१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
पुरानै अवस्थामा फर्किएको गुल्मीको मुसिकोट नगरपालिका– ४ मा पर्ने दजाकोट । जहाँ ०७३ मा आगलागीले गाउँ नै सखाप बनाएको थियो ।
२o८१ जेठ १३ आइतबार o८:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

खरानीबाट माथि उठेको दजाकोट

जसले इस्माका अग्निपीडितलाई चन्दा उठाएर सहयोग गरे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o८:१८:oo

आगलागीले दजाकोट ध्वस्त भएको १८ वैशाखमा सात वर्ष पुग्यो । ०७३ मा गुल्मीको मुसिकोट नगरपालिका– ४ दजाकोटमा आगलागी हुँदा एकजनाले ज्यान गुमाए, ५७ घर र ७० गोठ जलेर नष्ट भए । पाँच सयभन्दा बढी पशुचौपाय र कुखुरा जले । यस अवधिमा ४१ घर पूर्ण रूपमा पुनर्निर्माण गरिएको छ । त्यसवेला क्षति भएकामध्ये केही पीडित परिवार बसाइँ सरेर अन्यत्र गए । आगलागीको दुई वर्षपछि गाउँमा झाडापखालाको प्रकोपसमेत दजाकोटले व्यहोरेको थियो । जसकारण एकजनाले ज्यानसमेत गुमाए । 

आगोले ध्वस्त दजाकोट कैयौँ पीडाका बीच अहिले पुरानै अवस्थामा फर्किएको छ । अत्यधिक हावा र गर्मीका कारण एक्कासि गाउँ पसेको आगोले घण्टा नबित्दै बस्ती खरानी बनाएको थियो । बिरलैबाहेकका अधिकांश घरका नागरिकले शरीरको कपडाबाहेक अरू जोगाउन पाएनन् । दजाकोटका सोम दर्लामीले आँखैअगाडि घरगोठसँगै तीन भैँसी, १० बाख्रा र कुखुरासहित सबै सम्पत्ति गुमाए । उनले डेढ वर्षमा अनुदान र ऋणधन गरेर घरगोठ बनाए । परिवारको अवस्था ठिकै भएकाले बिस्तारै सम्पत्ति जोड्दै गए । तर, गर्मी र हुरी सुरु भएपछि उनलाई निद्रा पर्दैन । ‘संरचनाले दजाकोट पुरानै अवस्थामा फर्किए पनि मनमा शान्ति छैन । किनभने जंगल र खरबारीनजिकका बस्ती सधैँ जोखिममै हुने रहेछन्,’ उनले भने, ‘हुरी र गर्मी सुरु भएपछि निद्रा पर्दैन ।’ 

प्राकृतिक विपत् सबैका लागि पीडा हो । विपत् भोग्नेले वर्षौँ कैयन् सास्ती खेपेका छन् । दजाकोटमा करिब दुई वर्षपछि पुनर्निर्माणको काम सकिएको थियो । आगलागीपछिको बर्सात र जाडो खेपेका तत्कालीन दजाकोटका अग्निपीडितले ऋणकै भारी बोकेर भए पनि आफूहरूलाई पुरानै लयमा फर्काएको गाउँका अगुवासमेत रहेका दर्लामीले बताए ।

त्यसवेला लाभग्राहीले करिब पाँच लाख अनुदान पाएका थिए । त्यो रकम पर्याप्त थिएन । दर्लामीका अनुसार आर्थिक अवस्था राम्रो हुनेले २०–२५ लाख नै थपेर घर बनाए । विपन्नले पनि करिब दुई–तीन लाख ऋण काढेर विभिन्न काम गरेका छन् । आगोले घरगोठ र पाइप जलेपछि गाउँमा सुकेको आँत भिजाउने पानी थिएन ।

आफ्नै अगाडि सम्पत्ति खरानी हुँदा बेचैन नागरिकका आँखा ओभाउन महिनौँ लाग्यो । गाउँ पुग्ने राम्रो सडक थिएन । तत्कालीन समयमा गाविस र दलहरूबाहेकका संयन्त्र थिएनन् । सरकार सजिलै राहत र पुनस्र्थापनामा उपस्थित हुने अवस्था थिएन । तर, देश–परदेशका सहयोगी मन र संस्थाहरूले दजाकोटको घाउमा राम्रोसँग मलम लगाए । गाउँका स्थानीयको समन्वय, आपसी भाइचारा र सद्भाव अनुकरणीय थियो । त्यही कारण पनि दजाकोटले राम्रो सहयोग प्राप्त गरेको थियो । 

दजाकोटका अगुवा हरि छन्तेलका अनुसार दाताहरूबाट करिब दुई करोड सहयोग भएको थियो । लत्ताकपडा, खाद्यान्न र सामग्री उल्लेख्य रूपमा प्राप्त भए । सबै हिसाबले चार–पाँच करोड सहयोग दजाकोटले प्राप्त गरेको उनले बताए । दजाकोटमा दुःखमा मुसिकोट नगरपालिकाले पनि साथ दिएको थियो । नगरपालिकाका तर्फबाट प्रत्येक परिवारलाई एक–एक लाख सहयोग प्राप्त भएको थियो । त्यही सम्झनाका कारण दजाकोटवासीले अहिले इस्माका अग्निपीडितको दुःखमा मलम लगाउन सहयोग जुटाएर पुगे । तत्कालीन समयका अग्निपीडित प्रत्येकले आफूसक्दो संकलन गरेको एक लाख ५० हजार इस्माका अग्निपीडितलाई प्रदान गरेका छन् । छन्तेलले छिमेकको पीडा हेरेर बस्न नसकेकाले स्वतःस्र्फूत रूपमा सहयोग संकलन गरेर प्रदान गरिएको बताए ।

दजाकोटमा अहिले एकै किसिमका घर बनेका छन् । सबैले हिजोको पीडा भुलेर पशु व्यवसायमार्फत दैनिक जीवनलाई सहज बनाइरहेका छन् । अहिले लिफ्टमार्फत घरघरमा खानेपानी पुगेको छ । सडकको पहुँच राम्रो छ । दजाकोटबासीले अग्नि स्मारक निर्माण गरेर गाउँमा होमस्टे सञ्चालनको योजनासमेत बनाएका छन् । 

ad
ad