बुढीगंगाको मतगणना सुरु गर्न माग गर्दै एमालेद्वारा विरोध प्रदर्शन

शुक्रबार, १३ जेठ, २०७९
डिजिटल संस्करण

बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनलाई निर्वाचन आयोगले जनताको जनमतविरुद्ध निर्णय गरेको भन्दै नेकपा एमाले बाजुराले विरोध प्रदर्शन गरेको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना नगरी पुनः निर्वाचन गराउने निर्वाचन आयोगको निर्णयप्रति एमालेले बाजुरामा विरोध प्रदर्शन गरेको नेकपा एमाले बाजुराले बताएको छ ।

निर्वाचन आयोग नेपालले जेठ १२ गते बिहीबार बुढीगंगा नगरपालिकाभरिको निर्वाचनलाई रद्द गरेर पुनः निर्वाचन गराउन विज्ञप्ति निकालेको छ । नेपाली कांग्रेसले २, ३, ५ र ९ नम्बरमा नेकपा एमालेले बुथ कब्जा गरेको आरोप लगाउँदै आएको छ भने नेपाली कांग्रेसले ४ र ७ नम्बरमा बुथ कब्जा गरेको आरोप एमालेको छ । नेकपा एमालेले जनताले गरेको मतदानको कदर गर्दै यथाशीघ्र मतगणना हुनुपर्ने माग राख्दै आएको छ ।  कांग्रेसले पुनः  निर्वाचनको माग राखेको थियो ।

एमाले कार्यकर्ता साफे–मार्तडी सडक अवरुद्ध गर्दै दिनेश थपलिया मुर्दावाद, निर्वाचन आयोग मुर्दावाद, परमादेशी सरकार मुर्दावाद, जिल्ला प्रशासन कार्यालयमा मुर्दावादलगायतका नारासहित सडकमा उत्रिएका छन् । उनीहरूले डाव बजार, मालिका बजार, रिठा बजार, बेतालमाण्डौ बजारमा चक्काजाम सुरु गरेका छन् । त्यसैगरी, भमक बाजार, बाम्का बजार, फालासेन बजार, ताँप्रिसेरा बजार र बल्दे बजारमा समेत चक्काजाम गरेका छन् ।
 

सुझावित समाचार