धादिङको थाक्रे गाउँपालिका– ५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँमा आगलागीबाट दुई जनाको मृत्यु भएको छ। बुधबार राति आफ्नै घरमा आगलागी हुँदा अन्दाजी ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ठूली लामाको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए ।
‘राति करिब ११ः३० बजे घरमा आगो लागेको खबर पायौँ । हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा आगोले जलेर मृत्यु भइसकेको थियो । हामी थप अनुसन्धान गर्दै छौँ,’ प्रहरी उपरीक्षक केसीले भने, ‘घरमा भएका अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ ।’
थाक्रे गाउँपालिका– ५ का वडाध्यक्ष सन्तबहादुर लामाका अनुसार रातिको समयमा एक्कासि घरमा आगो लाग्दा भाग्न नभ्याएर दम्पतीको जलेर मृत्यु भएको हो । ‘कच्ची घरको चोटामा सुत्ने गर्नुभएको रहेछ । सुत्ने ठाउँभन्दा मुनिपट्टि गाईवस्तुलाई ओछ्यान ल्याएर राखेको पत्कर तथा गहुँको छवालीहरू राख्नुभएको रहेछ । बत्तीको मिटर पनि त्यहीँ रहेछ ।’ वारिपारिका मान्छेहरूले बिजुलीको तारमा झिल्का निस्किएको देखेको बताएका छन्,’ वडाध्यक्ष लामाले भने, ‘अहिलेसम्म सबैले करेन्ट सर्ट भएर एक्कासि आगो दन्किएको र रातिको समयमा भाग्न नभ्याएर अथवा आगो निभाउन कोसिस गर्दा वृद्ध दम्पतीको जलेर मृत्यु भएको अनुमान गरिएको छ ।’