१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o८:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जातीय भेदभाव र छुवाछूत अपराधजन्य कार्य हो : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:१६:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछूत सामाजिक रुपमा अनैतिक, अमानवीय र कानुनी रुपमा गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् । उनले शुभकामना सन्देशमार्फत हरेक नागरिकलाई न्याय समानता सहितको मर्यादित जीवनका लागि शुभकामना व्यक्त गरेका छन् । विसं २०६३ जेठ २१ गते नेपाललाई ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको हो । नेपालमा लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएका छन् ।

प्रधामन्त्री देउवाले जातीय भेदभाव र छुवाछूतको व्यवहार एक सभ्य समाजको कलंकका रुपमा रहेको हुँदा प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुनेगरी जीउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित गर्न कानुन नै बनाएर समातामूलक समाज निर्माणको सार्थक प्रयास हुँदै आएको उल्लेख गरेका छन् । 

 मानव सृष्टि र सभ्यताको विकासक्रमसँगै प्रारम्भ भएको विभेद, विकृति र विसंगतीको व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उनले समाजमा विद्यमान धर्म, परम्परा र संस्कृतिका नाममा मानव मानवकै बीचमा जातीय, क्षेत्रीय, लैंगिक विभेदका व्यवहार हुनु आफैँमा एक अपमानजनक कार्य बताए ।

विसं २०५८ साउन ३२ गते छुवाछूत अन्त्य गर्ने प्रतिबद्धता संसद्मा घोषणा गरी सोही वर्ष राष्ट्रिय दलित आयोगको स्थापना भएको हो । मुलुकको राजनीतिक परिवर्तनसँगै २०६३ सालको अन्तरिम संविधानबाट प्रारम्भ गरी नेपालको संविधानमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएको छ । तथापि जातीय भेदभाव र छुवाछूतकै आधारमा दलित समुदायका व्यक्तिको ज्यानै जाने समेतका गम्भीर घटनाहरू हुनु दुःखद् भएको उनले बताए । 

यस्तो परिस्थितिको अन्त्य गर्न सरकार दृढ सङ्कल्पित रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सभ्य र आधुनिक समाज निर्माण गर्ने हामी सबैको दायित्व भएको जनाएका छन् ।

ad
ad