१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ जेठ ८ मंगलबार o७:३o:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कनिष्ठ अधिकृतसम्म मात्र प्रदेशमा समायोजन गर्न प्रहरीको प्रस्ताव

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o७:३o:oo

नयाँ कानुन बनाएर प्रहरी समायोजन गर्ने सरकारको गृहकार्य भइरहेका वेला नेपाल प्रहरीले कनिष्ठ अधिकृत तहसम्मका कर्मचारीलाई मात्र प्रदेशमा समायोजन गर्ने प्रस्ताव गरेको छ । वरिष्ठ अधिकृतलाई पनि समायोजन गर्दा दोहोरो ‘चेन अफ कमान्ड’को जोखिम हुने र त्यसले समग्र शान्ति सुरक्षामै असर पर्ने भन्दै वरिष्ठ नायब निरीक्षकसम्मका प्रहरी समायोजन गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा राखेको हो । 

प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ मा प्रहरी नायब उपरीक्षक (डिएसपी)सम्मका प्रहरीलाई समायोजन गरिने उल्लेख छ । ऐनलाई हाल गृह मन्त्रालयले संशोधनका लागि गृहकार्य गरिरहेको छ । ऐन संशोधनमा वरिष्ठ सइ तहका कर्मचारीसम्मलाई मात्र समायोजनमा लैजानुपर्ने प्रस्ताव प्रहरीले गरेको गृह मन्त्रालय स्रोत बताउँछ । 

समायोजनको काम सुरु गर्नुअघि गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार गरी, प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसम्पादन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ संशोधनका लागि छलफल गरिरहेको छ । ऐनमा रहेका हालका कतिपय प्रावधानले संगठनलाई कमजोर बनाउने निष्कर्षका आधारमा ऐन संशोधन हुन लागेको हो । 

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई प्रहरी समायोजनको गृहकार्यसँगै समायोजन र समन्वयसम्बन्धी ऐन पनि संशोधनबारे छलफल भइरहेको बताउँछन् । संशोधनमा विभिन्न किसिमका प्रस्ताव आएको र अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको उनले बताए । 

तल्लो तहका प्रहरीलाई मात्र समायोजन गर्दा संगठन तथा व्यवस्थापन सर्वेक्षण फेरि गर्नुपर्ने हुन्छ । पाँच वर्षअघि प्रहरीले यससम्बन्धी सर्वेक्षण गरी संख्या तय गरेको छ । केन्द्रमा २४ हजार आठ सय २१ र सात प्रदेशमा ५४ हजार सात सय २० जनशक्ति रहने तय भएको थियो । साथै, गृह मन्त्रालयले उपत्यकाका तीन जिल्लामा केन्द्रमातहत प्रहरी खटाउने गरी कानुन संशोधन गरिसकेको छ । 

हालको प्रावधानअनुसार गम्भीर किसिमका अपराधको नेपाल प्रहरी र सामान्य किमिसका अपराधको अनुसन्धान प्रदेश प्रहरीले गर्ने उल्लेख छ । यसरी समन्वयमा समस्या हुने भएकाले पनि कनिष्ठ प्रहरी मात्र समायोजन गर्दा यो समस्या पनि समाधान हुने प्रहरीको तर्क छ । प्रहरीले इन्स्पेक्टरदेखि डिआइजीसम्मका अधिकृतलाई संघले प्रदेशमा पठाउने र प्रदेशले आफूमातहत परिचालन गर्ने गरी ऐन संशोधनको प्रस्ताव गरिएको एक उच्च प्रहरी अधिकारीले बताए । 

अपराध अनुसन्धानमा संघीय प्रहरी र प्रदेश प्रहरीबीच विवाद हुन सक्ने भएकाले त्यसलाई कानुनमार्फत प्रस्ट पार्नुपर्ने प्रहरीको अडान छ । संघीय प्रहरीले राज्यविरुद्धको कसुर, नागरिकता र राहदानीसम्बन्धी कसुर, संगठित अपराधसम्बन्धी कसुर, आतंकवादसम्बन्धी कसुर, मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी तथा साइबर अपराध प्रहरीले अनुसन्धान गर्ने ऐनमा उल्लेख छ । 

त्यस्तै, एकभन्दा धेरै प्रदेशको क्षेत्राधिकार हुने कसुर, सीमापार अपराध र प्रदेश प्रहरीले अनुरोध गरी पठाएका कसुरमा संघीय प्रहरीले अनुसन्धान गर्ने भनिएको छ । यस्ता अपराधको अनुसन्धानमा प्रदेश प्रहरी र संघ प्रहरीबीच विवाद आउन सक्ने भएकाले पनि प्रदेश सरकारमातहत हुने गरी संघीय प्रहरीलाई प्रदेशमा परिचालन गर्नुपर्ने निष्कर्षमा प्रहरी नेतृत्व पुगेको हो । यसरी प्रदेशमा समायोजन हुने प्रहरीहरू डिएसपी पदसम्म बढुवा हुने प्रस्ताव प्रहरीको छ । 

