१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
डा. लोक भट्टराई
२o८१ जेठ १५ मंगलबार o७:१७:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

गण्डकीमा संसदीय बलमिच्याइँ

६० सदस्यीय प्रदेश सभामा ३० मत बहुमत हुन नसक्ने भए पनि सभामुखबाट बहुमत घोषणा गर्नु संवैधानिक व्यवस्थाको अपव्याख्या हो

Read Time : > 4 मिनेट
डा. लोक भट्टराई
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार o७:१७:oo

हालै इन्डियाका चिफ जस्टिस डिवाई चन्द्रचुडले नागपुरमा बोल्दै बार सदस्यका रूपमा वकिलहरूको विश्वास र समर्पण विभाजनकारी राजनीतिक विषयमा होइन, संविधानअन्तर्गत क्रियाशील अदालतप्रति हुनुपर्ने टिप्पणी गरेका थिए । यद्यपि उनले यो अभिव्यक्ति वकिलहरूका सन्दर्भमा दिएका थिए र विषय पनि नेपालको नभएर भारतको थियो । तथापि यो भनाइ सांकेतिक र सर्वजनिन देखिन्छ । यसले न्यायका आधारस्तम्भहरूको राजनीतिक पक्षधरतालाई सभ्य भाषामा निषेध गरेको छ । 

यो प्रसंगलाई यही आइतबार गण्डकी प्रदेश सभामा भएको घटना र त्यहाँ सभामुखले निर्वाह गरेको भूमिकासँग जोड्नु सान्दर्भिक हुन्छ । यद्यपि, नेपालको संसदीय अभ्यास अझै पनि त्यति परिष्कृत, सभ्य र संसदीय मूल्य–मान्यताप्रति खरो उत्रन नसकेको विषय सत्य हो र यो घटना एक्लो पनि होइन । तर, अन्य घटना पो कति वैधानिक, कति प्रक्रियासम्मत र आदर्श थिए र भनेर यस घटनालाई त्यसैका आधारमा नजरअन्दाज गर्दै जानु स्वीकार्य हुन सक्दैन । देख्दा, भेट्दा अवाञ्छित कुराको समुचित छलफल र आलोचनाले नै विधायिकी आचरणमा परिष्कार ल्याउन मद्दत गर्ने हो । 

मतदानका वेला जम्मा ६० सदस्य कायम रहेको गण्डकी प्रदेश सभामा प्रदेश सरकारका मुख्यमन्त्रीले आफूमाथि प्रदेश सभाको विश्वास छ भनेर ‘फ्लोर टेस्ट’ माग गरेको र त्यतिवेला सभाले आफ्नो मत जाहेर गरिसकेको थियो । नेपालको संविधानको धारा १८८ (३) ले त्यस्तो प्रस्ताव ‘प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतले’ पारित हुनुपर्ने अन्यथा मुख्यमन्त्री पदबाट मुक्त हुने प्रस्ट व्यवस्था गरेको छ । त्यहाँ ‘इफ’ एन्ड ‘बट’ का लागि कुनै ठाउँ बाँकी छाडेको देखिन्न ।

नेपालको संविधानअनुसार सभाको मतदानमा मत बराबरी नभई सभामुखले मत हाल्न पाउँदैनन् । अझ विश्वासको मतका सन्दर्भमा त संविधानको धारा १८८ ले मत बराबरी र सभामुखले मतदान गर्ने विषयको कल्पना नै गरेको देखिन्न ।
 

धेरै छलफल गर्नैपरेन, ६० पूर्णांकमा ३० कहिल्यै बहुमत हुन सक्दैन । र, प्राप्त अडियो सुनेअनुसार गण्डकी प्रदेशका सभामुख आफैँले भनेका थिए, प्रस्तावको पक्षमा ३० मत परेको थियो । मत ३१ पुग्यो भनेर सभामुखले कहिल्यै कतै बोलेको सुनिन्न । जसको मतलव मुख्यमन्त्रीको प्रस्ताव सभाले अस्वीकार गरेको स्थिति थियो । तर अचम्म, त्यस्तो स्थितिमा सभामुखले संवैधानिक व्यवस्थाको अपव्याख्या गर्दै प्रस्ताव पारित भएको नाटकीय घोषणा गरिदिए । संविधानले निर्दिष्ट गरेको संख्याको अभावमा सभामुखले बोलेकै भरमा सभाको कारबाही र सुनाइएको निर्णय विधिसम्मत हुने या नहुने भन्ने विषयमा सम्बन्धित पक्ष ढोका ढकढकाउन पुगे भने सम्मानित सर्वोच्च अदालतले बोल्ने नै छ । र, अन्ततः यो घटना गणतान्त्रिक नेपालको इतिहासमा एउटा ‘माइल स्टोन’ भएर त रहने नै छ, यसले अबको संवैधानिक ‘डिस्कोर्स’लाई समेत प्रभावित पार्नेछ र पार्नु आवश्यक पनि छ ।

