१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
सुल्तान बराकत
२०७९ जेठ १ आइतबार ०९:३७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इजरायललाई फौजदारी अदालतमा उभ्याउनुपर्छ 

Read Time : > 2 मिनेट
सुल्तान बराकत
२०७९ जेठ १ आइतबार ०९:३७:००

विश्व समुदायले इजरायलको दण्डहीनता तोड्न पहलकदमी लिँदैनन् भने हामीले इजरायली अतिक्रमणको असली चेहरा र त्यहाँ विद्यमान अपर्थाइडको खुलासा गर्ने ‘अपराध’ गरेका अन्य धेरै पत्रकारको शोक मनाउनुपर्ने अवस्था निम्तिनेछ

कब्जा गरिएको वेस्ट बैंकमा अलजजिराकी पत्रकार सिरिन अबु अक्लेहको त्रासदीपूर्ण हत्या प्यालेस्टिनीमाथि भइरहेको अत्याचारलाई खुलासा गरिरहने पत्रकारलाई चुप लगाउने हत्कण्डाको पछिल्लो कडी हो । जब अक्लेहलाई उनको अनुहारमा ताकेर गोली हानेर हत्या गरिएको थियो, तब उनले प्रस्ट रूपमा प्रेस लेखिएको भेस्ट र हेल्मेट पहिरिइरहेकी थिइन् । र, उनी आफ्ना सहकर्मीसँग थिइन् । उनका नजिक एकजना पनि सशस्त्र प्यालेस्टिनी लडाकु थिएनन् । यो सब त्यहाँ उपस्थित साक्षी र खिचिएको भिडियोले प्रमाणित गरेको छ ।  

इजरायलले तुरन्तै अक्लेह कुनै प्यालेस्टिनी लडाकुको गोलीले मारिएकी वा भिडन्तमा परेकी हुन सक्छिन् भनेर दाबी गर्दै सो घटनालाई तोडमरोड गर्ने स्वाभाविक प्रयास गर्‍यो । निःसन्देह अक्लेह भिडन्तमा मारिएकी होइनन् भन्ने हामीलाई थाहा छ । उनी कुनै ‘गल्ती’ले मारिएकी होइनन् । उनको हत्या प्यालेस्टिनी जनताको आवाज दबाउन, पत्रकारलाई विचलित पार्न र सत्य लुकाउनका निम्ति नियतवश गरिएको हत्या हो । अक्लेहको हत्याको आधार मौजुदा पर्याप्त प्रमाण मात्र नभई एक चलिआएको शृंखलाकै पछिल्लो कडी हो । अलजजिराकी वरिष्ठ पत्रकार अक्लेह प्यालेस्टिनी संघर्षको रिपोर्टिङ गरेको ‘अपराध’का कारण मारिने, घाइते हुने वा सताइने पहिलो पत्रकार होइनन् । 

सन् २०१८ मा ग्रेट मार्च अफ रिटर्न प्रोटेस्टको समाचार कभरेजका लागि गएका अहमेद अबु हुसेन र यासेर मोर्ताजालाई पनि इजरायली स्नाइपरबाट गोली हानी हत्या गरिएको थियो । मुआथ अमरनेह र नेडाल इस्तेया क्रमशः सन् २०१९ र २०१५ मा स्नाइपर आक्रमणबाट सख्त घाइते भएका थिए । केही वर्षयता बसिल फराज, फडेल साना, हुस्सम सलामा, इमाद अबु जहरा, इस्साम तिल्लावी, खालेद रेयाध हमाद, महमुद अल–कुमी, मोहमेद अबु हलिमा र कैयौँ अन्य पत्रकार पनि इजरायली सत्ताबाट प्रताडित छन् । र, इजरायलले अलजजिरा र द एसोसिएटेड प्रेसका कार्यालय भएका ११ तले अल–जाला भवन र अन्य मिडिया संस्थाका भवनमा बम वर्षा गराएको एक वर्ष पुगिसकेको छ । पत्रकारलाई निसाना बनाउनु र त्यसबाट उन्मुक्ति पाउनु इजरायलका लागि एक स्थापित इतिहास बनेको छ । तर, अरब जगत्मा प्यालेस्टाइनका घटनाक्रमको वस्तुगत एवं ठोस जानकारी प्रवाह गर्ने चर्चित पत्रकार सिरिन अबु अक्लेहको हत्याले यो इतिहासलाई परिवर्तन गर्न सक्छ र गर्नुपर्छ । 

