१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार o८:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बबिन, सुमन र अशोकलाई ‘सी’ डिभिजन लिग खेल्न प्रतिबन्ध

फरक क्लबमा दर्ता भई फुकुवापत्रविना ‘सी’ डिभिजन लिगमा सहभागी भएको जनाउँदै एन्फाले आरसी ३२ का बबिन बोहरा, सुमनबहादुर मगर र सामाजिक युवाका अशोक दर्लामीलाई कारबाही गरेको हो ।

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:१५:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बबिन बोहरा, सुमनबहादुर मगर र अशोक दर्लामीलाई ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिताका बाँकी खेल खेल्न प्रतिबन्ध लगाएको छ । फरक क्लबमा दर्ता भएको तथा फुकुवापत्रविनै लिगमा सहभागिता जनाएको भन्दै एन्फाले ती खेलाडीलाई कारबाही गरेको हो । एन्फाको अनुशासन समितिले आइतबार तीनजना खेलाडीलाई कारबाहीको सिफारिस गरेको थियो । समितिको सिफारिसमा बबिन, सुमन र अशोक कारबाहीमा परेका हुन् । बबिन र सुमनले आरसी ३२ फुटबल एकेडेमी तथा अशोकले सामाजिक युवा क्लबबाट लिग खेलेका थिए । 

एन्फाले खेलाडीलाई मात्र होइन, आरसी ३२ र सामाजिक युवालाई समेत कारबाही गरेको छ । दुवै क्लबलाई दश हजार रुपैयाँका दरले जरिवाना तोकेको छ । साथै, कारबाहीस्वरूप एन्फाले आरसी ३२ र सामाजिक युवालाई ३–० को हार नतिजा सुम्पिएको छ । ‘लिग प्रतियोगिता नियमावली २०२४ को नियम २८ अनुसार अनुशासनको कारबाही गरिएको छ,’ एन्फाले पत्रमा भनेको छ, ‘खेलाडी यसअघि नै ‘बी’ डिभिजन क्लबमा दर्ता थिए, उनीहरूले रिलिजपत्रविना ‘सी’ डिभिजन खेलेको पुष्टि भएको छ ।’

एन्फाका अनुसार बबिन र अशोकले सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्न श्री भगवती तथा सुमनले झापा फुटबल क्लबमा दर्ता भएका थिए । ‘बी’ डिभिजन दुई वर्षदेखि भएको छैन । एन्फाले बबिन र अशोकलाई दुई खेलमा यसअघि नै प्रतिबन्ध लगाए पनि शनिबार स्वयम्भूविरुद्ध खेले । गत २२ चैतमा सुमनले खालिबारी तथा बबिनले १० वैशाखमा सामाजिक युवाविरुद्ध खेलेको उजुरी परेको थियो । ‘क्लबमा आबद्ध खेलाडीले खेल्नुपूर्व कम्तीमा ४८ घन्टाअगाडि दर्ता गर्नुपर्ने व्यवस्था रहेकोमा आरसी ३२ र बबिनले प्रतियोगिता नियमावलीविपरीत कार्य गरेको पुष्टि भएकाले कारबाही गरिएको हो,’ एन्फाले जनाएको छ । यो खेलमा सामाजिक युवा क्लबलाई ३–० ले विजयी घोषणा गरेको छ । 

‘सी’ डिभिजन लिग खेलिरहेको सर्लाहीको बागमती युवाले श्री भगवती क्लबमै दर्ता भएका अशोकले स्वयम्भूबाट खेलेको उजुरी गरेको थियो । एन्फाले छानबिनमा अशोक दोषी पाएको भन्दै बाँकी खेल खेल्न नपाउने र स्वयम्भूलाई दश हजार जरिवाना गराएको छ । सो खेलमा बागमतीलाई ३–० ले विजयी गराएको छ । 

बामगती र गोलबजारको जित
लिगअन्तर्गत आइतबार मनोहरा युनाइटेड युथ क्लबलाई १–० ले हराउँदै बागमती युवा क्लबले तेस्रो जित निकालेको छ । दोस्रो खेलमा गोलबजारले महावीर क्लबलाई २–१ ले हराउँदै पहिलो जित निकालेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बागमतीलाई जिताउन अनिल रानामगरले निर्णायक गोल गरेका थिए । जितसँगै बागमतीले ६ खेलमा ११ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । मनोहरा समान खेलबाट १२ अंकका साथ तेस्रो स्थानमा छ । बागमतीको जितमा अनिलले खेलको ५७औँ मिनेटमा पेनाल्टीमा गोल गरे । 

महावीरलाई २–१ ले हराउँदै गोलबजार स्पोर्टस् क्लबले लिगको छैटौँ खेलमा आएर पहिलो जित निकालेको छ । गोलबजारलाई जित दिलाउन विजय श्रेष्ठ र ओमप्रकाश सिंहले गोल गरेका हुन्  महावीरका लागि नीरबहादुर थापाले गोल फर्काएका थिए । जितसँगै ६ खेलमा पाँच अंक जोडेको गोलबजार १२औँ स्थानमा उक्लिएको छ । महावीर समान खेलबाट सात अंकका साथ सातौँ स्थानमा छ । चौथो मिनेटमै विजयले लमजुङको गोलबजारलाई अग्रता दिलाए । निरले ३५औँ मिनेटमा खेललाई बराबरीमा ल्याए । ७६औँ मिनेटमा ओमले गोल गर्दै पहिलो तीन अंक दिलाएका हुन् । 

ad
ad