१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
ओलुम्बा ई इजेन्वा
जन सन्डे ओजो ब
२o८१ जेठ ४ शुक्रबार १o:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

अफ्रिकामा बढ्दो रुसी प्रभाव

Read Time : > 2 मिनेट
ओलुम्बा ई इजेन्वा
जन सन्डे ओजो ब
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १o:o६:oo

जुलाई २०२३ मा नाइजरमा सशस्त्र सेनाले सरकारलाई अपदस्थ गर्दै सत्ता कब्जा गर्‍यो । नयाँ सैन्य सरकार मस्कोनिकट हुन सक्छ र रुसी सेनासँग सम्बन्ध बनाउन सक्छ भन्ने अनुमान गरिएको थियो । अनुमान सत्य सावित भएको देखिन्छ । १० अप्रिलमा एक रुसी विमान नाइजरको राजधानी नियामीमा अवतरण गर्‍यो, जसले कथित रूपमा सैन्य प्रशिक्षक र उपकरण बोकेको थियो । यसले क्रेमलिन र नाइजरका सेनाबीच नयाँ गठबन्धनको संकेत गर्छ । यस कदमले नाइजरमा मौजुद पश्चिमा स्वार्थलाई चुनौती दिएको छ ।

रुसी सैन्य उपकरण र सल्लाहकारको आगमनपछि सयौँले नियामीमा विरोध प्रदर्शन गर्दै अमेरिकी सेना फिर्ताका लागि आह्वान गरेका थिए । सन् २०१२ को सैन्य सम्झौतापछि अफ्रिकामा अमेरिकी कारबाहीका लागि नाइजर प्रमुख स्थान बन्दै आएको थियो । अमेरिकाले नाइजरबाट एक हजारभन्दा बढी सैन्य कर्मचारीलाई फिर्ता गर्नेछ, जसका कारण साहेलमा जिहादी समूहविरुद्ध आतंकवादविरोधी कारबाहीमा प्रयोग हुने एउटा महत्वपूर्ण ड्रोन बेस २०१ बन्द हुनेछ ।

वरिष्ठ अमेरिकी अधिकारीले नाइजरको भ्रमण गरेको र रुस र इरानसँग सम्भावित सम्बन्धबारे चासो व्यक्त गरेको एक महिनापछि नाइजरले रुससँगको सम्बन्धलाई बलियो बनाएको छ । नाइजरका सैन्य प्रवक्ताले आफ्ना साझेदार छनोट गर्ने अधिकारमा हस्तक्षेप गरेको भन्दै अमेरिकी अधिकारीको ‘हेपाहा मनोवृत्ति’को आलोचना गरेका थिए । चाडको गठबन्धनको पुनः मूल्यांकन र रुसतर्फ झुकावसँगै अमेरिकाले चाडबाट अस्थायी रूपमा सेना फिर्ता गरिरहेको छ । यो कदम चाडका वायुसेना प्रमुखले एन्जामेनानजिकैको ड्रोन आधार सञ्चालनको निलम्बनपछि चालिएको हो । त्यसैगरी फ्रान्सेली सेना पनि फिर्ता हुने अपेक्षा गरिएको छ ।

अफ्रिकाको अस्थिर हिस्सामा रुसी प्रभाव रोक्न वासिङटनको रणनीति असफल भएको देखिन्छ 

अफ्रिकाको अस्थिर हिस्सामा रुसी प्रभावलाई रोक्न वासिङ्टनको रणनीति असफल भएको देखिन्छ । साहेल राष्ट्रले क्षेत्रीय अस्थिरताबीच रुससँग सुरक्षा सहायता माग गरेका छन् । उदाहरणका लागि रुसी भाडाका सैनिकले विद्रोही समूहसँग लड्न बुर्किनाफासो र मालीलाई सहयोग गरेका छन् । रुसले साहेलमा आफ्नो प्रभाव बढाउँदै छ र धेरै राज्यमा आफ्नो पकड विस्तार गर्दै नयाँ गठबन्धन निर्माण गर्न खोजिरहेको छ । यस रणनीतिले अन्य विश्वव्यापी शक्तिसँग द्वन्द्व निम्त्याउन सक्छ । तटीय पश्चिम अफ्रिकी राज्य सम्भावित रूपमा अर्को युद्धभूमि बन्न सक्छन् ।

रुसले एट्लान्टिक महासागरमा रणनीतिक पहुँचका लागि पश्चिम अफ्रिकी नेतासँग सैन्य, कूटनीतिक र आर्थिक सम्झौता गर्न खोजिरहेको छ । यसले जिबुटीमा अमेरिकाको क्याम्प लेमोनियरको झल्को दिन्छ, अर्थात् यस क्याम्पले अमेरिकालाई पर्सियाको खाडी, हिन्द महासागर र स्वेज नहरमा पहुँच र नियन्त्रण प्रदान गर्छ । 

