मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २१ मंगलबार ०६:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विमानस्थल सुरक्षामा लापरबाही : भिआइपी कक्ष दुरुपयोग  गर्दा दुई सय मात्रै जरिवाना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २१ मंगलबार ०६:०४:००

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकपछि अर्काे सुरक्षा त्रुटि बढिरहेका वेला गल्ती गर्नेहरूलाई सजायको प्रावधान भने निकै कमजोर राखिएको छ । भिआइपी कक्षको दुरुपयोग गर्दासमेत दुई सय रुपैयाँ मात्रै जरिवाना हुने प्रावधान छ । ०१५ मा बनेको गैरसैनिक हवाई उडान ऐनमा निषेधित क्षेत्रमा प्रवेश गर्नेलाई दुई सय रुपैयाँ जरिवाना सजाय हुने प्रावधान छ । ऐनको दफा १० मा निषेधित क्षेत्रमा प्रवेश गर्नेलाई हुने सजायको प्रावधान छ । जसमा निषेधित क्षेत्रमा प्रवेश गर्नेलाई विमानस्थल प्रमुख अधिकारीको आदेशले दुई सय रुपैयाँ जरिवाना हुने उल्लेख छ । कानुनको समयानुकूल संशोधन नहुँदा यस्तो विरोधाभास देखिएको हो । 

गत शुक्रबार दुबईबाट आएका रिजवान आलमले अनधिकृत रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष दुरुपयोग गरेका थिए । यस्तो अपराधमा उनलाई दुई सय रुपैयाँ जरिवाना हुनेछ । कानुन संशोधन नहुँदा जरिवानाको सजाय ज्यादै कम भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । ठगी मुद्दामा फरार रहेका आलम पासपोर्टसमेत अध्यागमनकै डेस्कमा छाडेर भागेका थिए ।

तर, त्यसरी अराइभलको अनुमति नलिई प्रवेश गर्दा त कारबाही हुने प्रस्ट प्रावधान नभएको भन्दै केही कारबाही गरिएको छैन । अनधिकृत क्षेत्रमा प्रवेश गरेकोमा उनीमाथि दुई सय जरिवाना गराउने विमानस्थल कार्यालयको तयारी छ । सो घटनाको विषयमा निर्देशक टेकनाथ सिटौलाको नेतृत्वमा छानबिन समिति बनेको छ । समितिलाई अनधिकृत व्यक्तिले भिआइपी कक्ष प्रयोग गर्दा विमानस्थल कार्यालयबाट भएको त्रुटिदेखि सजायको व्यवस्था अध्ययन गर्ने जिम्मेवारीसमेत तोकिएको छ । 

रिजवान जेल चलान
दुबईबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षमार्फत भगाइएका रिजवान आलम जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले सोमबार उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । एक करोड ६८ लाख रुपैयाँ ठगीको मुद्दामा फरार रहेका आलमलाई आइतबार प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो । बयान सकिएपछि सोमबार जिल्ला न्यायाधीश प्रकाशराज पण्डितको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । ठगीसम्बन्धी मुद्दामा सात वर्षसम्म कैद सजाय हुन सक्ने प्रावधान भएको र बिगो रकम ठूलो भएकाले अदालतले उनलाई थुनामा पठाएको हो ।