
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दाबी गरेका छन् । शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १४ को कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरवासीको सबै चाहना पूरा गर्न नसके पनि उनीहरूले सुम्पेको धेरैजसो जिम्मेवारी आफूले पूरा गरेको बताएका हुन् । सबै वडामा प्रशस्त बजेटको व्यवस्था गरेको उनको भनाइ थियो ।
‘सबै पूरा गर्न नसकेपनि धेरै जिम्मेवारी पूरा गरेको छु । मैले टिमलाई व्यवस्थित ढंगले परिचालन गरेको छु । सबैलाई उचित जिम्मेवारी दिएर काम गर्ने वातावरण बनाइदिएका छौं । सबै वडा कार्यालयलाई प्रशस्त बजेट पनि दिने, जिम्मेवारी पनि दिएर काम गराएका छौं’, मेयर शाक्यले भने, ‘अभिभावकीय भूमिका खेल्नुपर्छ भनेर सोहीअनुसार काम गरिरहेका छौँ ।’
उनले विकास निर्माणको काम निरन्तरको काम भएको भन्दै त्यसमा आफूले सकेको योगदान दिएको बताए । कार्यक्रममा बोल्दै उपमेयर हरिप्रभा खड्गीले सहरलाई व्यवस्थित बनाउन ढल व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेर सबै वडा कार्यालयको कामलाई अघि बढाइएको बताइन् ।