१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ भदौ ४ शनिबार १८:०८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

डाक्टर कुट्ने कर्मचारी निलम्बित

Read Time : > 1 मिनेट
२०७९ भदौ ४ शनिबार १८:०८:००

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक विभागमा कार्यरत डा. करण साहमाथि कुटपिट गर्ने कर्मचारी धनबहादुर शाही निलम्बनमा परेका छन् । प्रतिष्ठानको शनिबार बसेको कार्यकारी परिषद्को बैठकले शाहीलाई ४५ दिनका लागि निलम्बन गरेको हो । 

कार्यकारी परिषद्को बैठकले अस्पताल निर्देशक डा. पूजन रोकायाको संयोजकत्वमा तीनसदस्यीय छानबिन समिति गठन गरेको रजिस्टार नृपेन्द्र महतले बताए । उनका अनुसार समितिमा डा. पूजन रोकाया, डा. अनुपमंगल समाल र प्रतिष्ठानका कानुनी सल्लाहकार मीनबहादुर महत रहेका छन् । समितिलाई ३० दिनभित्र प्रतिवेदन पेस गर्ने समय दिइएको छ ।

शाही कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासन तर्फको चौथो तहका कर्मचारी हुन् । बिहीबार शाह आफ्नो छोराको टाँका निकाल्नका लागि आकस्मिक विभागमा पुगेका थिए । तर, डा साहले व्यस्त भएको भन्दै केही समयपछि आउन भनेपछि सामान्य विवाद हुँदा शाहीले अचानक साहमाथि आक्रमण गरेको नेपाल चिकित्सक संघ जुम्लाले जनाएको छ । 

शाहीले डाक्टरमाथि गरेको आक्रमणको सिसिटिभी फुटेज हाल सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ । सो घटनाको विरोध गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी तथा चिकित्सकहरू सुरक्षाको माग गर्दै आन्दोलित भएका छन् । उनीहरूले आइसियू, इमरजेन्सी र एनआइसियू सेवाबाहेक सबै सेवा बन्द गर्ने र अर्को दिन सुरक्षाको अनुभूति र पीडकलाई कारबाही नहुँदासम्म पेन डाउन गर्ने चेतावनी दिएका थिए । 

चिकित्सकहरूको दबाबपछि कार्यकारी परिषद्को बैठक बसेर तत्काल छानबिन समिति गठन गरी अनुसन्धानको प्रक्रिया अघि बढाइएको रजिस्टार महतले बताए । छानबिन समितिको प्रतिवेदनको मर्मअनुसार थप कारबाही अघि बढ्ने उनको भनाइ छ । 

उनले अस्पतालका कर्मचारीले चिकित्सकमाथि गरेको आक्रमणको घटनाले प्रतिष्ठानलाई थप गम्भीर बनाएकोसमेत बताए। चिकित्सक कुट्ने कर्मचारीविरुद्ध प्रहरीमा उजुरी परेपछि घटनाका आरोपित शाही हाल प्रहरीको नियन्त्रणमा छन् । शाहीको कुटाइबाट डा. साहको टाउको र पेटमा चोट लागेको जनाइएको छ ।