१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार १३:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्ड चितवन– ३, माधव नेपाल रौतहट– १ बाट चुनाव लड्ने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार १३:१०:००

संघ र प्रदेशको निर्वाचन नजिकिँदै गर्दा ठूला नेताले निर्वाचन क्षेत्रमा चुनावकेन्द्रित गतिविधि बढाउन थालेका छन् । 

माओवादी अध्यक्ष प्रचण्ड पछिल्लो केही वर्षदेखि निरन्तर चितवन पुगिरहेका छन् । विगतमा नेकपा अध्यक्ष हुँदा तथा पुनः माओवादी अध्यक्ष हुँदा पनि प्रचण्ड चितवन पुगिरहेका थिए । 

हाल चितवन निर्वाचन क्षेत्र नम्बर– ३ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद रहेका प्रचण्ड पुनः प्रत्यक्ष लड्ने तयारीमै रहेकाले जिल्लाका कार्यक्रममा बढी पुग्ने गरेका हुन् । उनीनिकट नेताहरूले दिएको जानकारीअनुसार उनी आगामी निर्वाचनमा पनि चितवन– ३ बाटै उम्मेदवार बन्ने तयारीमा छन् । 

‘उहाँलाई विभिन्न जिल्ला कमिटीहरूले आफ्नो जिल्लाबाट उम्मेदवार बन्न प्रस्ताव गरिरहेका छन्,’ उनीनिकट ती नेताले भने, ‘तर, प्रचण्ड यसपटक पनि चितवन– ३ मै उम्मेदवार बन्ने तयारी गरिरहनुभएको छ ।’

केही दिनअघि जापान भ्रमणमा गएका वेला पनि प्रचण्डले आफू चितवन– ३ बाटै निर्वाचन लड्ने बताएका थिए । गत निर्वाचनमा उनले निकटतम प्रतिस्पर्धी राप्रपाका विक्रम पाण्डेलाई नौ हजार मतान्तरले पराजित गरेका थिए । 

यता, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने यसपटक आफ्नो पुरानो निर्वाचन क्षेत्र रौतहट फर्कने मनस्थितिमा देखिएका छन् । 

उनीनिकट नेताहरूका अनुसार काठमाडौं– २ भन्दा रौतहट– १ सुरक्षित रहेकाले यसपटक पुरानै निर्वाचन क्षेत्रमा फर्कने उनको तयारी छ । ‘हालैको स्थानीय तह निर्वाचनको परिणामले पनि रौतहटमा हाम्रो पार्टीको अवस्था राम्रो रहेको स्पष्ट भएको छ । त्यसैले अध्यक्ष कमरेड रौतहट– १ बाटै उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ,’ ती नेताले भने ।