूर्वाधारमा लगानी गर्न आग्रह गरिन् ।

विष्णुको मूर्ति स्थापना र सम्बन्धित अन्य संरचना निर्माणका लागि नौ करोड रुपैयाँ लागत लाग्ने आकलन छ । जहाँ एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले ५० लाख रुपैयाँ सहायता गरेका हुन् । 

ad
ad