साथै, समायोजन गर्दा पाँच ग्रेड थपको सुविधा पनि दिन माग गरिएको छ । यसअघिको कानुनमा दुई ग्रेड मात्र थप हुने प्रावधान छ । 

समन्वय ऐन दफा १३ को प्रावधानले राष्ट्रिय सुरक्षामै जोखिम हुन सक्ने भन्दै त्यसलाई पनि संशोधन गर्न लागिएको छ । उक्त दफामा कुनै प्रदेशमा गम्भीर अशान्ति भए प्रदेश सरकारले नेपाल सरकारलाई अनुरोध गर्न सक्ने उल्लेख छ । तर, संघ सरकार र प्रदेश सरकारबीच राम्रो सम्बन्ध नभएको अवस्थामा गम्भीर अशान्ति भएमा पनि संघमातहतको प्रहरीलाई अनुरोध नगर्न सक्ने त्यस्तो अवस्थामा राष्ट्रिय सुरक्षा र अखण्डतामै जोखिम आउन सक्ने भएकाले यसलाई संशोधन गर्न लागिएको छ । 

गम्भीर अशान्तिको अवस्थामा केन्द्र सरकारबाट सीधै हस्तक्षेप गर्न सक्ने प्रावधान राख्न लागिएको छ । साथै, प्रदेश सुरक्षा समितिमा नेपाली सेना र सशस्त्र प्रहरी बलका प्रतिनिधिलाई आमन्त्रित सदस्य मात्र राखिएकोमा सदस्य नै राख्नुपर्ने विषयमा समेत छलफल भइरहेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । 

समायोजन प्रक्रिया कहाँ पुगेको छ ? 
चार महिनाअघि प्रदेश सरकारहरूले दबाब दिएसँगै सरकारले समायोजनको तयारीलाई तीव्रता दिएको थियो । प्रदेश सरकार र केन्द्रमा पनि गठबन्धन तथा मन्त्रीहरू फेरिएसँगै हाल समायोजनको काम सुस्त छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले प्रहरी नेतृत्वसँग समायोजनका विषयमा विस्तृत छलफल गरिसकेका छन् । यसका लागि कानुन संशोधनलाई तीव्रता दिने काम भइरहेको मन्त्रालयले जनाएको छ । समायोजनकै गृह मन्त्रालयले प्रशासन महाशाखाका सहसचिवको नेतृत्वमा समायोजन समिति गठन गरी गृहकार्य गरिरहेको छ । 

प्रहरी समायोजनका लागि गृह मन्त्रालयले सफ्टवेयरसमेत बनाइसकेको छ । ऐनले कार्यरत पदको ज्येष्ठता, कम्तीमा एक वर्षदेखि कार्यरत प्रदेश, स्थायी बसोवासको ठेगाना, नागरिकतामा उल्लेख ठेगाना र उमेरको ज्येष्ठता गरी पाँच आधारमा समायोजन गर्ने उल्लेख गरेको छ । यिनै पाँच आधारमा सफ्टवेयरमार्फत नै कुन प्रहरीलाई कुन प्रदेश वा संघमा समायोजन गर्ने टुंगो लाग्नेछ । कानुनी आधार तय भएपछि गृहले अनलाइनमार्फत नै आवेदन माग्ने तयारी गरेको छ । आवेदनअनुसार नै विश्लेषण गरेर सफ्टवेयरले समायोजन हुने प्रदेश वा केन्द्रबारे टुंगो लगाउनेछ ।

गृह मन्त्रालयले स्थानीय प्रशासन ऐनको नयाँ मस्यौदा पनि तयार गरिरहेको छ । जसमा सिडिओलाई संघकै प्रतिनिधिका रूपमा खटाउने उल्लेख छ । प्रहरी प्रदेशमातहत हुने र सिडिओ संघमातहत हुँदा समन्वयमा समस्या हुने भएकाले यसमा पनि समस्या आउन सक्ने भएकाले छलफल भइरहेको गृह मन्त्रालयले जनाएको छ । संघीय प्रहरी ऐनको मस्यौदामा भने अवकाशको उमेरहद, सेवाहद, पदावधि, भर्नाको उमेरहद, बढुवासम्बन्धी प्रावधान हेरफेर गर्न लागिएको छ ।
 

ad
ad