मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सौरभ यादव सिराहा
२०७९ असार २२ बुधबार ०८:३५:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

मिटरब्याजीलाई कारबाहीको माग गर्दै  सिराहा र सप्तरीमा पीडितहरूको प्रदर्शन

Read Time : > 2 मिनेट
२०७९ असार २२ बुधबार ०८:३५:००

सिराहाको लहान नगरपालिका– ७ का मिटरब्याजी रामबाबु महतोमाथि कारबाहीको माग गर्दै कब्जा गरेको घरजग्गा फिर्ताको मागसहित लहानस्थित इलाका प्रहरी कार्यालयअगाडि प्रदर्शन भएको छ । ‘मिटरब्याजी रामबाबु महतोलाई कारबाही गर, कब्जा गरेको घरजग्गा फिर्ता गर, निमुखा गरिबको घरजग्गा कब्जा गर्न पाइँदैन’लगायतको नारा लगाउँदै पीडित र उनका आफन्तहरूले मंगलबार दिउँसो करिब १२ बजेदेखि एक घन्टा प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि प्रहरीले मिटरब्याजी भनिएका महतोले अदालतबाट निषेधाज्ञाको आदेश गराएकाले आफूहरूले केही गर्न नसक्ने भन्दै फर्काएको पीडित श्याम विश्वकर्माले बताए । 

लहान– ७ का विश्वकर्माका दाजु हिरालालले ०७१ मा सुनचाँदी पसल सञ्चालनका लागि महतोसँग सयकडा तीन रुपैयाँ ब्याजको दरले सुरुमा दुई लाख र त्यसपछि तीन लाख रुपैयाँ ऋण लिएका थिए । ‘दुई लाख लिने वेलामै १० धुर जग्गा दृष्टिबन्धक भन्दै महतोले लहान १ (क) को ४४५नम्बर कित्ताको १० धुर जग्गा आफ्नो नाममा रजिस्ट्रेसन गराइसकेका रहेछन्,’ उनले भने, ‘त्यसको ६ वर्षपछि ०७७ मा ६० लाख रुपैयाँ पुग्यो, घरजग्गा खाली गर्नू भन्दै दबाब दिन थाले ।’

दाजुले लिएको पाँच लाख रुपैयाँ नतिर्दै बिरामी भएपछि आफैँले कमाएर ब्याजबापत दुईपटक गरी ११ लाख रुपैयाँ बुझाएपछि बाँकी सात लाख रुपैयाँ रहेको उनले बताए । ‘त्यसपछि दुवै मिर्गौला बिग्रिएर दाजुको उपचारका लागि पाँच वर्षअघि १० लाख रुपैयाँ लिँदा महतोले १७ लाख साँबा मात्र भयो भन्ने सुनाएका थिए,’ उनले भने ‘दाजुको निधन भएपछि म आफैँले चलाएको सुनचाँदी पसलबाट कमाएर साँबा ब्याज गरी १३ लाख बुझाएको थिएँ ।’ 

दाजुको निधन भएपछि ०७८ वैशाखमा जग्गा आफ्नो भएकाले उक्त जग्गामा बनेको घर पनि मेरो हो भन्दै जबर्जस्ती खाली गराएर आफूहरूलाई सडकमा पु¥याएको उनको गुनासो छ । ‘मिटरब्याजीविरुद्ध स्थानीय प्रहरी प्रशासनमा उजुरी दिन गृह मन्त्रालयले सूचना जारी गरेपछि पटक–पटक लहान प्रहरीमा गए पनि बेवास्ता गरिहेको छ’ उनले भने ।  

मुद्दा दर्ता गर्न मिल्दैन : प्रहरी
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले ठगीमा परेका विश्वकर्माले आवश्यक प्रमाण जुटाउन नसक्दा प्रहरीले केही गर्न नसकेको बताए । ‘फौजदारी मुद्दा चलाउन नमिल्ने, देवानी अभियोगमा मुद्दा चलाउन प्रहरीले हस्तक्षेप ग¥यो भन्ने पनि होला,’ उनले भने । महतोले उच्च अदालत जनकपुर राजविराज इजलासबाट आफ्नो निजी सम्पत्तिमा दाबी गरेको भन्दै निषेधाज्ञा आदेश ल्याएकाले केही गर्न नसकिएको उनले बताए । 

साहुकार तेलीविरुद्ध जिल्ला अदालतअगाडि निरन्तर प्रदर्शन

साहुकार रामदेव साह तेलीबाट पीडितहरूले मंगलबार पनि धर्ना र प्रदर्शन जारी राखेका छन् । गाउँगाउँबाट आएका पीडितहरूले जिल्ला अदालत राजविराजको मूलढोकामा धर्ना दिएर नाराबाजीसमेत गरेका हुन् । दर्जनौँ स्थानीयसँग चर्को मिटरब्याज लिएर घरबारविहीन बनाउने सप्तरीको खडक नगरपालिका– ७ कल्याणपुर बजारका साहुकार साह र उनका परिवारलाई कारबाही नगरिए अदालतकै अगाडि आत्महत्या गर्ने पीडितहरूले चेतावनी दिएका छन् ।

उनीहरूले हाल फरार रहेका रामदेवलाई अविलम्ब पक्राउ गर्न र पक्राउ परेका उनका छोरा नन्दकिशोर, छोरी अनुराधामाथि कानुनबमोजिम कारबाही हुनुपर्ने माग गरेका छन् । पीडितहरूले साह परिवारसँग लिएको ऋण चर्को ब्याजसहित चुक्ता गरिसके पनि बन्धकी राखेको जग्गा फिर्ता नगरेको भन्दै दिनहुँजसो सदरमुकाम राजविराजमा प्रदर्शन गर्दै आइरहेका छन् । अदालतबाट न्याय नपाए अब आफूहरूसँग अरू कुनै विकल्प नरहेको संघर्ष समितिका संयोजक छेदीलाल पासवानले बताए । विपन्न नागरिकको उठिवास लगाउने मिटरब्याजी रामदेव अझै फरार छन् । 

नयाँ पत्रिकाले समाचार प्रकाशित गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी रामदेवलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएलगत्तै प्रहरीले रामदेवका छोरा नन्दकिशोरलाई गत २७ जेठमा सुनसरीको धरान उपमहानगरपालिका–१९ बाट र छोरी अनुराधालाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको थियो । रामदेवको खोजतलास भइरहेको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीमा उजुरी दर्ता भएपछि मुख्य आरोपित रामदेव, उनकी श्रीमती शिवकुमारी, अर्की छोरी रेणुकुमारी, नाति चन्दनकुमार र धनुषा खरिहानी टोलका कैलाश साह फरार छन् ।