१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o६:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

स्मार्ट लाइसेन्सको अनलाइन आवेदन स्थगित

दुई महिनाभित्र पुराना साढे तीन लाख आवेदकको परीक्षा सकेपछि मात्र आवेदन खुलाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:४६:oo

यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सको अनलाइन आवेदन स्थगित गरेको छ । अर्को सूचना प्रकाशन नभएसम्म १ चैतबाट सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द गरिएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए ।  ३० फागुनसम्म तीन लाख ५० हजारभन्दा धेरैले अनलाइन आवेदन भरेर पालो कुरिरहेका छन् । ‘नयाँ आवेदन भर्न बन्द गरेर आवेदन भरिसकेकाको बिहानदेखि साँझसम्म परीक्षा (लिखित र ट्रायल) लिएर सक्ने र त्यसपछि अनलाइन आवेदन खुला गर्ने योजना छ,’ प्रवक्ता भुसालले भने ।

प्रदेशहरूले ट्रायल दिने ठाउँ वृद्धि गरेर यो कामलाई गति दिने उनको भनाइ छ । अहिले देशभर २३ वटा केन्द्रमार्फत ट्रायल लिने गरिएको छ । त्यसका लागि प्रदेशले ट्रायल सेन्टर थप गर्ने तयारी गरिरहेको प्रवक्ता डा. भुसालले भने । यातायात विभागका अनुसार सबैभन्दा धेरै आवेदन बागमती प्रदेशका छन् । बाँकी रहेका आवेदकको परीक्षा सम्पन्न गर्न दुई महिना लाग्ने अनुमान छ । त्यसपछि मात्र नयाँ आवेदन लिन सुरु गरिनेछ । 

 बागमती प्रदेशले ट्रायल सेन्टर दोब्बर पुर्‍याउने
बागमती प्रदेशले ट्रायल सेन्टर दोब्बर पुर्‍याउने भएको छ । अहिले काठमाडौंमा चार ठाउँ र हेटौँडामा ट्रायल सेन्टर छन् । नयाँ कार्यविधि ल्याएर अहिले सञ्चालन गरिरहेका यातायात कार्यालयले थप एक वा आवश्यकताअनुसार दुईवटा ट्रायल सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको बागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । त्यस्तै, चितवनमा अहिले यातायात कार्यालय भए पनि ट्रायल सेन्टर छैन । चाँडै नै चितवनमा पनि ट्रायल सेन्टर सञ्चालनमा ल्याउने तयारी छ । ‘उपयुक्त स्थान, जनशक्ति र आवेदकको चापलाई हेरेर ट्रायल सेन्टर थपिने प्रक्रिया सुरु हुँदै छ,’ मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव उमेश रूपाखेतीले भने । 

लामो समयदेखि पर्खिएर बसेका आवेदकको पालो चाँडै ल्याउनका लागि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म र आवश्यकताअनुसार उज्यालोको व्यवस्था गरेर राति पनि ट्रायल लिने तयार गरेको छ । संघले आवेदन नै लिन बन्द गरेकोबारे जानकारी नभएको उनको भनाइ छ । ‘बन्द त गर्न नहुने हो, त्यस्तो भएको भए बुझेर निरन्तरता दिनेछौँ,’ उनले भने । यातायात व्यवस्थापन प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । 

ad
ad