मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पवन तिमिल्सिना काठमाडाैं
२०७९ श्रावण २२ आइतबार ११:२०:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

वित्तीय संकटमा पनि बैंकहरूको नाफा ७४ अर्ब ३८ करोड

Read Time : > 2 मिनेट
२०७९ श्रावण २२ आइतबार ११:२०:००

लगानीयोग्य तरलताको चाप बढेसँगै वाणिज्य बैंकहरूको स्प्रेड दरमा भएको वृद्धिले नाफा बढाउन सहयोग

लगानीयोग्य वित्तीय स्रोतको चरम अभाव भोगिरहेका वाणिज्य बैंकहरूले नाफामा भने उल्लेख्य वृद्धि गरेका छन् । विदेशी मुद्राको अभाव र आयातमा भएको कर्जा वृद्धिले बैंकहरू वित्तीय स्रोतको अभावमा छन् । तर, गत आर्थिक वर्षको वासलातले भने उनीहरूको नाफामा उच्च वृद्धि देखिएको छ । 

नेपाल राष्ट्र बैंकको नयाँ निर्देशनबमोजिम शनिबारसम्म २६ वटै वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसअनुसार सबै बैंकहरूको खुद नाफाको जोड ७४ अर्ब ३८ करोड देखिएको छ । बैंकको नाफाको औसत वृद्धिदर २१.८० प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष ०७७÷७८ मा बैंकहरूको नाफा ६१ अर्ब ६ करोड थियो ।

बैंकिङ प्रणालीमा लगानीयोग्य तरलताको चाप बढेसँगै बैंकहरूको ब्याजदर अन्तर (स्प्रेड दर)मा भएको वृद्धिले बैंकको नाफालाई बढाउन मद्दत पुगेको बैंकरहरूको भनाइ छ । नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले तरलता चापकै कारण नाफामा वृद्धि भएको बताए । उनले भने, ‘२.६ प्रतिशतमा पुगेको स्प्रेडदर ४ प्रतिशतसम्म पुगेको छ । अनि बैंकको नाफा त बढ्ने नै भयो ।’ 

तरलता संकटकै कारण बैंकहरूले ट्रेजरी बिल्समा गरेको लगानीबापत १४ प्रतिशतसम्म प्रतिफल पाउन थालेका छन् । गत वर्षसम्म अधिकतम ३.७४ प्रतिशतसम्म ब्याज पाइरहेका बैंकहरूले सरकारबाटै १४ प्रतिशतसम्म पाउने अवस्था पुगेकाले बैंकको नाफा बढ्नु स्वाभाविक भएको ज्ञवालीको तर्क छ । 

तत्काल नाफा बढेको देखिए पनि आगामी दिन यस्तै नाफालाई कायम राख्न चुनौतीपूर्ण रहेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । चालू आर्थिक वर्षको मौद्रिक नीतिले कोभिडको समयमा दिएका सुविधाहरू फिर्ता गरेका कारण खराब कर्जाको व्यवस्थापन मुख्य चुनौती रहेको उनको भनाइ छ । उनले भने, ‘बैंकहरूको लागत बढ्दै गइरहेको छ । त्यस्तै, कोभिडको समयमा ऋण भुक्तानी नभएकाले जोखिम पनि बढ्ने सम्भावना छ ।’ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष सकिएको १५ दिनसम्म प्राप्त ब्याजलाई पनि आम्दानीमा गणना गर्न पाउने व्यवस्था गरिएकाले पनि नाफा थप वृद्धि हुने देखिन्छ । 

