आफूलाई फरकफरक भूमिकामा अब्बल साबित गर्दै आएका गायक–संगीतकार प्रकाश सपुतले अब फिल्म निर्देशन गर्ने भएका छन्। आइतबार राजधानीमा एक कार्यक्रमबीच उनले फिल्मको टाइटल अनाउन्स गरेका छन्।
कलाकार एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी तथा उपस्थित अतिथिले ब्यानर खोलेर टाइटल अनाउन्स गरे। सोही कार्यक्रममा पाँच मिनेटको भिडियोसमेत प्रदर्शन गरिएको थियो।
अध्यक्ष केसीले पाँच मिनेटको भिडियोले नै सिंगो फिल्मको कथा बताउन सफल रहेको बताए। ‘गीत गाउने, भिडियोमा निर्देशन गरेका सपुतले बनाएको पहिलो चलचित्रले सबैको मन जित्नेछ,’ उनले भने।
यो फिल्मपछि सपुत नेपाली फिल्म इन्डस्ट्रीलाई नै हाँक्ने क्षमतासहित निस्कनेमा आफू विश्वस्त रहेको केसीको भनाइ थियो।
कार्यक्रममा लोकदोहोरी प्रतिष्ठानकी अध्यक्ष रिता थापाले आफ्नो परिवारको एक सदस्य दोहोरी गायक सपुतले प्रगति गरेको देख्दा खुसी लागेको बताइन्।
सञ्चारकर्मीसँग बोल्दै सपुतले समाजमा विद्रोह गर्ने पात्र नभएको, भए पनि विद्रोह गर्ने आँट नभएकाले यसपालि त्यो विद्रोह र आँट फिल्ममा देख्न पाइने बताए। ‘आफू जुन पृष्ठभूमिबाट आएँ त्यही पृष्ठभूमिको कथा हो। आधाउधि त मेरै कथा हो,’ उनले भने, ‘पहिले आफ्ना कथा भनेर मात्रै बाँकी कथा खोज्नुपर्छ।’
त्यसैगरी कलाकार स्वस्तिमा खड्काले सपुतसँग पहिल्यै सहकार्य गरिसकेकाले विश्वास गरेर फिल्ममा अनुबन्ध भएको बताइन्। साथै, आफू यो फिल्मको हिस्सा बन्न पाएकामा खुसी व्यक्त गरिन्।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मको मुख्य भूमिकामा सपुतसहित स्वस्तिमा खड्का, अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतका कलाकार रहनेछन्। साथै, छायांकनमा बुद्ध थापा र सम्पादन प्रकाश भट्टको रहने बताइएको छ।
त्यस्तै, फिल्मको कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहेका छन् । पार्श्वध्वनि तथा संगीत संयोजन योगेशकाजीको रहनेछ ।
फिल्ममा कथा र संगीतसमेत सपुतकै रहनेछ भने मुख्य सहनिर्देशन सुनील विकको रहनेछ । भदौबाट सुटिङमा जाने फिल्म ‘वसन्त’को प्रदर्शन मिति चैतेदसैँ २०८१ तोकिएको छ ।