मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार २५ शनिबार १९:२२:००
Read Time : > 2 मिनेट
फिचर डिजिटल संस्करण

हिमाल हेर्न हाँडीकोट 

Read Time : > 2 मिनेट
२०७९ असार २५ शनिबार १९:२२:००

सहरको कोलाहल र प्रदूषण छाडेर यहाँ आइपुग्दा मन चंगा जस्तो हुन्छ । यहाँबाट देखिने माछापुच्छ्रे, अन्नपूर्ण,  धौलागिरि जस्ता दर्जनौँ हिमश्रृंखलाको मनमोहक दृश्य देख्न पाउँदा स्वर्गीय आनन्दको अनुभूति हुन्छ । अझ चिसो हावाको स्पर्शले सम्पूर्ण थकान मेटाएर मनमा नयाँ जोस र उमंग भरिदिन्छ । बिहानी सूर्योदयको पहिलो किरणदेखि बेलुकी सूर्यास्तसम्म हिमालले अनेक रंग फेर्छ । तल हरियाली वनजंगल डाँडामा पुग्दा बादलभित्र हराए जस्तो हुन्छ ।  यो दृश्य आफैँमा एउटा सुन्दर कला भएको भान हुन्छ ।  बाग्लुङको जैमिनी नगरपालिकामा रहेको हाँडीकोट टापुबाट देखिने केही दृश्य साँच्चिकै अद्भूत लाग्दछन् ।  

‘आहा ! हाँडीकोट नभनी सुखै छैन
जैमिनीको वडा नं.१० राङखानी, वडा नं. ७ जैदी र वडा नं. ८ छिस्तीको संगमस्थल हाँडीकोट साँच्चिकै सुन्दर छ । त्यहाँ पुगेर ‘आहा ! हाँडीकोट नभनी सुखै छैन । समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोट । वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिरोले ढाकिने र  हिउँदमा हिउँले घुम्टो हाल्दा पनि पर्यटकहरू नियमित पुगेका हुन्छ। विशेषत: बिदाको दिन यहाँ पुग्ने आन्तरिक पर्यटकको घुइँचो नै लाग्छ । 

प्रचारप्रसारको अभावकै कारण प्रकृतिको अनुपम उपहार भएर पनि हाँडीकोटले गाईबाख्रा हेर्ने गोठाला मात्रै भेटेर वर्षौं बितायो । बाइसे चौबीसे राजाका पालामा रहेको दरबार उठेपछि उराठलाग्दो भएको हाँडीकोटले पछिल्लो समय न्याय पाउन थालेको छ । अहिले दैनिक आन्तरिक पर्यटकको रोजाइ बनेको छ । 

हिमालसँग फोटो खिच्न र बादलसँग मितेरी गाँस्छन् पर्यटक
  समथर जमिन, राजदरबारका भग्नावशेष, मन्दिर र शीला सुसज्जित हाँडीकोटमा पुगेर पहाड खोँचमा मडारिएको बादलसँग तस्बिर खिचाउने आजभोलि दिनदिनै हाँडीकोट पुग्छन् । ‘छुट्टीको दिनमा त यहाँ आइरहन मन लाग्छ, यहाँ आएर परिवारसँगै दिनभर रमाइलो गरेर फर्कन्छौँ, कुस्मिसेरा बजारबाट हाँडीकोट घुम्न पुगेका चूडामणि शर्मा भन्छन् । दैनिक आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । हिमालसँग फोटो खिच्न र बादलसँग मितेरी गाँस्नकै लागि यहाँ आए जस्तो हुन्छ । साँच्चिकै रमणीय ठाउँ नै हाँडीकोट हो जस्तो लाग्छ ।’

