१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २५ शनिबार ०८:२७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टी–२० लिगको मेन्टरमा ब्रेट ली 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २५ शनिबार ०८:२७:००

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल टी–२० लिगको मेन्टरमा अस्ट्रेलियन चर्चित बलर ब्रेट ली नियुक्त भएका छन् । क्यानले शुक्रबार एक कार्यक्रमबीच अस्ट्रेलियन बलर लीलाई टी–२० लिगको मेन्टर घोषणा गरेको हो । 

लीले नेपालमा क्रिकेट क्रेज निकै राम्रो बताएका छन् । ‘नेपालमा क्रिकेटको क्रेज निकै राम्रो छ, यस्तो देशमा मेन्टरका रूपमा काम गर्न पाउँदा खुसी लागेको छ,’ लीले भने, ‘नेपाली क्रिकेटबारे मैले अगाडि पनि सुनेको थिएँ ।’ उनले नेपालको क्रिकेट विकासमा एक्सपोजरको आवश्यक रहेको जनाए । 

‘नेपालको क्रिकेट विकास गर्न एक्सपोजरको आवश्यकता छ,’ उनले भने, ‘आउने दिनमा यो एक्सपोजर बढ्ने विश्वास छ ।’ उनले युवा क्रिकेटरलाई अगाडि बढाउँदा नेपाललाई फाइदा हुने बताए । उनी भन्छन्, ‘पुरुष क्रिकेट मात्र नभएर महिलालाई पनि त्यतिकै प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ ।’ 

६ टोली सहभागी लिग ८ असोजबाट ५ कात्तिकसम्म हुनेछ । क्यानले पहिलोपटक गर्न लागेको प्रतियोगितामा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेडको सहभागिता रहनेछ । 

विश्वका उत्कृष्ट बलर
अस्ट्रेलियाका ४५ वर्षीय ब्रेट ली नेपालमा पहिलोपटक आइपुगेका हुन् । फास्ट बलर ब्रेट लीले अस्ट्रेलियाबाट तीनै फर्म्याटको खेल खेलेका छन् । सन् १९९९ मा लीले भारतविरुद्ध मेलबर्नमा टेस्टमा डेब्यु गरेका थिए । उनले ७६ टेस्टमा तीन सय ३१ विकेट लिए । सन् २००८ मा उनले दक्षिण अफ्रिकाविरुद्ध अन्तिम टेस्ट खेले । यसैगरी, सन् २००० मा पाकिस्तानसँगको खेलमा उनले एकदिवसीयमा डेब्यु गरे । लीले दुई सय २१ एकदिवसीय खेलमा तीन सय ८० विकेट हात पारेका थिए । सन् २०१२ मा उनको अन्तिम एकदिवसीय खेल इंग्ल्यान्डविरुद्ध रह्यो । 

लीले २५ अन्तर्राष्ट्रिय टी–२० खेलमा २८ विकेट झारेका छन् । बलिङसँगै उनी ब्याटिङमा राम्रो गर्थे । लीले ७६ टेस्टमा एक हजार चार सय ५१ रन बनाएका छन् । जसमा उनले पाँच अर्धशतक लगाए । दुई सय २१ एकदिवसीय खेलमा तीन अर्धशतकको मद्दतमा उनले एक हजार एक सय ७६ रन बनाएका छन् । लीले अस्ट्रेलियाबाहेक आइपिएलमा पन्जाब ११ र कोलकाताबाट खेलेका छन् ।