मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २० सोमबार २१:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घनश्याम भुसाललाई रुपन्देही १ बाटै उम्मेदवार बनाउनुपर्ने माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २० सोमबार २१:४५:००

एमाले नेता घनश्याम भुसाललाई गृहक्षेत्रबाटै उम्मेदवार बनाउन स्थानीय नेता–कार्यकर्ताले दबाब दिएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि भुसालको नाम रुपन्देही १ र ३ बाट सिफारिस भएको छ । 

निर्वाचन क्षेत्र नम्बर १ मा घर भएका भुसाललाई अघिल्लोपटक पार्टी अध्यक्ष केपी ओलीले तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहरा उम्मेदवार रहेको क्षेत्र नम्बर ३ मा टिकट दिएका थिए । त्यसवेला पनि पार्टीका स्थानीय नेताले भुसाललाई १ बाटै टिकट दिन माग गरेका थिए । 

यसपटक पुनः भुसालको नाम १ र ३ बाट सिफारिस भएपछि १ मा मात्र रहने गरी सिफारिस सच्याउन जिल्ला नेतृत्वलाई दबाब परेको हो । भुसालको नाम क्षेत्रीय कमिटीबाट सिफारिस भई जिल्ला कमिटीमा पुगेको छ । त्यहाँबाट प्रदेश कमिटीमा पठाउने गरी छलफल सुरु भएको छ । 

सोमबारको छलफलमा गृहक्षेत्रका स्थानीय नेता–कार्यकर्ताले भुसाललाई १ नम्बर क्षेत्रमै उठाउनुपर्ने अडान राखेका छन् । सो अडानका कारण बैठकले निर्णय लिन सकेन । बैठक भोलि बिहान १० बजे पुनः बस्ने गरी स्थगित भएको छ । 

बैठकमा केही नेताले भुसालको नाम ३ नम्बर निर्वाचन क्षेत्रबाट मात्र सिफारिस गर्नुपर्ने धारणा पनि राखेका थिए । तर, १ नम्बर क्षेत्रका स्थानीय नेताले त्यसमा सहमति जनाएनन् । 

पार्टी उपाध्यक्ष विष्णु पौडेल रुपन्देही २, खिमलाल भट्टराई ५ र सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माको नाम १ नम्बर निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ । 
अध्यक्ष ओलीनिकटका सबै नेताको नाम एक - एक क्षेत्रबाट सिफारिस हुने तर भुसालको दुईवटा क्षेत्रीय कमिटीबाट गरेपछि त्यसको असर लुम्बिनी प्रदेश कमिटीमा समेत पर्ने देखिएको छ । 

भुसाललाई दबाबमा राख्न पार्टीको एउटा खेमाले भुसालले हाल प्रतिनिधिसभामा प्रतिनिधित्व गरेको निर्वाचन क्षेत्र ३ मा बासुदेव घिमिरे, दुर्गा भुसाल र पूर्वसांसद यज्ञजित शाहको नामसमेत सिफारिस गरेको थियो ।