१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२o८१ बैशाख २४ सोमबार o६:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता

Read Time : > 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
नयाँ पत्रिका नवलपरासी
२o८१ बैशाख २४ सोमबार o६:o६:oo

१४ वर्ष कैद सजाय र  चार लाख क्षतिपूर्ति मागमा

अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्ध नवलपुर जिल्ला अदालतमा बलात्कार मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय नवलपुरले बिहीबार साढे ३ बजे मुद्दा दायर गरेको हो । 

१६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा शाहलाई नियन्त्रणमा राखी प्रहरीले अनुसन्धान गर्दै आएको थियो । अनुसन्धान सकिएपछि मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १ र २ अनुसारको कसुर गरेको दाबी गर्दै मुद्दा दायर गरिएको सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीले बताए । सरकारी वकिलको कार्यालयका अनुसार शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्तिको माग दाबी गरिएको छ ।

कानुनको सो दफामा महिलाको मञ्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ । शाहविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेमा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ । अभियोगपत्रमा बलात्कार हुँदा बालिका १५ वर्ष आठ महिना चार दिनकी भएको उल्लेख छ ।

त्यस्तै, यौन हिंसा अध्यादेश, २०७७ मा चार लाखसम्म जरिवाना हुन सक्ने उल्लेख छ । सोहीअनुसार चार लाख रुपैयाँ क्षतिपूर्तिको समेत माग दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता नेपालीले बताए । प्रहरीले नाबालिकाले दिएको उजुरी र मेडिकल रिपोर्टलाई प्रमुख आधार बनाएर मुद्दा अगाडि बढाएको छ ।

शाहलाई तनहुँबाट झिकाउने भन्ने अभियोगपत्रमा उल्लेख गरिएको छ । तनहुँबाट झिकाएपछि मात्र थुनछेक बयान सुरु हुने सहायक जिल्ला न्यायाधिवक्ता नेपालीले बताए । पल शाहलाई आइतबार नवलपुर जिल्ला अदालतमा बयानका लागि बोलाइने र बयान सकिए सोही दिन थुनछेक बहस हुने सम्भावना रहेको अदालत स्रोतले जनाएको छ । 

स्रोतका अनुसार शाहले सरकारी वकिल र प्रहरीसमक्ष बयानका क्रममा आफूले अभियोग अस्वीकार गरेका छन् । राति सुत्नुअघि ‘गुडनाइट भन्न किशोरी बसेको कोठाको ढोकासम्म भने गएको’ उनको बयान छ । 

पीडित किशोरीले आफूमाथि बलात्कार भएको भन्दै शाहविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । चार दिनपछि शाहले तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए । त्यसपछि किशोरीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा पनि जाहेरी दिएकी थिइन् । उनले गत ७ चैतमा एउटा गीतको सुटिङका क्रममा गैँडाकोटमा राति बलात्कार गरिएको दाबी गर्दै गैँडाकोट प्रहरीमा तीन साताअघि उजुरी गरेकी थिइन् । एकै दिन सकिने छायांकनलाई दुई दिन लगाई राति रक्सी खुवाएर बलात्कार गरेको किशोरीको दाबी छ । त्यसपछि अभिनेता शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो । इलाका प्रहरी कार्यालय गैँडाकोटमा किटानी जाहेरी दिएपछि भरतपुर अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

अभियोगका आधारमा एक वर्षभित्र मुद्दा दर्ता गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । त्यसैअनुसार चार दिनअघि नै अदालतमा मुद्दा दर्ता भएको प्रहरीको भनाइ छ । हाल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । प्रहरीको अनुसन्धान भने पूरा भइसकेको छैन । प्रहरीले जिल्ला अदालत तनहुँबाट दुईपटक म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । पछिल्लोपटक थपिएको म्याद सकिन चार दिन बाँकी छ ।
 

ad
ad