यो हत्याको गाम्भीर्यलाई हेर्ने हो भने यसमा जिम्मेवारलाई न्यायको कठघरामा उभ्याइनुपर्छ अर्थात् सनाइपरको ट्रिगर दबाउने मात्रै नभई यस्ता अत्याचार गराउने शक्ति र प्राधिकरणलाई पनि न्यायिक छानबिनमा ल्याइनुपर्छ । अक्लेहलाई न्याय दिलाउने काम सहज छैन । इजरायललाई अक्लेहजस्ता पत्रकारलाई मात्रै नभई सबै प्यालेस्टिनीविरुद्ध गरिएका अपराधका लागि जवाफदेही बनाउन विश्व समुदायको अन्तर्राष्ट्रिय अनुसन्धान र प्रतिबद्धताको आवश्यकता छ । अक्लेह हत्यामा गरिने अनुसन्धानमा इजरायललाई जुनसुकै ढंगले पनि समावेश गर्दा हामी कहीँ पनि पुग्दैनौँ । प्यालेस्टिनी जनताले इजरायल सम्मिलित भएको अनुसन्धानले हत्याकाण्डलाई नामेट पार्ने प्रयास भनेर हेर्नेछन् किनभने इजरायलको प्यालेस्टिनीविरुद्ध गरिने उत्पीडन र हिंसालाई जायज ठहर्‍याउने गरी लामो इतिहास निर्माण भएको छ । र, अक्लेह हत्या मामिलामा सत्यलाई तोडमरोड गर्ने र उनको हत्याका लागि प्यालेस्टिनीलाई नै जिम्मेवार ठहर्‍याउनुले इजरायलले हत्याको जिम्मेवारी लिनेछैन भन्ने स्पष्ट छ ।    

यही २५ अप्रिलमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले अप्रिलमै अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएपÞmजे) ले इजरायल राज्यविरुद्ध गरेको उजुरीको औपचारिक संज्ञान लिएको छ । सो उजुरीमा प्यालेस्टाइनमा कार्यरत पत्रकारमाथि इजरायलको प्रणालीगत आक्रमण र युद्ध अपराध ठहरिने गरी भएको सञ्चार श्रमिकको हत्याको सही ढंगले अनुसन्धान गर्न असफल रहेको उल्लेख गरिएको छ । मृतक पत्रकार अक्लेहलाई न्याय दिन र उनका सहकर्मीमाथि गरेको इजरायलको प्रणालीगत उत्पीडनको अन्त्य गर्न आइसिसीजस्तो निष्पक्ष अन्तर्राष्ट्रिय संस्थालाई मात्र विश्वास गर्न सकिन्छ त्यसैले महासंघले अबु अक्लेहको हत्यालाई माथि उल्लिखित मुद्दामा तुरुन्तै जोड्नुपर्छ । पत्रकारमाथि प्रणालीगत हिसाबले निसाना साधिनु अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन हो र यी आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनअनुसार नै हेरिनुपर्छ । यस सन्दर्भमा यदि विश्व समुदाय इजरायलको दण्डहीनतालाई तोड्न कुनै पहलकदमी लिँदैनन् भने हामीले इजरायली अतिक्रमणको असली चेहरा र त्यहाँ विद्यमान अपर्थाइड (संरचनागत नश्लभेद) को खुलासा गर्ने ‘अपराध’ गरेका अन्य धेरै पत्रकारको शोक मनाउनुपर्ने अवस्था निम्तिनेछ ।

सिरिन अबु अक्लेह एक प्यालेस्टिनी आदर्श थिइन् । एक सम्मानित पत्रकार, जसले प्यालेस्टाइनको कथावस्तु भन्ने काम र त्यहाँका आवाजविहीनलाई आवाज दिनुलाई आफ्नो कर्तव्य ठानेकी थिइन् । उनले गुणस्तरीय पत्रकारिता, निष्ठा र लगनशीलताको विरासत छाडेर गएकी छिन् । प्यालेस्टिनी र बृहत् विश्व समुदायले उनका हत्यारालाई न्यायको कठघरामा ल्याउने र पत्रकारलाई निसाना बनाउने व्यवस्थालाई विघटन गर्ने प्रत्याभूति गरेर मात्रै उनको स्मृतिको सम्मान हुन सक्छ । 

अल जजिराबाट 

(बराकत दोहा इन्स्टिच्युटको सेन्टर फर कन्फ्लिक्ट एन्ड ह्युम्यानिटेरियन स्टडिजका निर्देशक हुन्)