१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १३:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संक्रमण घटे पनि जोखिम टरेको छैन, स्वास्थ्य मापदण्ड पालना गरौँ : सहप्रवक्ता अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १३:५३:oo

सरकारले कोभिड– १९ को संक्रमण दर घटे पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ। आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका हुन्।

अफ्रिकी देशहरूमा खोप अभियान कम सञ्चालन भएका कारण ती देशहरूबाट कोभिड– १९ का नयाँ भेरियन्टहरू आउन सक्ने उल्लेख गर्दै उनले अझै पनि संक्रमणको जोखिम नटरेको प्रस्ट्याए। विश्वभरको अवस्था र विगतको दृष्टान्त हेर्दा संक्रमण कम भए पनि अझै संक्रमणको जोखिम धेरै रहेको सहप्रवक्ता अधिकारीले बताए। 

‘अहिले पनि केही देशमा संक्रमण उकालो लागेजस्तो देखिन थालेको छ। त्यसले गर्दा हामीले निगरानी एकदमै बढाउनुपर्ने, विश्वव्यापी रूपमा कोभिड– १९ विरुद्धको खोप लगाइराखेको अवस्थाहरूको तुलना गर्दा विशेषतः अफ्रिकी महादेशमा कोभिड– १९ विरुद्धको खोपको कभरेज एकदमै कम भएको अवस्थामा संक्रमण फैलिने गरी त्यहाँ धेरै भइरहँदा नयाँ भेरियन्टहरू जन्मिन सक्ने र त्यसरी नयाँ भेरियन्ट आउँदाखेरि खोप लगाएको भए पनि, नलगाएको भए पनि, संक्रमणबाट मुक्त भएको भए पनि, नभए पनि त्यस्तो अवस्थामा संक्रमण फैलन सक्छ,’ अधिकारीले भने, ‘समग्रमा भन्दा संक्रमणको दर कम हुँदै गएको भए पनि जोखिमचाहिँ समग्र रूपमा कम भइसकेको भनेर हामी विज्ञका दृष्टिकोणबाट सबै तथ्यहरूलाई विश्लेषण गर्दा भन्न सक्ने अवस्था छैन। जोखिम एकदमै धेरै छ भन्नुपर्ने हुन्छ, संक्रमण कम भएको भए पनि।’

आगामी दिनमा हुन सक्ने सम्भावित जोखिम र संक्रमणबाट बच्नका लागि विगतमा गरिएजस्तै कडा रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्नेमा उनले जोड दिए। जनस्वास्थ्यका मापदण्डको पालना गर्नाले कोभिड– १९ को मात्रै नभई अन्य प्रकारको संक्रामक रोगहरूबाट समेत बच्न सकिने भएकाले मापदण्ड परिपालनामा निरन्तरता दिनुपर्ने उनले बताए।

ad
ad