
दुई सानी छोरीको बुबाका नाताले टिकटकमा प्रतिबन्ध लाग्दा म निकै खुसी हुनेछु । डरलाग्दो गरी कुलतमा फसाउने यो एपका १५ करोड अमेरिकी प्रयोगकर्ता छन् । यो एपलाई अमेरिकाका तीनमध्ये दुई किशोर–किशोरीले प्रयोग गर्छन् । तर, जब म प्रतिबन्धलाई घोत्लिएर हेर्छु, तब चिन्तित हुन्छु । र, जब टिकटकलाई अमेरिकी सरकारले प्रतिबन्ध लगाउने अधिकार दिने विधेयक ल्यायो, म भयभीत भएको छु ।
वास्तवमा यो अर्वेलियन (अत्यधिक नियमनकारी) विधेयकले सबै अमेरिकीलाई सशंकित बनाउनुपर्ने हो । टिकटकमा प्रतिबन्ध लगाउनुका पछाडिको तर्क प्रस्ट छ । यो एप चिनियाँ कम्पनीको स्वामित्वमा छ र एप चिनियाँ सरकारको निर्देशन मान्न बाध्य हुनेछ । उसो त चिनियाँ सरकारले एपलाई आफ्नो निर्देशन मान्न बाध्य पारेको भन्ने कुनै प्रमाण छैन, तथापि यो चासो स्वाभाविक हो ।
टिकटकले कस्तो क्षति पुर्याउन सक्ला त ? पहिलो त यसले प्रयोगकर्ताको सूचना संकलन गरेर त्यसलाई बेइजिङ पठाउन सक्छ । तर, बेइजिङले सूचना नै चाहेको हो भने अन्य कैयौँ उपायबाट पनि सूचना पाउन सक्छ । प्रायः सबै एपले कुनै न कुनै किसिमको व्यक्तिगत सूचना संकलन गर्छन् र यी सूचनाको अनधिकृत पहुँच (ह्याक) बाट सूचना तेस्रो पक्षको हात लागि नै हाल्छ ।
टिकटकमा प्रतिबन्ध लगाउने हो भने किताब वा पर्चा बाँड्ने चिनियाँ मिडियालाई पनि प्रतिबन्ध लगाउनुपर्ने हुन्छ
सूचनाको अनधिकृत चुहावट र दुरुपयोग रोक्न हामीसँग टिकटक प्रतिबन्धभन्दा धेरै उपयुक्त उपाय छन् । हामीलाई विस्तृत सूचना गोपनीयता कानुनको आवश्यकता छ, जसले सबै अमेरिकीको सूचनाको रक्षा गरोस् र जनतालाई एप कम्पनीलाई व्यक्तिगत सूचनाको प्रयोग, दुरुपयोग र बिक्री गर्न बन्द गराउने अख्तियारी देओस् । दुर्भाग्य, ठूला प्रविधि कम्पनीलाई नियमन गर्ने कानुन बनाउनुभन्दा चीनतर्फ औँला तेस्र्याउनु सजिलो छ ।
मैले संवाद गरेका अधिकांश प्रविधिविज्ञले सबै सूचनालाई अमेरिकामै भण्डारण गर्ने र नियमन गर्ने व्यवस्था गर्दा सूचनाको चुवाहट रोकिने बताएका छन् । टिकटकले पनि यो व्यवस्थालाई सहजै स्विकार्ने प्रतिबद्धता जनाइसकेको छ । गुगल र अन्य अमेरिकी एपले युरोपमा यस्तै प्रकृतिका नियम मान्ने व्यवस्था गरेका छन् । अथवा योभन्दा पनि उपयुक्त व्यवस्था लागू गर्न सकिन्छ ।
टिकटकले आफ्नो मञ्चबाट अमेरिकाविरोधी सूचना फैलाउने र एप चिनियाँ प्रोपगन्डा फैलाउने साधन बन्ने भ्रम अमेरिकीमाझ व्याप्त टिकटकसम्बन्धी अर्को भय हो । त्यसो हो भने चिनियाँ मिडिया कम्पनीले चलाउने केबल समाचार च्यानलमा अमेरिकाविरोधी समाचार आउने गर्छन्, त्यो अवस्थालाई कसरी लिने त ? चिनियाँ समाचार च्यानल अमेरिकामा वैधानिक हो भन्ने हामी सबैलाई थाहा छ ।
