नेपाल भ्रमणमा आएकी जापानकी विदेशमन्त्री कामीकावा योकोले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेकी छिन्।
शीतलनिवासमा आइतबार भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गर्दै कार्बन उत्सर्जन गर्ने विकसित मुलुकहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणका सन्दर्भमा अत्यन्त गम्भीर भइदिन आग्रह गरेका उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेलले गौतम बुद्धको सन्देश प्रवाहित भएदेखि नै नेपाल–जापानबीच सांस्कृतिक सम्बन्ध रहिआएको उल्लेख गर्दै दुई देशबीच समस्यारहीत सम्बन्ध रहेको र नेपालले सधैँ जापानको उच्च सद्भाव महसुस गरेको बताएका थिए।
नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाल र जापानबीचको आर्थिक सहयोग र सहकार्यका क्षेत्रहरू थप विस्तार हुने विश्वास व्यक्त गरे।
सो अवसरमा जापानी विदेशमन्त्री योकोले जलवायु परिवर्तनको असरबारे जापान पनि चिन्तित रहेको उल्लेख गर्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको बताइन्।
उनले सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पुर्याउने लक्ष्य राखेको बताउँदै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वैकल्पिक ऊर्जाको प्रयोगका निम्ति प्रविधिमा ठूलो क्रान्ति गर्न सबै मिलेर अघि बढ्ने उल्लेख गरिन्। नेपालको विकास र स्थिरता यो क्षेत्रकै लागि आवश्यक रहेको महसुस गर्दै उनले जापानले नेपालको विकासमा हरतरहको सहयोग गर्ने बताइन्।