मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २३ बिहीबार ०७:५१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नगरपालिकाको रकम अनियमितता गर्ने लेखा अधिकृतलाई नौ वर्ष कैद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २३ बिहीबार ०७:५१:००

चार करोड बिगो असुल्न विशेष अदालतको आदेश

उदयपुरको कटारी र इलामको माई नगरपालिका तथा सोलुखुम्बुको स्वास्थ्य कार्यालयमा कार्यरत छँदा सरकारी खाताको रकम आफू र आफन्तको नाममा राखेको ठहरसहित विशेष अदालतले तत्कालीन लेखा अधिकृत रविनचन्द्र ढकाललाई नौ वर्ष कैद सजाय सुनाएको छ । ढकालबाट चार करोड १३ लाख ७० हजार बिगो असुलउपर गर्न पनि आदेश दिएको छ । 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले उनीविरुद्धका तीनवटा मुद्दामा फैसला गरेको हो । ढकाल कटारी नगरपालिकाको लेखा अधिकृत छँदा प्रमुख प्रशासकीय अधिकृतहरूको किर्ते दस्तखत गरी नगरपालिकाको रकम हिनामिना गरेको एउटा मुद्दा थियो । राष्ट्रिय वाणिज्य बैंकमा पठाएको सामाजिक सुरक्षाबापतको तीन करोड ९८ लाख नगरपालिकाको सञ्चित खाताबाट आफ्नो खातामा हालेर उनी ३ वैशाख ०७५ मा फरार भएका थिए ।

त्यसमध्ये २७ लाख मात्र आफ्नो खातामा राखेर बाँकी सबै झिकेको अनुसन्धानमा खुलेको थियो । ०७४ माघमा तलबसमेत दोहोरो निकालेको अनुसन्धानमा खुलेको थियो । १३ वैशाखमा उनी काठमाडौंबाट पक्राउ परेका थिए । अधिकांश रकम परिवारजन र आफन्तको खातामा राखेको खुलेको थियो । त्यस्तै, माई नगरपालिकामा पनि मिलेमतोमा तीन करोड भ्रष्टाचार गरेको अनुसन्धानमा खुलेको थियो । 

विशेषमा यी दुई मुद्दा विचाराधीन रहेकै वेला उनीविरुद्ध अर्को उजुरी आएपछि अख्तियारले पुनः अनुसन्धान गरेर अर्को मुद्दा दायर गरेको थियो । ढकाल जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा कार्यरत रहँदा गलत लिखत तयार गरी १४ लाख ८९ हजार रुपैयाँभन्दा बढी अनियमितता गरी आफ्नो खातामा राखेको पुष्टि भएको थियो । 

उनले अनियमितता गरेको पैसा राखेका परिवारजन र आफन्तलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएकोमा ९ भदौमा विशेष अदालतले ढकाललाई दोषी ठहर गर्दै दुवै पक्षका कानुन व्यवसायीसँग सजाय निर्धारणका लागि प्रतिवेदन माग गरेको थियो । जसअनुसार बुधबार सजाय सुनाइएको विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए । उनका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र ९ का साथै ३ (झ) बमोजिमको कसुर पुष्टि भएको हो । 

यस मुद्दामा प्रतिवादी बनाइएका प्रमुख प्रशासकीय अधिकृतले भने सफाइ पाएका छन् । जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकाहरूको नाममा रहेको सम्पत्ति भने जफत हुने भएको छ । 

कुन मुद्दामा कति सजाय ?
उदयपुरको कटारी नगरपालिकामा लेखा अधिकृत छँदा नगरपालिकाको सञ्चित खाताको रकम आफ्नो खातामा हालेको, दोहोरो तलब झिकेको र उक्त रकमले निजी सम्पत्ति खरिद गरी आफन्तका नाममा राखेको ठहर गर्दै विशेषले ढकाललाई नौ वर्ष कैद र तीन करोड ९८ लाख ३६ हजार बिगो र सोही रकमबराबर जरिवाना असुल गर्न आदेश दिएको छ । 

इलामको माई नगरपालिकामा लेखा अधिकृत छँदा किर्ते कागज बनाएर तथा प्रमुख प्रशासकीय अधिकृतको नक्कली दस्तखत गरेर नगरपालिकाको दुई करोड २४ लाख ५६ हजार हिनामिना गरेको अभियोगमा ११ महिना कैद र ४५ हजार बिगो र जरिवाना असुलउपर गर्न फैसला गरेको छ । 

सोलुखुम्बुको स्वास्थ्य कार्यालयमा पनि लेखा अधिकृत नै छँदा गलत लिखत तयार गरी विभिन्न मितिमा १४ लाख ८९ हजारभन्दा बढी आफ्नो खातामा ल्याएर भ्रष्टाचार गरेको ठहरसहित विशेष अदालतले दुई वर्ष ६ महिना कैद र १४ लाख ८९ हजार बिगो र जरिवाना असुल गर्न आदेश भएको छ ।