Skip This
गर्भपतन विवाद : द्वन्द्वको पूर्वसंकेत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
फरिद जकारिया
२o८१ बैशाख २८ शुक्रबार o८:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

गर्भपतन विवाद : द्वन्द्वको पूर्वसंकेत

Read Time : > 2 मिनेट
फरिद जकारिया
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o८:o६:oo

अमेरिकामा ‘रो’ विरुद्ध ‘वेड’ फैसला उल्टिने सम्भावना बढ्दै गएको छ र ऊ सांस्कृतिक युद्धको अर्को चरणको तयारीमा छ । अमेरिकामा मूल्य–मान्यताको द्वन्द्व अरू ठाउँको तुलनामा किन बढी चर्को देखिन्छ र विरोधी समूह अन्य ठाउँको तुलनामा किन बढी विभाजित छन् भनेर अन्योलमा छु ।यसको एउटा कारण सन् २०२० को ‘प्यु रिसर्च सेन्टर’को सर्वेक्षणमा फेला पर्न सक्छ, जहाँ सांस्कृतिक मुद्दामा सर्वेक्षण गरिएका धनी मुलुकमध्ये अमेरिकामा राजनीतिक विभाजन सबैभन्दा फराकिलो थियो ।

मुलुकले ‘आफ्नो परम्परा र जीवनशैलीलाई कायम राखेमा भविष्यमा अझ राम्रो हुन्छ’ भनेर प्रश्न गर्दा ५९ प्रतिशतको भिन्नता आउने गरी ‘हुन्छ’ भन्नेतर्फ ६५ प्रतिशत प्रतिक्रिया थिए भने ‘हुन्न’ भन्नेतर्फ ६ प्रतिशत प्रतिक्रिया थिए । फ्रान्समा यो आँकडाको भिन्नता १९ प्रतिशतको थियो । इसाई हुनु भनेको देशको नागरिकको प्रमुख गुण हो भनेर प्रश्न गर्दा अमेरिकामा २३ अंकको भिन्नता थियो भने बेलायतमा केवल सात अंकको थियो ।

यी मनोवृत्ति सन् २०१८ को प्युको अध्ययनमा पनि बाहिर आएको थियो, जहाँ २७ धनी राष्ट्रमा मानिसलाई आफ्नो समाजमा धर्मले ठूलो भूमिका खेल्नुपर्छ कि पर्दैन भनेर प्रश्न गरिएको थियो । अमेरिकामा पुरातनपन्थी भनेर चिनिने ७१ प्रतिशत मानिसले ‘हुन्छ’ भनेका थिए, जबकि २९ प्रतिशत उदारवादी मात्र सहमत थिए । यहाँको ४२ प्रतिशतको भिन्नता अध्ययन गरिएका अन्य मुलुकभन्दा धेरै नै माथि थियो । यो अन्तर अमेरिकापछिका उच्चतम रेकर्ड भएका मुलुक क्रमशः क्यानडा र पोल्यान्डमा विश्लेषण गरिएको भन्दा १७ अंकले बढी थियो र स्विडेन र जर्मनीका सन्दर्भमा अन्तरभन्दा लगभग चार गुणा बढी थियो ।

अमेरिका किन असाधारण ढंगले ध्रुवीकृत छ ? यस प्रश्नको जवाफ गाह्रो छ । विश्वव्यापीकरण, प्राविधिक परिवर्तन, आप्रवासनलगायत कारक अन्य पश्चिमा समाजमा पनि देखिएका छन् । वास्तवमा यदि तपाईं मुलुकको अर्थतन्त्रमा व्यापारको आकारलाई एक मापदण्डका रूपमा प्रयोग गर्नुहुन्छ भने अमेरिका धेरै युरोपेली मुलुकभन्दा कम विश्वव्यापी छ । आप्रवासनका मामिलामा पनि ध्रुवीकृत नै हुनुपर्ने अवस्था छैन अर्थात् क्यानडा र स्विडेनमा अमेरिकाको तुलनामा आफ्नो समाजमा विदेशमा जन्मेका मानिसको ठूलो हिस्सा छ । र, प्रविधिले सबै ठाउँमा काम गरिनै रहेको छ । 

प्रतिष्ठित सामाजिक वैज्ञानिक रोनाल्ड इंगलहार्टले आफ्नो पुस्तक ‘रिलिजन्स सडन डिक्लाइन’मा माथिको प्रश्नको एक उत्तर दिएका छन् । इंगलहार्टले हाम्रो समयको सबैभन्दा उल्लेखनीय सांस्कृतिक परिवर्तन अधिकांश मुलुकमा धार्मिकतामा आएको गिरावट हो भन्ने औँल्याएका छन् । जब इंगलहार्ट र सहकर्मी पिप्पा नोरिसले सन् १९८१ देखि २००७ सम्म धर्मप्रतिको मनोवृत्तिमा आएको सर्वेक्षण आँकडाको विश्लेषण गरे, तब अधिकांश मुलुक बढी धार्मिक भएको पाएका थिए । तर, सन् २००७ देखि २०२० मा बहुसंख्यक मानिस कम धार्मिक देखिए ।