अझै आर्कषित बनाउन भौतिक संरचना निर्माण
यसअघि पैदलै यात्रा गर्नुपर्ने बाध्यता हटेर सडकले जोडिएपछि हाँडीकोटमा नियमित रूपमा पर्यटक पुग्न थालेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउँछन्। हाँडीकोटको पर्यटन विकास र यसलाई अझै आर्कषण बनाउनका निम्ति भौतिक पूर्वाधार निर्माण गर्न  नगरपालिकाले लगानी बढाएको छ । हालसम्म भ्युटावर निर्माण, प्रतीक्षालय निर्माण, मन्दिर निर्माणका लागि २२ लाख रुपैयाँ खर्च गरिसकेको छ भने यस वर्ष खानेपानी व्यवस्थापनका निम्ति नौ लाख रुपैयाँमा ट्यांकी निर्माण गरिएको उपप्रमुख शर्माले बताए । माथि डाँडामा पानीको स्राेत नभएका कारण झन्डै ५ सय मिटर तल खानेपानीको ट्यांकी निर्माण गरेर लिफ्टिङ प्रविधिबाट माथि लैजाने योजना रहेको छ । आगामी आर्थिक वर्षमा पनि भ्युटावरमा रेलिङ र तारजालीका लागि तीन लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । 

पर्यटकले टापुमै ‘क्याम्प फायर’ गरेर रात बिताउँछन्

नगरपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा व्याडथलादेखि झन्डै १ किमि लामो पदमार्ग पनि निर्माण गरिएको छ । पर्यटकहरू पैदलयात्रा गरेर पनि हाँडीकोट पुग्न थालेका छन्। दक्षिणमा गुल्मी, पूर्वमा पर्वत, उत्तरतर्फ धौलागिरि र अन्नपूर्ण, माछापुच्छ्रेलगायतका दर्जनौँ हिमशृंखला देखिन्छन् । बन्दोबस्तीसहित पुग्ने कतिपय आन्तरिक पर्यटकले टापुमै ‘क्याम्प फायर’ गरेर रात बिताउँछन् । माथि नै बस्ने प्रबन्ध मिलाएकाले सूर्यास्त र सूर्योदयको अवलोकन एकै यात्रामा गर्न सक्छन् ।

पुरातात्विक महत्वको क्षेत्र हाँडीकोट
हाँडीकोट चौबीसे राज्यको पालामा रहेको भुरेटाकुरेमा गनिन्छ । त्यसैले यहाँ पुरातात्विक महत्वका क्षेत्र पनि छन् । भुरेटाकुरे राजारजौटाले प्रयोग गरेका कतिपय सामग्री यहाँ संग्रह गरेर राखिएको छ ।  त्यसका लागि संग्रहालय बनाएर संरक्षण गर्ने नगरपालिकाको योजना रहेको छ । व्याडथला र डाँडाखानीबाट दुई हजार दुई सय मिटर अग्लो हाँडीकोट उक्लेपछि वरपरका सबै बस्तीसमेत देखिन्छन् । हाँडीकोटको नजिकका डाँडाखानी र व्याडथलामा सामुदायिक होमस्टे सञ्चालनमा छ । होमस्टेमा खाना र बस्नका निम्ति राम्रो व्यवस्था छ । होमस्टे बस्न नचाहने पर्यटकका लागि नजिकै नान्दुक बजारमा होटलहरू पनि पर्याप्त मात्रामा छन् । पर्यटन प्रवर्द्धनको उद्देश्य राखेर हरेक वर्ष हाँडीकोट महोत्सवसमेत गरिँदै आएको छ । 

कसरी पुग्ने हाँडीकोट ?
सदरमुकाम बाग्लुङ बजारदेखि तीन घण्टाको मोटरयात्रामा व्याडथला पुग्न सकिन्छ । बाग्लुङ सदरमुकामसँग कुस्मिसेरा बजारसम्मको सडक कालेपत्रे छ । कुस्मिसेरादेखि राङखानी हुँदै जिपमै हाँडीकोट पुग्न सकिन्छ भने सर्कुवा हुँदै व्याडथलाबाट पैदलै हिँडे पनि एक घण्टाभित्रैमा हाँडीकोट पुगिन्छ । पूर्वाधार पनि बन्न सुरु गरेको र प्रचारप्रसार पनि हुन थालेको स्थितिमा पछिल्लो समय हाँडीकोट पुग्ने आन्तरिक पर्यटक बढ्न थालेका छन् ।