१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार ११:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नियमित उडानको प्रतीक्षामा रेसुंगा विमानस्थल : निरीक्षणमा पुगेका प्रदीप ज्ञवाली भन्छन्- धावनमार्ग आहा भएन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:२५:oo

पूर्वमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले रेसुंगा विमानस्थलको धावनमार्गको कालोपत्रेका विषयमा असन्तुष्टि जनाएका छन् । मंगलबार बिहान विमानस्थलको निरीक्षण गर्दै ज्ञवालीले कालोपत्रे सबैले आहा ! भन्ने स्थितिमा नरहेकाले प्रशासन, नगरपालिका र स्थानीयलाई निर्माण व्यवसायीलाई सचेत बनाउन आग्रह गरे । 

विमानस्थलको महत्वपूर्ण संरचना धावनमार्ग भएकाले सञ्चालनपूर्व नै सतहको फिनिसिङ मिलाउनुपर्नेमा जोड दिए । गुल्मीको बहुप्रतिष्ठित आयोजना रेसुंगा विमानस्थल नियमित उडानको प्रतीक्षामा रहेको छ । तर, नागरिकका बीचमा विभिन्न आशंकाहरू रहेका छन् । पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं. १ का सांसद प्रदीप ज्ञवालीले आउने वैशाखबाट नियमित उडान हुनेमा स्थानीयलाई विश्वास दिलाए । 

उनले नेपाल एयरलायन्स र प्राइभेट कम्पनीसँग धेरैपटक संवाद भएकाले काम सकिनेबित्तिकै उडान हुने बताए । ‘प्राइभेट कम्पनीहरू विमानस्थलको प्रतीक्षामा छन् । म संरचनाको काम हुनेबित्तिकै नियमित उडान हुनेमा ढुक्क छु,’ उनले भने, ‘यो कुनै चुनावी प्रचार होइन ।’ उनले गिद्ध उडेको फोटो राखेर आलोचना गर्नेहरूको समेत प्रशंसा गर्दै जहाज चढ्ने गुल्मेलीको सपना कुनै अवस्थामा पूरा हुने बताए । ०६३ सालमा शिलान्यास गरे पनि जग्गा, बजेट, सरकार परिवर्तन, योजनाका झन्झटिला प्रक्रिया र कोभिडको कारण समयमै काम नसकिएको ज्ञवालीले बताए ।

सुरक्षा प्रबन्ध मिलाउन सिडिओलाई निर्देशन
पूर्वमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जिल्ला सुरक्षा समितिबाट विमानस्थलको सुरक्षा प्रबन्ध मिलाउन प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललाई निर्देशन दिए । विमानस्थल सुरक्षाको दृष्टिकोणले संवेदनशील हुन्छ । जसका कारण जिल्ला प्रशासनलाई आजैबाट सुरक्षाको विषयमा चासो र योजना बनाउन आग्रह गर्दै विमानस्थलबाट तम्घाससम्मको सर्भसुलभ यातायातको व्यवस्था गर्न नगरपालिकाले सोच्नुपर्नेमा ज्ञवालीले जोड दिए । उडान पहिले धावनमार्ग मार्किङ, टर्मिनल भवनको बाँकी काम पूरा गर्न निर्माण व्यसायीलाई  आग्रह गरे । उनले अब निर्माण व्यवसायीले कुनै बहानामा काम ढिला गर्ने अवस्था नरहेको बताए। 

विमानस्थलको काम अन्तिम चरणमा

रेसुंगा विमानस्थलको काम अन्तिम चरणमा रहेको छ । धावनमार्ग कालोपत्रे गर्ने काम लगभग सकिएको छ । धावनमार्गमा मार्किङ र केही सामान्य काम बाँकी रहेको निर्माण व्यवसायीले बताए । त्यस्तै, टर्मिनल भवन र कन्ट्रोल टावर कलर, सिसा, धारा, फिनिसिङ र टायलको काम भएकाले एक–डेढ महिनामा सबै काम सकिने बि–कोई श्रेष्ठ जेभीका निर्माण व्यवसायी हरिकुमार श्रेष्ठले जानकारी दिए ।

४ चैत ०७६ मा चार करोड पाँच लाख २९ हजार ६ सय १० रुपैयाँमा बि–कोई श्रेष्ठ जेभीले निर्माण सम्झौता गरेको हो । त्यस्तै, रौताहा हरि–हरि जेभीले सात करोड २५ लाख रुपैयाँमा धावनमार्गको काम गरेको थियो । धावनमार्गको पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको रहेको छ । त्यस्तै विमानस्थल घेराबारको काम सकिएको छ । मौसम हरिश निर्माण सेवा डोल्पाले ०७६ पुस १६ मा ९१ लाखमा घेराबारको काम गरेको विमानस्थल सहायक आयोजना प्रमुख इन्जिनियर दिनेश परियारले जानकारी दिए ।

रेसुंगा नगरपालिका– १० सिमीचौरमा निर्माणाधीन विमानस्थलमा २७ जेठ ०७५ मा परीक्षण उडान गरिएको थियो । रेसुंगा विमानस्थल ०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीले शिलन्यास गरेका थिए । सुरुका वर्षमा निर्माण समितिले काम गरिरहेको थियो । तर, जग्गा अधिकरण र बजेटको अभावले करिब सात–आठ वर्ष विमानस्थल निर्माणले गति लिएन । ०७२ बाट विमानस्थल निर्माणको काम नियमित भएको रेसुंगा नगरपालिकाका प्रवक्ता पदम अर्यालले जानकारी दिए । 
 

ad
ad