अमेरिकामा चलिरहेको हालको गर्भपतन अधिकारको लडाइँ भविष्यका अन्य ठूला द्वन्द्वको पूर्वसंकेत हुन सक्छ

अमेरिका भने अपवाद रह्यो, अर्थात् लामो समयदेखि अमेरिकाले धनी एवं विकसित मुलुक अझै पनि धार्मिक हुन सक्छन् भन्ने देखाएको छ । यद्यपि, पछिल्ला वर्षमा अमेरिकाले नाटकीय रूपमा धार्मिकताको पथलाई उल्ट्याउँदै आएको छ । ‘अमेरिकाले सन् २००७ देखि तथ्यांक भएका अन्य मुलुकको तुलनामा छिटो धर्मनिरपेक्षीकरण गरिरहेको छ,’ इंगलहार्टले भने, ‘एक मान्यता प्राप्त मानकबाट हेर्दा अमेरिका हाल विश्वको १२औँ सबैभन्दा कम धार्मिकता भएको देशमा पर्छ ।’
इंगलहार्टको धर्मनिरपेक्षताको यस प्रक्रियाका धेरै कारण छन्, जसमा मुख्यतया नियन्त्रण संयन्त्रको समूह मापदण्डको पतन र व्यक्तिवादको उदयसँग सम्बन्धित छ । तर, यहाँ चाखलाग्दो पक्ष के छ भने अमेरिकामा धर्मनिरपेक्षीकरण र ध्रुवीकरण एकै समयमा भइरहेको छ । अमेरिका द्रुत रूपमा धर्मनिरपेक्षतातर्फ बढे पनि सो प्रक्रियामै कडा प्रतिक्रिया झेलिरहेको छ । अर्थात् ठूला परिवर्तनले ठूला प्रतिक्रिया निम्त्याएको छ ।

 यसमा अन्य कारक पनि छन् । अमेरिकामा साबिकबमोजिम नश्ल सम्बन्धले महत्वपूर्ण भूमिका पनि खेलेको छ । यो एउटा अर्को क्षेत्र हो, जहाँ सन् २०२० को प्यु सर्वेक्षणले झैँ भिन्नता अन्य मुलुकको तुलनामा धेरै रहेको छ । यो सबले नयाँ वास्तविकतालाई विशेष रूपमा दर्साउँछ अर्थात् तपाईंले औसत आँकडा हेरेर अमेरिकालाई वास्तवमा बुझ्नै सक्नुहुन्न । अमेरिका दुई मुलुकले बनेको छ । पहिलो सहरी क्षेत्र हो, जसले शिक्षित, बहुजातीय, धर्मनिरपेक्ष र उदार विचारतर्फ झुकाव राख्छ भने दोस्रो हो, ग्रामीण क्षेत्र, जहाँका मानिस कम शिक्षित, धार्मिक र गोरा छन् तथा दक्षिणपन्थी झुकाव राख्छन् ।

इंगलहार्ट र अध्येता क्रिस्चियन बेल्जेलसँग एक सांस्कृतिक नक्सा छ, जसले मूल्य–मान्यताका आधारमा मुलुकको खाका बनाउँछन् । सन् २०२० सम्ममा अमेरिका पश्चिमा संसारका लागि एक अपवाद हो, जहाँ अमेरिका स्विडेन र डेनमार्कभन्दा उरुग्वे र भियतनामजस्ता मुलुकको दाँजोमा आउँछ । यदि अमेरिकालाई निलो र रातो गरी दुई मुलुकमा विभाजित गरिन्छ भने निलो अमेरिका उत्तरी युरोपेली प्रोटेस्टेन्ट मुलुकनजिक हुनेछ भने रातो अमेरिकाको सांस्कृतिक आदर्शका कारण नाइजेरिया र साउदी अरेबियाको नजिक पुग्नेछ ।देशको राजनीतिक भविष्यका लागि के यी दुई अमेरिका सँगै बाँच्न, सहकार्य गर्न र सहनशील हुन सक्छन् ? होइन भने हालको गर्भपतनको लडाइँ भविष्यका अन्य ठूला द्वन्द्वको संकेत हुन सक्छ ।
द वासिंगटन पोस्टबाट
 

ad
ad