१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
एक खेलअघि नै फाइनलमा पुगेपछि खुसी मनाउँदै नेपाली खेलाडी । तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १८:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाल एक खेलअघि नै फाइनलमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:o५:oo

करण केसीको ह्याट्रिक विकेट तथा ब्याट्सम्यानहरूले विस्फोटक प्रदर्शन गरेपछि नेपालले बिहीबार त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० खेलमा पपुवा न्युगिनीलाई ३७ रनले हराएको छ । लगातार तेस्रो खेलमा जित निकालेको नेपाल एक खेलअघि नै सिरिजको फाइनलमा पुगेको छ । पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय सात रनको विशाल योगफल बनाएको थियो ।

प्रत्युत्तरमा पपुवा न्युगिनी १९.४ ओभरमा एक सय ६६ रनमा समेटियो । नेपालले तीन खेलबाट सर्वाधिक ६ अंक जोडेको छ । पपुवा न्युगिनी तीनवटै खेलमा पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका लागि पहिलो ब्याटिङ गरेका कुशल भुर्तेल र आसिफ सेखले उत्कृष्ट सुरुवात गरे । दुवैले पहिलो विकेटका लागि ६.२ ओभरमा ४४ रनको साझेदारी गरे । हेकुरेको ओभरमा आउट हुनुअघि भुर्तेलले दुई चौकाको सहयोगमा १७ रन बनाए । आसिफ र रोहितकुमार पौडेलले दोस्रो विकेटका लागि २८ रनको साझेदारी गरे ।

आसिफले २९ बलमा चार चौका र एक छक्का प्रहार गरी ३८ रन बटुले । त्यसपछि रोहितले दीपेन्द्रसिंह ऐरीसँग मिलेर चौथो विकेटका लागि २७ बलमा ५१ रनको साझेदारी गर्दै नेपाललाई १४.२ ओभरमा १२३–३ को बलियो स्थितिमा राखे । रोहितले २३ बलमा चार चौका र दुई छक्काको सहयोगमा ४१ रन बनाए । डेब्यु गरेका मोहमद आदिल अन्सारी र दीपेन्द्रसिंहबीच पाँचौँ विकेटका लागि केवल २९ बलमा ७९ रनको विस्फोटक साझेदारी हुँदा नेपालले पपुवा न्युगिनीविरुद्ध दुई सय रनको योगफल कटाउन सफल भयो । प्रत्युत्तरमा दुई सय चार रनको लक्ष्य पार गर्न क्रिजमा आएको पपुवा न्युगिनीका लागि चार्लेस अमिनीले सर्वाधिक ६२ रन तथा टोनी उराले ४३ रनको योगदान दिए । अमिनीले ४७ बलमा नौ चौका र उराले २२ बलमा चार छक्का र दुई चौका प्रहार गरे । बलिङमा नेपालका लागि सोमपाल कामी र अविनाश बोहराले समान दुई विकेट हात पारे । 

एकै ओभरमा ३२ रन

पपुवा न्युगिनीविरुद्ध व्यक्तिगत प्रदर्शनमा दीपेन्द्रसिंह र अन्सारीले पनि विस्फोटक ब्याटिङ गरेका छन् । पहिलो ब्याटिङ गरेको नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंहले ३३ बलमा तीन चौका र चार छक्कासहित सर्वाधिक ६६ रनको योगदान दिए । यस्तै अन्तर्राष्ट्रिय टी–२० डेब्यू खेलमै अन्सारीले केवल ११ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै ३१ रनको विस्फोटक इनिङ्स खेले । 

नेपालले इनिङ्सको १८औँ ओभरमा पोकनाले फ्याँकेको बलमा ३२ रन जोडेको थयो । जुन नेपालले अन्तर्राष्ट्रिय टी–२० खेलमा एकै ओभरमा बनाएको सर्वाधिक रन हो । विश्व क्रिकेट जगतमा नेपालले एकै ओभरमा जोडेको रन चौथो सर्वाधिक हो । अन्सारीले पोकनाको पहिलो बलमा चौका प्रहार गरेका थिए । दोस्रो र तेस्रो बलमा छक्का प्रहार गरे । अन्सारीले छक्का प्रहार गर्दा भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीको ‘हेलिकोप्टर सर्ट’को झझल्को दिएका थिए । 