कुराको चुरोमा यहाँ सभामुखको भूमिका, अन्तर्राष्ट्रिय संसदीय अभ्यास र प्रक्रियाको विषय जोडिने देखिन्छ । यस्तो गम्भीर विषयमा प्रक्रियाको पनि अहं अर्थ रहन्छ । विचारणीय के छ भने सभामुखले मत दिन पाउने वा नपाउने भन्ने विषय एकछिनलाई परै राखौँ । तर, सभामुखको मतगणना हुनका लागि प्रदेश सभाको प्रक्रियाअनुसार सभामुखले औपचारिक रूपले मतदान गरेको हुनुपर्छ र त्यसको गणना भएको हुनुपर्छ । र, सभामुखले मतदान गर्नका लागि संविधानले निर्दिष्ट गरेको स्थिति ‘म्याचुयोर’ भएको हुनुपर्छ, तर हिजोको गण्डकी प्रदेश सभाको कारबाही त्यो स्थितिसम्म पुगेको र सभामुखले मतदान गरेको देखिन्न ।  

व्यक्तिगत रूपमा लामो समयसम्म संसदीय परम्पराको जननी देश बेलायतमा अध्ययन एवं पेसागत रूपले क्रियाशील हुने क्रममा मैले अदालती र केही ‘ट्राइब्युनल’हरूको प्रक्रिया अनुभव गर्ने मौका पाएको थिएँ । र, त्यहाँ मैले प्रक्रियाको महत्व कस्तो हुन्छ भनेर बुझ्ने मौका पाएको थिएँ । एकछिनलाई हेरौँ न, देशमा आमनिर्वाचन भयो, कुनै अमुक पार्टीले स्पष्ट बहुमत पनि ल्यायो । तर, त्यत्तिकैमा त्यो पार्टीको सरकार आजै र अहिल्यै बन्दैन । राष्ट्रप्रमुखले आमन्त्रण गर्नुप¥यो, दाबेदारले दाबी पेस गर्नुपर्‍यो र फ्लोर टेस्ट हुनुपर्‍यो । यो गण्डकीको हकमा पनि सभामुख मुख्यमन्त्रीकै राजनीतिक लाइन वा गठबन्धनबाट आएका हुन् भन्दैमा उनको मत कुनै पक्षमा त्यत्तिकै हिसाब गर्न मिल्दैन, मतदान हुनैपथ्र्यो । र, अर्को कुरा नेपालको संविधानअनुसार सभाको मतदानमा मत बराबरी नभई कहिल्यै पनि सभामुखले मत हाल्न पाउने स्थिति नै बन्दैन । अझ विश्वासको मतको सन्दर्भमा त नेपालको संविधानको धारा १८८ ले मत बराबरी र सभामुखले मतदान गर्ने कुराको कल्पना नै गरेको देखिन्न । 

मैले यति भनिसकेपछि तत्काल केही व्यक्ति उफ्रेर संविधानको धारा १८६ को कुरा उल्लेख गर्न पुग्नेछन् । यहाँनेर विचार गर्नुपर्ने कुरा के छ भने धारा १८८ एकदम विश्वासको मतको सन्दर्भमा एकीकृत र प्रस्ट रूपले ‘फोकस्ड’ धारा हो भने धारा १८६ ‘जेनेरलाइज्ड’ धारा जस्तो देखिन्छ । यद्यपि सन्दर्भ पर्दा यसको व्याख्या पनि कुनै न कुनै दिन सम्मानित सर्वोच्च अदालतबाट हुने नै छ । त्यसो भएकाले मेरो विचारमा विश्वासको मतको सम्पूर्ण प्रक्रिया धारा १८८ अन्तर्गत नै सम्पन्न गरिनुपर्छ, यसका लागि अन्य धाराको सहायता ग्राह्य हुने देखिन्न । त्यसको मतलब धारा १८६ को आफ्नै ‘मेरिट’ रहने र त्यो धारा अरू धाराले प्रस्ट रूपले व्याख्या नगरेको सामन्यीकृत अवस्थामा आकर्षित हुने देखिन्छ । 

