१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १४ मंगलबार १०:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कार्यविधि नबन्दै झलनाथ, बाबुराम र खिलराजले लिए गाडी सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १४ मंगलबार १०:५३:००

कार्यविधि नबन्दै पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा. बाबुराम भट्टराई तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गृह मन्त्रालयबाट गाडी सुविधा लगिसकेका छन् ।

मन्त्रिपरिषदबाटै निर्णय गराएर यस्तो सुविधा दिइएको हो । खनालले गत वर्ष केपी ओली सरकारकै पालामा गाडी लिएका हुन् । त्यस्तै, रेग्मीले ०७८ भदौ र भट्टराईले ०७८ मंसिरमा गाडी लिएको गृह मन्त्रालयको विवरणमा उल्लेख छ । रेग्मीले त सर्वोच्च अदालतबाट पनि गाडी सुविधा लिइरहेका छन् । 

तीनैजनालाई सरकारले करिब ६० लाख रुपैयाँ पर्ने स्कार्पियो गाडी खरिद गरेर दिएको हो । उनीहरूले चालक पनि सरकारी नै लिएका छन् । रेग्मीलाई त अधिकृतस्तरको एक सहयोगीसमेत दिने निर्णय गरिएको छ । ‘मन्त्रालयबाट तीनजनाले गाडी लिनुभएको छ,’ गृहका एक अधिकारीले भने, ‘अरू पूर्वप्रधानमन्त्रीहरूले पनि अन्य निकायबाट सरकारी गाडी लिएका छन् भन्ने सुनिन्छ । 

ठ्याक्कै के हो भन्न सकिन्न ।’ पूर्वप्रधानमन्त्री मात्र नभई पूर्वसभामुख, पूर्वगृहमन्त्रीहरूले समेत गोप्य रूपमा विभिन्न मन्त्रालयका गाडी प्रयोग गर्दै आएको स्रोतको भनाइ छ । सुवास नेम्वाङलगायत केही पूर्वसभामुखले पनि मन्त्रिपरिषद्बाट निर्णय गराएर गाडी, इन्धन, चालकलगायत सुविधा लिँदै आएका छन् ।