१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार १७:१४:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कञ्चनपुर १ मा विना र ताराको चुनावी भिडन्त

पूर्वसहकर्मी प्रतिस्पर्धी, प्रतिद्वन्द्वी बने सहकर्मी

Read Time : > 2 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:१४:oo

०७४ को निर्वाचनमा एक–अर्कालाई सघाएर प्रतिनिधिसभा र प्रदेश सभा सांसद बनेका विना मगर र तारा लामा तामाङ पाँच वर्षपछि ठीकविपरीत ध्रुवमा छन्। माओवादी नेतृ मगर कांग्रेस र पूर्वएमाले तप्काको सहयोगमा कञ्चनपुर १ बाट फेरि संसद् प्रवेशको दौडमा रहँदा एमालेका तामाङ पाँच वर्षअघिका सहकर्मीसँग चुनाव भिड्दै छन्।

पाँच वर्षअघि कञ्चनपुर १ मा वामसँग प्रतिस्पर्धा गरेको कांग्रेस अहिले माओवादीको साथमा छ। तर, विनासँग चुनाव लडेर ०७० मा जित र ०७४ मा हार हासिल गरेका कांग्रेसका दिवानसिंह विष्ट भने यसपटक प्रदेशमा झरेका छन्। कञ्चनपुरको दक्षिण–पूर्वमा रहेको यो निर्वाचन क्षेत्रमा चुनाव नजिकिँदै जाँदा जोडघटाउ पनि रोचक बन्दै गएको छ।

मगर र तामाङ एउटै वडाका मात्र होइनन्, दुवैको मतदानस्थल पनि एउटै हो। पुनर्वास नगरपालिका– ३ की मगर र तामाङको मतदानस्थल गोरखनाथ आधारभूत विद्यालय रामबस्ती हो। ०७४ को निर्वाचनवमा एक–अर्कालाई भोट दिएर संघीय र प्रदेश संसद् छिरेका उनीहरू मन्त्री पनि बने। अब भने मुख्य प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा छन्। तामाङलाई गठबन्धनको चुनौती त छँदै छ, आफ्नै पार्टीका बागी पनि भारी पर्न सक्ने भय छ। उम्मेदवारका लागि सिफारिस भए पनि टिकट नपाएको झोकमा एमालेका खेम सुवेदी तामाङविरुद्ध बागी बनेका छन्। उनी माछा चुनावचिह्न लिएर चुनावमा होमिएका छन्।

विनालाई दुईपटकका प्रतिस्पर्धीको साथ

०७० मा कांग्रेस नेता दिवानसिंह विष्टसँग पराजित भएकी विना मगरले ०७४ मा बदला लिएकी थिइन्। ०७४ मा एमाले–माओवादीबीच गठबन्धन हुँदा उनले सहज जित हात पारिन्। ३८ हजार चार सय ६४ मतसहित विना संसद् पुग्दा विष्टले १९ हजार दुई सय १९ मत पाएका थिए। त्यतिखेर ८८ हजार ५९ मतदाता थिए, अहिले बढेर ९९ हजार एक सय १० पुगेको छ। तर, अहिले कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन हुँदा यो क्षेत्र माओवादीको भागमा पर्यो, विनाले टिकट पाइन्। र, दुईपटकका प्रतिस्पर्धी कांग्रेस नेता विष्ट प्रदेश सभा (ख)मा झरेका छन्। दुवै नेताहरू एक–अर्कालाई भोट माग्दै हिँडेका छन्।

विष्टका मुख्य प्रतिस्पर्धी एमालेका पल्लवराज भट्ट बनेका छन्, जहाँ पाँच प्रतिस्पर्धी छन्। ०७४ मा तामाङले जितेको कञ्चनपुर १ (क) मा आगामी निर्वाचनमा एमालेबाट वीरबहादुर थापा र कांग्रेसबाट बन्दु राना मुख्य प्रतिस्पर्धी छन्। यो क्षेत्रमा १५ उम्मेदवार छन्। अघिल्लोपटक तामाङका प्रतिस्पर्धी कांग्रेसका गोपाल गुरुङ थिए।

३० वैशाख ०७९ को स्थानीय तह निर्वाचनमा एमाले र कांग्रेसले दुई–दुई पालिका जित्दा माओवादी एक पालिकामा खुम्चिएको थियो। स्थानीय निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले १८ हजार ६ सय ६३, एमालेले १८ हजार पाँच सय ९९, माओवादीले १५ हजार आठ सय ६१, एकीकृत समाजवादीले तीन हजार चार सय ९८, राप्रपाले दुई हजार एक सय र अन्यले चार हजार ६० मत पाएका थिए। 

उम्मेदवारका एजेन्डा 
कञ्चनपुर १ मा भारतसँगको सीमा समस्यासँगै सडक अलपत्र, नदीकटान र जंगली जनावरको आतंक समस्या हुन्। मगर र तामाङले केही साझा र केही नयाँ एजेन्डा अघि सारेका छन्। मगरले अघिल्लोपटक खानेपानीमन्त्री भएर अगाडि बढाइएकामध्येका अधुरा योजना पूरा गर्ने बताइन्।

सीमा समस्या समाधानका लागि पहल गर्ने, बेलौरी नाका भन्सारको बाँकी काम पूरा गर्ने, सुकुमबासी, आरक्षपीडित, भूमिहीनको समस्या समाधान गर्ने मगरले बताइन्। उनले दोदा, झर्नाखोला, चौधरी नदीलगायत खोलानालाको कटान नियन्त्रण, कृषियोग्य भूमि संरक्षण, सडक पूर्वाधार स्तरोन्नति र जंगली जनावरको आतंक न्यूनीकरणलाई चुनावी एजेन्डा बनाएकी छिन् ।

अघिल्लोपटक प्रदेश सभामा निर्वाचित हुँदा एकीकृत समाजवादीबाट सुदूरपश्चिमका आर्थिक विकासमन्त्री बनेका तामाङले अधुरा योजना अगाडि बढाउने बताए। सडक सञ्जाल विस्तार, कृषिमा आधुनिकीकरण, आरक्षपीडित, भूमिहीन सुकुमबासीका समस्या समाधान गर्ने र स्थानीय तह–प्रदेशसँग सहकार्य गरेर क्षेत्रको विकास गर्ने एजेन्डा उनले अघि सारेका छन्। तामाङले दोदा नदीको कटानी नियन्त्रणका लागि नदीको बहुउपयोग गर्दै स्थानीयस्तरकै नदीबाट योजना अघि बढाउने बताएका छन्।

ad
ad