यसरी धारा १८८ र १८६ को विषयमा कसैलाई केही भ्रम हुनु स्वाभाविक पनि देखिन्छ । ती दुईबीच द्वन्द्व हो कि जस्तो पनि देखिन्छ । तर, गहिरिएर हेर्दा स्थिति त्यस्तो होइन । अर्को कुरा, अन्तर्राष्ट्रिय संसदीय र न्यायिक अभ्यासबाट पनि यसमा केही ‘रिफरेन्स’ लिन सक्ने अवस्था देखिन्छ । यस सन्दर्भमा बेलायतको आर ज्याक्सन भर्सेस एटोर्नी जनरल– २००५ को केसमा त्यहाँको सर्वोच्च अदालतको निर्देश र खासगरी त्यो केसले उजागर गरेको ’कन्स्टिच्युसनल इन्टेग्रिटी’ र ‘संवैधानिक सिद्धान्तहरूको सोपान’को कुरा विचारणीय छ । 

गण्डकीको यो घटनाको परिप्रेक्ष्यमा फेरि एकपटक नेपालको संसदीय परम्परामा सभामुख, जो प्रदेश सभामा ‘प्रिसाइडिङ अफिसर’ हुन्, तिनको भूमिकाबारे पब्लिक डिस्कोर्स आकर्षित भएको छ । संसारमा आत्मसात् गरिएको मूल्य र आदर्शलाई संक्षेप गर्ने हो भने के देखिन्छ भने सभामुखको भूमिका चारवटा सिद्धान्तबाट अनुप्राणित देखिन्छ । पक्षहीनता र तटस्थता, नियम र सम्मान पालनको सुनिश्चितता, अल्पसंख्यक (प्रतिपक्ष) को संरक्षण तथा उत्तरदायित्व र पारदर्शिताको प्रवद्र्धन । अब प्रश्न उठ्छ, २३ वैशाखमा गण्डकीका सभामुखको भूमिकाले उपर्युक्त सर्वजनिन आदर्शको कति सम्मान गर्‍यो ?

सभामुखले आफ्नो निर्णय सुनाउने क्रममा ‘आवश्यक अवस्थामा आफूले मतदान गर्न पाउने’ कुरा गरेको अडियोमा सुनिन्छ । तर, उनले बोल्दा गोलमटोल हिसाबले’ आवश्यक अवस्था’ जस्तो शब्दावलीको सट्टा संविधानको कुन धाराको कुरा गरेका हुन्, त्यो कुरा बोलेको सुनिएन । यसले उत्तरदायित्व र पारदर्शिताको प्रश्नमाथि नै प्रश्न खडा गरिदिएको देखिन्छ । दोस्रो कुरा, सभामुखको प्रारम्भिक कुरा सुनेपछि सभामा असन्तुष्टि तत्काल प्रकट भए पनि सभामुखले हतास मनोदशामा होहल्लाबीच बोलिरहेको कुरा संसद्को उच्च सम्मानका लागि सुहाउने विषयजस्तो देखिएन । 

त्यसो गर्दा सभामुखबाट माथि भनेझैँ अल्पसंख्यकको संरक्षण गर्ने दायित्व पूरा भएको देखिन्न । त्यसको सट्टा, सभाको कारबाही स्थगित गरेर, सहमति खोजेर अगाडि बढ्न सकेको भए, निकै सुन्दर हुन सक्थ्यो । सबै प्रक्रिया पक्षधरताको उपज थियो भन्ने कुरा सभामुखको बोलाइ, गराइ र भाषा भंगीमा सबैले इंगित गरिरहेकै थिए र जुन कुरा सभामुखबाट अपेक्षित पक्षहीनता र तटस्थताको भूमिकाको ठीक विपरीत देखिन्थ्यो । 

कमसेकम यीमध्ये केही न केही कुरा सम्मानित अदालतमा पुग्ने प्रस्टै छ । र, संसारको अभ्यास हेर्दा सर्वोच्च न्यायालयले यससम्बन्धी विषयमा प्रवेश गरेर सभामुखको भूमिकाबारे निर्देश गरेको उदाहरण छिमेकी भारतमै उपलब्ध छ । यसमा विचार गर्न त्यहाँको ‘किहोटो होल्लोहान भर्सेस जाचिल्हु एन्ड अदर्स–१९९२’ को केस र त्यहाँको न्यायालयको सम्बन्धित निर्देश सहायक हुन सक्ने देखिन्छ ।
(डा. भट्टराई विकास तथा शिक्षाविद् हुन्)

ad
ad