मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
उदयपुरको त्रियुगा नगरपालिका–१२ मा रहेको थरूहट रंगशाला जहाँ उदयपुर गोल्डकप आयोजना हुने गर्दथ्यो । तस्बिर : नयाँ पत्रिका
२०७९ असार ६ सोमबार ०८:५४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रायोजक नपाउँदा सातौँ संस्करणको उदयपुर गोल्डकप अलपत्र

Read Time : > 1 मिनेट
२०७९ असार ६ सोमबार ०८:५४:००

प्रायोजक नपाउँदा उदयपुर गोल्डकपको सातौँ संस्करण अलपत्र परेको छ । जेठ ०७६ मा छैटौँ संस्करण सम्पन्न भएपछि प्रायोजक अभावका कारण सातौँ संस्करणको गोल्डकप हुन सकेको छैन । पूर्वनिर्धारित समयमा कोरोना महामारीका कारण रोकिएको र त्यसपछि प्रायोजक नपाउँदा सातौँ संस्करण अलपत्र परेको हो । 

अघिल्ला गोल्डकपहरू पनि चन्दा, प्रायोजक र अनुदानको भरमा भएका थिए । उदयपुर गोल्डकप मूल आयोजक समितिका संयोजक रमाकान्त चौधरी भन्छन्, ‘सातौँ संस्करणको गोल्डकप हुने वेला महामारी आयो । त्यसपछि प्रायोजक नभेटिँदा आयोजना हुनसकेको छैन ।’ पहिलोदेखि छैटौँसम्म आउँदा उदयपुर गोल्डकपलाई विभिन्न कर्पोरेट हाउसलगायतले प्रायोजन गर्दै आएका थिए । चौधरी भन्छन्, ‘उदयपुर गोल्डकप संस्थागत रूपमा चल्न सक्ने भएको छैन, आयोजना गर्नुपरे चन्दा, सहयोग र प्रयोजक नै खोज्नुपर्ने अवस्था छ ।’

उदयपुरका फुटबलरहरूलाई फुटबल क्षेत्रमा आकर्षित गर्ने उद्देश्यका साथ उदयपुर गोल्डकप आयोजना गर्न थालिएको थियो । तर, त्यही गोल्डकप अहिले अलपत्र बनेको खेलकुदप्रेमीहरूको भनाइ छ । जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रञ्जन कार्कीले उदयपुर गोल्डपको स्वामित्व जिल्ला फुटबल संघ उदयपुरले लिनुपर्ने बताए । उनले भने, ‘अब सातौँ उदयपुर गोल्डपकको आयोजक जिल्ला फुटबल संघले गर्छ । सातौँ संस्करण आयोजना हुने वेलामा पनि प्रायोजकको भर पर्नुपर्ने अवस्था अन्त्य गर्न जरुरी छ ।’

जिल्ला फुटबल संघको आयोजनामा हुँदा वैधानिक रूपमा लेखापरीक्षणदेखि सम्पूर्ण अभिलेख राखिने गरेको कार्कीको दाबी छ । उनी भन्छन्, ‘अहिले पहिला–पहिला आयोजना भएका गोल्डकपको अभिलेखसमेत पाउन सकिँदैन, गोल्डकप संस्थागत नै भएको देखिँदैन ।’

उदयपुर गोल्डकपमा राष्ट्रिय टिमका खेलाडी तथा ए–डिभिजन लिगअन्तर्गत रहेका क्लब तथा टिमको सहभागिता हुने गर्दथ्यो । अहिले त्यही गोल्डकप ओझेलमा परेको छ । पहिलो गोल्डकपको मूल आयोजक समितिको संयोजकमा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य तथा पूर्वप्रवक्ता किरण राई थिए । राई भन्छन्, ‘गोल्डकप संस्थागत हुँदै गएको छ । गोल्डकपको छुट्टै समिति छ । कोरोना र प्रायोजकको अभावमा नभएको हो । अब सातौँ संस्करण हुन्छ ।’

त्रियुगा उच्च माध्यमिक विद्यालयको खेलमैदानमा पहिलो उदयपुर गोल्डकप ०६८ सालमा सम्पन्न भएको थियो । जसको एक लाख नगद पुरस्कार राशि थियो । पछि बढ्दै गएर छैटौँमा पाँच लाख पुरस्कार राशि पुगेको थियो । उदयपुर गोल्डकप आयोजना हुन थालेपछि थरूहट रंगशाला निर्माण भएको छ ।   छैटौँ उदयपुर गोल्डकप मूल आयोजक समितिको आयोजनामा त्रियुगा नगरपालिकाको संयोजन, उदयपुर गैँडा छाप सिमेन्टका मुख्य प्रायोजन, जिल्ला खेलकुद विकास समिति उदयपुर, जिल्ला फुटबल संघ उदयपुर, त्रियुगा नगर युवा खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालन भएको थियो ।