पोकानाले फ्याँकेको तेस्रो नो बलमा अन्सारीले छक्का हिर्काए । यही ओभरको पाँचौँ बलमा दीपेन्द्रसिंहले छक्का प्रहार गरेका थिए । १८.६ मा दीपेन्द्रसिंहले छक्का प्रहार गरेको भए नेपालले अन्तर्राष्ट्रिय टी–२० मा थप एक कीर्तिमान बन्ने थियो । अन्तिम बल छक्काका रूपमा आउँदा नेपालले अन्तर्राष्ट्रिय टी–२० मा एकै ओभरमा सर्वाधिक ३८ रन बनाउने रेकर्ड बन्ने थियो । साथै अन्सारी र दीपेन्द्रसिंह पनि एकै ओभरमा सर्वाधिक रन बनाउने जोडी पनि बन्ने थिए । यी दुवै रेकर्ड बनाउनमा नेपाली ब्याट्सम्यान चुकेका छन् । 

विश्व क्रिकेटमा भारतका युवराज सिंह र वेस्ट इन्डिजका किरण पोलार्डले एकै ओभरमा समान ६ छक्का प्रहार गरेका थिए । सन् २००७ को विश्वकपमा युवराजले इंग्ल्यान्डका स्टुवार्ट ब्रोडको ओभरमा ६ छक्का प्रहार गरेका थिए । सन् २०२१ मा पोलार्डले श्रीलंकाका अकिला धनन्जयविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेका थिए । इनिङ्सको १७औँ ओभरमा दीपेन्द्रसिंहले नोर्मन भानुआविरुद्ध तीन छक्का र एक चौकासहित २४ रन बटुलेका थिए । नेपालले अन्तिम तीन ओभरमा ६० रन बटुल्यो । 

ह्याट्रिकसहित पाँच विकेट लिने करण पहिलो नेपाली खेलाडी
फास्ट बलर करण केसीले अन्तर्राष्ट्रिय टी–२० खेलमा ह्याट्रिकसहित पाँच विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् । करणबाहेक अन्य कुनै पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय टी–२० मा ह्याट्रिकसहित पाँच विकेट लिएका थिएनन् ।

नेपालका लागि शक्ति गौचन पहिलो ह्याट्रिक लिने खेलाडी हुन् । शक्तिले सन् २०१२ मा टी–२० विश्वकप छनोट खेलमा डेनमार्कविरुद्ध ह्याट्रिक लिएका थिए । करण अन्तर्राष्ट्रिय टी–२० खेलमा ह्याट्रिक लिने दोस्रो नेपाली खेलाडी पनि बने । लक्ष्य पछ्याएको इनिङ्सको १९औँ ओभरमा करणले यो सफलता प्राप्त गरे । १९.२ ओभरमा करणले चाद सोपारलाई रोहितकुमार पौडेलबाट क्याच आउट गराए । 

पछिल्लो तीन–चार वर्षदेखि लगातार टी–२० खेल खेलिरहेकाले पनि सिरिजमा राम्रो प्रदर्शन भएको उनको भनाइ छ । ‘हामीले लगातार घरबाहिर तथा घरेलु प्रतियोगितामा खेलिरहेका छौँ, यसले हामीहरूको अभ्यास राम्रो भइरहेको छ,’ उनले भने । 

करणले आफूलाई बलिङभन्दा पनि ब्याटिङ गर्न रमाइलो लाग्ने बताएका छन् । ‘मलाई ब्याटिङ गर्न मज्जा आउँछ,’ उनले भने, ‘यद्यपि, मेरो प्रयास दुवै इनिङ्समा फिनिसिङ गर्ने हुनेछ ।’ पपुवा न्युगिनीविरुद्ध नेपालको ५०औँ अन्तर्राष्ट्रिय खेलसमेत पूरा हुँदा करणले पनि आफ्नो ५० विकेट संख्या पार गरे । करणले पपुवा न्युगिनीका लेगा सियाकालाई आउट गर्दै टी–२० खेलमा ५० विकेट पूरा गरेका हुन् । यसअघि नेपालका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय टी–२० खेलमा ५० विकेट लिएका थिए । 

ad
ad