१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २३ आइतबार o७:३५:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

किसानले रोके महालक्ष्मीको चिनी

Read Time : > 2 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:३५:oo

उखुको भुक्तानी नपाएका किसानले महालक्ष्मी चिनी उद्योगको चिनी बजारमा पठाउन दिएका छैनन् । गोडैता नगरपालिकाको बगदहमा सञ्चालनमा रहेको महालक्ष्मी चिनी उद्योगले आफूहरूको करोडौँ भुक्तानी नगरेको किसानको गुनासो छ । उखु खरिदको समयमा १० दिनभित्र भुक्तानी गर्ने प्रतिबद्धता गरेको उद्योगले किसानको १२ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको छैन । 

पटक–पटक ताकेता गर्दा पनि उद्योगले भुक्तानी नदिएको उखु किसान राजकिशोर महतोले बताए । उद्योगले उखुको पैसा नै नदिने हो कि भन्ने चिन्तामा किसान परेका छन् । किसानलाई उखुको भुक्तानी नदिएको उद्योगले धमाधम चिनी बिक्री गरिरहेको थाहा पाएपछि किसानहरू उद्योग परिसरमा जम्मा भएका थिए । किसानहरूले चिनी लोड गरेका तीनवटा ट्रकसमेत नियन्त्रणमा लिएका थिए । किसानहरूले नियन्त्रणमा लिएका ना.६ख २१७३, ना.५ख ७३८७ र प्रदेश २–००३–००१ ख ३०५७ नम्बरको ट्रकमा चार सय २० बोराका दरले ६३ टन चिनी बजारमा पठाउन लागेको फेला परेको हो । उद्योगमा मौज्दात उत्पादनको विवरणसमेत उद्योगले सार्वजनिक गरेको छैन । यसले किसान थप सशंकित भएका छन् ।

किसानको उखुको भुक्तानी नगरी चिनी निकासी गर्न नदिने भन्दै किसानहरू आन्दोलित भएपछि उद्योगले चिनी फेरि उद्योगको गोदाममा अनलोड गराएको छ । उखु नपाएपछि घरघरमै गएर उखु किनेको १० दिनमै भुक्तानी गर्ने बताएको उद्योगले फेरि किसानलाई गुमराहमा राखेर ठगी गर्न खोजेको किसानहरूको आरोप छ । आठ हजार क्विन्टलभन्दा बढी उखु बेचेका किसान राजकिशोरले उद्योगसँग ११ लाख रुपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको बताए । 

१२ करोड भुक्तानी गर्न बाँकी
उखु किसानको १२ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको उद्योगका उखु प्रबन्धक सियाराम साहले जानकारी दिए । यसमध्ये चार करोड रुपैयाँ भुक्तानीको तालिका उद्योगले प्रकाशन गरिसकेको प्रबन्धक साहले बताए । सुरु–सुरुमा किसानसँग उखु खरिद गरेको १० दिनभित्र भुक्तानी गरेको उनको भनाइ छ । पछिल्लो समय भुक्तानीमा ढिलाइ भएको उनले स्वीकार गरे । उद्योगपतिहरूबाट छिटै भुक्तानी गर्ने तयारी भइरहेको उनले बताए । तर, यति नै समयमा भुक्तानी हुन्छ भन्ने यकिन गर्न सकेनन् । ‘किसानको बाँकी रहेको पैसा भुक्तानीको तालिका बन्दै छ । केही दिनमा पैसा आउँछ,’ प्रबन्धक साहले भने, ‘किसानहरू आएर चिनी लैजान नदिएपछि उनीहरूको सहमतिमा हामीले गोदाममै चिनी राखेका छौँ । भुक्तानी पनि गर्दै जाने र चिनी पनि बिक्री गर्ने किसानसँग सहमति भएको छ ।’

किसानले पर्याप्त उखु नदिएपछि महालक्ष्मी चिनी उद्योगले आठ लाख ३८ हजार क्विन्टल उखु क्रसिङ गरेर उद्योग बन्द गरेको थियो । उद्योग निकै ढिला गरी सञ्चालन भएको र किसानले उखुसमेत निकै कम लगाएका कारण पर्याप्त मात्रामा उखु नपाएको उद्योग प्रशासनले जनाएको छ । किसानको भुक्तानी दिन नसकेपछि गत तीन सिजन बन्द रहेको धन्कौलको अन्नपूर्णले समेत यस सिजनमा थोरै मात्र उखु क्रसिङ गरेको थियो ।

जिल्लामा महालक्ष्मी चिनी उद्योग बगदह, अन्नपूर्ण चिनी उद्योग धन्कौल र इन्दु शंकर चिनी उद्योग हरिवन गरेर तीनवटा उद्योग सञ्चालनमा रहेका थिए । यसमध्ये हरिवनको इन्दु शंकर चिनी उद्योगले तालिकाअनुसार नियमित किसानको भुक्तानी गर्ने गरेको छ । विगतको वर्षभन्दा यस वर्ष जिल्लामा उखु उत्पादन ३० देखि ३५ प्रतिशतले घटेको जिल्लास्थित कृषि ज्ञानकेन्द्र स्रोतले जनाएको छ ।

क्रसिङ सकिएसँगै उद्योगका कर्मचारी बेपत्ता
उद्योगले फागुन २२ गते यस सिजनको क्रसिङ बन्द गरेको थियो । त्यसलगत्तै उद्योगमा कर्मचारी भेटिन छाडेका छन् । उखुको भुक्तानी माग्न उद्योग पुगेका किसान यसै फर्किन बाध्य हुनुपरेको छ । प्रत्येकपटक उद्योगमा जाँदा कोही पनि नभेटिने गरेको उखु किसान धर्मेन्द्र कुशवाहले बताए । ‘मैले उखु बेचेको ८०–९० हजार रुपैयाँ पाएको छैन,’ उनले भने, ‘यहाँ धाएको कैयौँपटक भइसक्यो । हाकिम छैनन् भन्छन् । कहिले केही दिनभित्रमा पैसा खातामा आउँछ भनेर भन्छन् । तर, पैसा 
पाएको छैन ।’ 

यसपटक महालक्ष्मी चिनी उद्योगमा उखु बेचेकोमा उनी पछुतो मानिरहेका छन् । केही सुरक्षाकर्मी र अन्य कर्मचारी खटाएर उद्योगले चिनी, मोलासिस, ब्राउन सुगर बिक्री गरिरहेको किसानले बताए । यसरी किसानलाई पैसा नदिने, तर उद्योगको उत्पादन बिक्री गरिरहने कुराले उद्योगपतिको नियत स्पष्ट भएको उनीहरूको आरोप छ । जसरी भए पनि किसान मार्ने योजनामा महालक्ष्मी चिनी उद्योग लागिपरेको अर्का किसान सुशील सिङले गुनासो गरे । 

 

ad
ad