जो अर्बको समूहमा प्रवेश गरे 
गत आवमा तीन बैंकहरू एक अर्बभन्दा बढी खुद नाफा कमाउने समूहमा प्रवेश गरेका छन् । जसमध्ये दुई बैंक त पहिलोपटक खुद नाफा अर्बभन्दा बढी कमाउने समूहमा प्रवेश गरेका हुन् । नेपाल एसबिआई बैंकले अघिल्लो आर्थिक ९६ करोड मात्रै नाफा कमाएको थियो । पहिलोपटक अर्बभन्दा बढी नाफा कमाउने दुइटा वाणिज्य हुन्, सिभल बैंक र सेन्चुरी । अघिल्लो आर्थिक वर्षमा ५२ करोड ७७ लाख रुपैयाँ कमाएको सिभिल बैंकले यसपालि एक अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, ६३ अर्ब मात्रै खुद नाफा आर्जन गरेको सेन्चुरी बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३५ करोड कमाएको छ । 

त्यस्तै, अघिल्लो आर्थिक वर्षमा दुई अर्ब कमाउने बैंकहरूको नाफा तीन अर्बमाथि पुगेको छ भने चार अर्ब कमाउनेहरू पाँच अर्बभन्दा बढी नाफा गर्ने समूहमा पुगेका छन् । दुई अर्बभन्दा कम नाफा कमाउने पाँचवटा मात्रै बैंक छन् । बैंक अफ काठमाण्डू, नेपाल एसबिआई बैंक, लक्ष्मी बैंक, सिभिल बैंक र सेन्चुरी बैंकको नाफा दुई अर्ब रुपैयाँभन्दा कम छ । 
त्यस्तै, दुई अर्बभन्दा बढी कमाउने बैंकहरूको संख्या १२ वटा पुगेको छ । अघिल्लो आर्थिक वर्षमा दुई अर्बभन्दा बढी कमाउने आठवटा मात्रै बैंक थिए । कुमारी बैंक, मेगा बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन बैंक, माछापुच्छ«े बैंक, सन्राइज बैंक र एनसिसी बैंकको नाफा दुई अर्बभन्दा बढी छ । यीमध्ये ६ बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा दुई अर्बभन्दा कम थियो । 

एनएमबि बैंक, प्राइम बैंक, नेपाल बैंक र सिद्धार्थ बैंकको खुद नाफा तीन अर्ब रुपैयाँभन्दा बढी छ । यीमध्ये प्राइम कमर्सियल बैंकको मात्रै अघिल्लो आर्थिक वर्षमा खुद नाफा तीन अर्बमाथि थियो । नबिल बैंक, एनआइसी एसिया बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा चार अर्बभन्दा माथि पुगेको छ । राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकको नाफा भने पाँच अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।   

वितरणयोग्य मुनाफा ५६ अर्ब ७८ करोड 
२६ बैंकको वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफा ५६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले दुई वर्षदेखि नगद लाभांशमा कडाइ गरेपछि बैंकहरूले लगानीकर्तालाई बोनस सेयर मात्रै वितरण गर्दै आएका थिए । यसपालि मौद्रिक नीतिले नै बैंकहरूलाई नगद लाभांश बाँड्ने ढोका खोलिदिएको छ । कोभिडको समयमा दिइएका सुविधाहरू खोसिएसँगै नगद लाभांश वितरणमा समेत राष्ट्र बैंक उदार देखिएको हो । 

सर्वाधिक खुद नाफा कमाएको राष्ट्र वाणिज्य बैंक यसपालि नगद लाभांश बाँड्ने पक्षमा छैन । उसले गत आर्थिक वर्षमा पाँच अर्ब २१ करोड नाफा आर्जन गरेको छ । तर, नगद लाभांश बाँड्नेभन्दा पनि पुँजी वृद्धिमै केन्द्रित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । उनले भने, ‘हामीलाई पुँजी बढाउनुपर्ने अहिले दबाब छ । त्यसैले यसपालि नगद लाभांश वितरण गरिहाल्ने सोच छैन । तर, हामी छलफल गर्दै छौँ ।’ 

नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ज्ञवाली भने राष्ट्र बैंकले सीमा हटाइसकेको अवस्थामा बैंकहरूले लाभांश वितरण गर्ने बताए । उनले भने, ‘दुई वर्षदेखि नगद लाभांश बाँड्न सकिएको छैन । अब त बैंकहरूले नगद लाभांश बाँड्छन् ।’