मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जिल्लाका दुई मुख्य सडक कालिगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग ।
२०७९ असोज ४ मंगलबार ०७:२२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

कालिगण्डकी करिडोर र मदन भण्डारी राजमार्गमा सात अर्बको काम हुँदै

Read Time : > 2 मिनेट
२०७९ असोज ४ मंगलबार ०७:२२:००

कालिगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना हुन् । करिडोरले गुल्मीपूर्वका रुरु, सत्यवती र कालिगण्डकी गाउँपालिका हुँदै बाग्लुङ जोडेको छ । चीन र भारतका धार्मिक पर्यटकका लागि करिडोर ठूलो गन्तव्यमार्ग हुनेछ । करिडोरले पर्यटकलाई लुम्बिनी, पाल्पाको रानीमहल, गुल्मीको रुरुधाम र शालिग्राम शिलाको दर्शन गराउँदै मुस्ताङ पुर्‍याउँछ । गुल्मीको बीचभाग भएर पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्ग गुल्मेलीको अर्को समृद्धिमार्ग हो । करिडोरको ४२ किलोमिटर र मदन भण्डारी राजमार्गको ३१ किलोमिटर सडक कालोपत्रेका लागि करिब सात अर्ब बजेट छुट्याइएको छ ।  

रिडी–हर्मिचौर कालोपत्रेको ६० प्रतिशत काम
कालिगण्डकी करिडोरको रिडीदेखि पालुङ खोलासम्म ४२ किलोमिटर पर्छ । अहिले रिडी–रुद्रवेणी–हर्मिचौरको २१ किलोमिटर सडकखण्डमा कालोपत्रेको काम अगाडि बढेको छ । शर्मा सगुन जेभीले ५३ करोडमा १६ भदौ ०७७ मा सडक कालोपत्रे गर्ने सम्झौता गरेको थियो । अहिले सम्झौताअनुसारको ६० प्रतिशत काम भइसकेको कालिगण्डकी करिडोर (गौँडाकोट–राम्दी–मालढुंगा) सडक आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर पवित्रमणि आचार्यले जानकारी दिए ।  
हर्मिचौर–बलेवा कालोपत्रेको चार अर्बभन्दा बढीको टेन्डर
कालिगण्डकी करिडोरको हर्मिचौर–बलेवासम्मका लागि चार अर्ब सात करोडमा कालोपत्रे गर्न टेन्डर आह्वान भएको छ । त्यो सडकखण्डको हर्मिचौर–पालुङ खोलाको २१ किलोमिटर गुल्मीमा पर्छ । चुनावलगत्तै हर्मिचौर–पालुङ खोला सडक कालोपत्रेको काम पनि हुने सूचना अधिकारी आचार्यले जानकारी दिए । कालिगण्डकी करिडोर (गौँडाकोट–राम्दी–मालढुंगा) सडक आयोजना कार्यालयका अनुसार कालिगण्डकी करिडोरअन्तर्गत गुल्मी खण्डको ४२ किलोमिटरभित्र नौवटा पुल पनि रहेका छन् । जसमा ताल खोला पुलको काम सकिएको छ । चौरी खोलाको पुल निर्माणाधीन अवस्था रहेको कार्यालयले जनाएको छ । यो वर्ष बाँकी सातवटा पुलको काम पनि अगाडि बढ्नेछन् ।

सिमलटारी–मच्छीखण्ड कालोपत्रेका लागि दुई अर्ब
मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीदेखि प्युठानको मच्छीखण्डको सडक पनि कालोपत्रेका लागि टेन्डर आह्वान भएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका अनुसार सिमलटारी–मच्छीखण्डको ३१ किलोमिटर कालोपत्रे हुनेछ । कार्यालयको तर्फबाट दुई अर्बभन्दा बढीको टेन्डर आह्वान भएर मूल्यांकनको काम भएकाले दसैँअघि सम्झौताको सम्भावना रहेको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयकाका इन्जिनियर शिवशरण तिमल्सेनाले जानकारी दिए । तम्घासदेखि सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । 

चार पुल निर्माण सुरु
मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी सडकका विभिन्न चार खोलामा पुल निर्माण सुरु गरिएको छ । कालेपत्रे भएको लामो समयसम्म खोलामा पुल निर्माण नहुँदा नागरिक स्तरबाट आलोचना हुँदै आएको थियो । मदन भण्डारी आयोजना कार्यालय गुल्मीका अनुसार हुलाके, धनार्जी, घमिर र अर्जे खोलामा पुल निर्माणका लागि भ्याटसहित १९ करोड २६ लाख ५५ हजार दुई सय रुपैयाँ दुई कम्पनीसँग कार्यालयले सम्झौता गरेको छ । हुलाके र धनार्जी खोलाको पुलका लागि सुनील समीर निर्माण सेवा तथा अर्जे र घमिर खोला पुल निर्माणका लागि पन्थी निर्माण सेवाले सम्झौता गरेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका प्रमुख शशांक मिश्रले जानकारी दिए । उनले योजना कार्यान्वयनको चरणमा रहे पनि बर्सातले काम रोकिएको बताए । मिश्रले काम क्रमिक रूपमा अगाडि बढे पनि राजनीतिक क्रिया–प्रतिक्रिया बढी भएको बताए ।

सडकले गाउँमा समृद्धिको लहर
तम्घास–सिमलटारी सडकको ट्र्याक निर्माण भएको साढे तीन दशक भयो । द्वन्द्वको १० वर्ष सडक स्तरोन्नतिको केही पनि काम भएन । ०७२ सालमा सडक कालोपत्रेको काम भयो । जसका कारण बजारसँग गाउँ नजिक भयो । यो सडकले प्युठान र गुल्मी मात्रै नभएर स्थानीय पालिकाहरूलाई समेत जोड्ने काम गरिरहेको छ । सडक कालोपत्रे भएसँगै गाउँको उत्पादन तम्घास तथा बुटवलका बजारमा पुग्न थाल्यो । जसले गाउँ–गाउँका युवा उद्यमीहरूले कृषिलाई व्यवसायीकरण गरिरहेका छन् । अहिले गाउँबाट जाने गाडीहरूले पनि सधैँजस्तो छतहरूमा तरकारी र बाख्रा बुटवलका बजारमा पुर्‍याउन थालेको इस्मा गाउँपालिका–५ का अगुवा कृषक कृष्ण विष्टले बताए ।

 रेसुंगा, इस्मा, धुर्कोट, मालिका र मदानेका कृषकले सडक कालोपत्रे भएपछि सडकछेउका जग्गाको भाउ बढाएका छन् भने सडक–किनारमा होटेल, फेन्सी र विभिन्न किसिमका थोक तथा फुटकर व्यवसाय सञ्चालन गरिरहेका छन् । तम्घासदेखि सिमलटारीसम्म करिब दुई सयभन्दा बढी होटेल तथा पसलहरू थपिएको मालिका–८ का अगुवा टीका क्षत्रीले बताए । करिडोरपछि रिडीमा थुप्रै होटेल थपिएका छन् भने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको छ । कालिगण्डकी करिडोर कालोपत्रे हुनेबित्तिकै संख्या दोब्बर हुने रुरु गाउँपालिका–१ का युवा व्यवसायी  सुन्दर कसजूले बताए ।