अलकायदा र इस्लामिक स्टेटसँग जोडिएका जिहादी समूहले बेनिन, घाना र टोगोजस्ता पश्चिम तटीय अफ्रिकी राज्यमा घुसपैठ गरेका छन् र नयाँ परिचालन केन्द्र स्थापना गरेका छन् । विशेषतः बेनिनमा सन् २०२३ मा करिब ८० जनाको मृत्यु हुने गरी तीनपटक आतंककारी आक्रमण गरेको छ । अमेरिकाले चरमपन्थी समूहको फैलावट रोक्न पश्चिम अफ्रिकी तटमा सैन्य ड्रोन अड्डा स्थापना गर्ने लक्ष्य राखेको छ । यद्यपि अफ्रिकामा अमेरिकी सैन्य शाखाका कमान्डर जेनरल माइकल ल्याङ्लीले १६ मार्चमा सिनेटमा दिएको एक बयानमा हालका वर्षमा दुराशययुक्त सूचनाले महाद्वीपमा अमेरिकी प्रभावलाई ओझेलमा पारेकोबारे सचेत गराएका थिए ।

रुसले अफ्रिकामा प्रभाव पार्ने प्रयासलाई चीनसँगको सम्बन्धसँग सन्तुलनमा राख्नुपर्ने हुन्छ । सी जिनपिङको चीनले पनि अफ्रिकी महादेशमा आफ्नो प्रभाव बढाउन कडा मिहिनेत गरेको छ । रुस र चीन अफ्रिकाका देशसँग विभिन्न ढंगले संलग्न छन् । रुसले महाद्वीपमा साझेदारलाई आकर्षित गर्न र सम्बन्ध कायम राख्न सैन्य एवं कूटनीतिक प्रोत्साहनको प्रयोग गर्छ ।

चीनले अफ्रिकी साझेदारलाई आफ्नो शिविरमा तान्न विकास परियोजना र भारी ऋण प्रवाहको अस्त्र प्रयोग गर्छ । बढ्दो मुद्रास्फीति र लामो समयदेखिको खडेरीको बोझले दबिएको जिबुटीले सन् २०२३ मा चीनलाई ऋण तिर्न सकेन, जुन अघिल्ला वर्षमा जाम्बियामा पनि प्रतिबिम्बित भएको थियो । जिबुटीको प्राथमिक ऋणदाता चीनसँग एक अर्ब ४० करोड डलरबराबरको ऋण छ । दिवालीय अवस्थामा चीनले आफ्नो घाटापूर्तिका लागि एक वा सबै परियोजनामाथि नियन्त्रण जमाउन सक्छ । यसमा देशका बन्दरगाह र त्यसमा समाहित अन्तर्राष्ट्रिय स्वतन्त्र व्यापार क्षेत्र पर्छन् ।

चीन र रुस औपचारिक साझेदार होइनन् । तर, पछिल्लो दशकमा यी मुलुकले सम्बन्ध विस्तार गरेका छन् । सीले पुटिनलाई आफ्नो ‘सबैभन्दा असल साथी एवं सहकर्मी’को संज्ञा दिएका थिए भने रुसी राष्ट्रपतिले आफ्ना चिनियाँ समकक्षीलाई ‘प्रिय मित्र’ भनी सम्बोधन गरेका थिए । रुसका विदेशमन्त्री सेर्गेई लाभरोभ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच ९ अप्रिलमा बेइजिङमा भएको भेटपछि चीनले रुससँगको सम्बन्धलाई थप बलियो बनाउन पनि सहमति जनाएको छ । दुई देशले भविष्यमा एउटै अफ्रिकी सहयोगीसँग साझेदारी गर्न सक्नेछन् । यसले अफ्रिकी महादेशमा क्रेमलिनको प्रभावलाई थप बढ्न मद्दत गर्नेछ ।

अफ्रिकामा आफ्नो प्रभावलाई लिएर अमेरिका र रुसबीचको तनावले यी दुई प्रमुख एवं उदीयमान विश्वव्यापी खेलाडीबीच महादेशमा नियन्त्रणका लागि ऐतिहासिक शक्ति संघर्ष हुने देखिन्छ । यस अवस्थाले अफ्रिकी राष्ट्रबीच छद्म द्वन्द्व भड्किने सम्भावना छ । अफ्रिका पहिल्यै व्यापक भ्रष्टाचार, मक्किएका एवं कठपुतली शासक, हिंसक द्वन्द्व र कुले निम्त्याएको कठिनाइको सामना गरिरहेको छ । विदेशी शक्तिलाई आतंकवादविरोधी अभियानको आडमा हस्तक्षेप गर्नबाट रोक्नुपर्छ ।

(इजेन्वा युनिभर्सिटी अफ लन्डन र ओजो पोर्ट्समाउथ विश्वविद्यालयबाट विद्यावारिधि गर्दै छन्) द कन्भर्सेसनबाट

ad
ad