अमेरिकाले चीनको सिसिटिभी वा कतारको अलजजिरा च्यानलमा प्रतिबन्ध लगाएको छैन । यदि हामीले टिकटकमा प्रतिबन्ध लगायौँ भने हामीले किताब वा पर्चा बाँड्ने चिनियाँ मिडियालाई पनि प्रतिबन्ध लगाउनुपर्ने हुन्छ । के हामी चिनियाँ भिडियो गेम कम्पनीलाई पनि प्रतिबन्ध लगाउँछौँ ? एक खुला समाजको न्यूनतम आधार भनेकै मानिसले जुन सूचना आफूलाई जताबाट लिन मन लाग्छ, त्यसलाई ग्रहण गर्ने छुट हुनुपर्छ र हामी हाम्रा छनोटमा बलिया छौँ ।
यदि विधेयक पारित भएमा ‘चीनजस्ता विदेशी प्रतिद्वन्द्वीको स्वार्थ रहने कम्पनी अथवा चीनजस्ता विदेशी प्रतिद्वन्द्वी मुलुकमा कुनै न कुनै किसिमले सञ्चालन हुने कम्पनी’मा समेत प्रतिबन्ध लगाउन मिल्ने बाटो खुल्नेछ भन्दै निष्पक्ष सिनेटरको एक समूहले चिन्ता व्यक्त गरेको छ । यदि विधेयक पारित भएमा र कुनै प्रविधि वा सूचनासँग सम्बन्धित कम्पनीले ‘अमेरिकी राष्ट्रिय सुरक्षा वा अमेरिकी जनताको सुरक्षामा अनुचित वा अस्वीकार्य जोखिम गराउँछ’ भन्ने अमेरिकी सरकारलाई लागेमा दण्डित गर्ने सामथ्र्य राख्नेछ अर्थात् व्यवहारतः अमेरिकी सरकारले निरंकुश शक्ति हासिल गर्नेछ ।
हामी यस्तो समयमा बाँचिरहेका छौँ, जहाँ अमेरिकाका राज्य सरकार सयौँ संख्यामा पुस्तकमा प्रतिबन्ध लगाइरहेका छन्, जहाँ अभिव्यक्तिलाई हतियारका रूपमा हेरिएको छ र नेता खुल्लमखुला तथाकथित घातक विचारमा प्रतिबन्ध लगाउने भन्दै भाषणबाजी गरिरहेका छन् । हालै फक्स न्युजका प्रस्तोता लौरा इनग्राहमले टिकटकविरुद्ध विषवमन गरेकी थिइन् । तर, उनले विषवमन गरिरहँदा फक्सको पूर्व–मूल कम्पनी न्युज कर्पलाई अन्य विदेशी स्वामित्वको मिडियामा लाग्ने नियमनमा छुट दिइएको थियो । न्युज कर्पका संस्थापक रुपर्ट मुर्डोकले अमेरिकी जनताले जुनसुकै मुलुकबाट आएको भए पनि सूचनामा बेरोकटोक पहुँच पाउनुपर्ने भन्दै विदेशी मिडियामाथिको नियमन नै आवश्यक नरहेको बताएका थिए ।
म बाइडेन प्रशासनले चीनसँग गरिरहेको प्रतिस्पर्धाका कैयौँ प्रयासलाई समर्थन गर्छु । म बाइडेन प्रशासनले मुलुकमै लगानी गर्ने र उत्पादन गर्ने नीति, गठबन्धन निर्माण गर्ने काम, चीनलाई उच्च प्रविधिको पहुँचमा पुग्न नदिनका लागि ल्याइएको सैन्य अवरोधको समर्थन गर्छु । तर, यति भन्दै गर्दै अमेरिकाको दशकौँदेखिको सफलता र गतिशीलताको श्रेय यहाँको खुलापन, नवप्रवर्तन तथा विचार, उत्पादन र सेवाको प्रतिस्पर्धालाई नै जान्छ । यही कारण हाम्रो प्रविधि बन्द समाजबाट आउने प्रविधिभन्दा उन्नत छ । हामीले एक चिनियाँ एपलाई लिएर आफ्नो आत्मविश्वास गुमाउनुहुँदैन ।
चीन पनि आर्थिक रूपमा खुला भएका कारण हामीजस्तै हुनेछ भन्ने विश्वास गरेका थियौँ । तर, हामी आफैँ अहिले कता पुग्यौँ ? हामीले ठूला उद्योगलाई भारी अनुदान दिँदै केन्द्रीय आर्थिक योजना अपनाइरहेका छौँ र अहिले सूचनाको निर्बाध प्रवाहलाई रोक्ने अत्याचारी कानुन निर्माण गर्न उद्यत भइरहेका छाैँ । अब त हामी बिस्तारै चीनजस्तै भइरहेको प्रतीत हुन्छ ।
(जकारिया वासिंटन पोस्टका स्तम्भकार हुन्) द वासिंटन पोस्टबाट