१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १८:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पर्यटन प्रर्वद्धन गर्न ‘जाऊँ हिँड रेसुंगा’ अभियान

गुल्मीको रेसुङ्गालाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउने नगरपालिकाको तयारी  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १८:५९:oo

गुल्मीको रेसुंगा नगरपालिकाले रेसुंगा डाँडामा पर्यटक आकर्षित गर्न विशेष अभियान सुरु गर्ने भएको छ। रेसुंगाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं जैविक विविधताबारे प्रचार-प्रसार गर्दै ‘जाऊँ हिँड रेसुंगा’ प्रवर्द्धनात्मक अभियान सुरु गर्ने भएको हो।

पर्यटन बोर्डसँग सहकार्य गरेर ‘जाऊँ हिँड रेसुंगा’ विशेष अभियान सुरु गर्न लागेको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए। उनले भने, ‘गुल्मी रेसुंगामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने अभियानस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा २० वैशाखमा काठमाडौंमा अभियानको उद्घाटन गर्ने कार्यक्रम छ।’

प्राकृतिक, धार्मिक, ऐतिहासिक, पौराणिक विशेषताहरू रहेको रेसुंगामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन वर्षैभरि विभिन्न कार्यक्रम आयोजना गर्ने उनको भनाइ छ। हवाई तथा सडकमार्गबाट रेसुंगा पुग्न सकिन्छ।

पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले भौतिक पूर्वाधारको विकाससँगै रेसुंगाको प्रवर्द्धनको लागि प्याकेज निर्माण गर्न आग्रह गरे। उनले सो क्षेत्रको पर्यटन प्रवर्द्धनको लागि बोर्डको साथ-सहयोग रहने पनि बताए। बोर्डका अर्का निर्देशक लक्ष्मण गौतमले रेसुंगा तपोभूमि अध्यात्म र संस्कृतिसहित प्राकृतिक सम्पदाले पनि भव्य रहेको उल्लेख गर्दै रेसुंगाको पर्यटन प्रर्वद्धन गर्दा छिमेकी जिल्लाहरूको समेत पर्यटन प्रवर्द्धन हुने बताए।

डा. नारायणाचार्य तिमिल्सेना (देवबाबा)ले गुल्मीको पर्यटन प्रवर्द्धनका लागि रुरु क्षेत्रमा रहेको शालिग्रामको संरक्षण आवश्यक रहेको बताउँदै शालिग्रामको संरक्षणको लागि ऐन बनाउनुपर्ने धारणा राखे। रेसुंगा भौगोलिक, जैविक र वानस्पतिक विविधताले भरिएको क्षेत्र हो। यो क्षेत्रमा वन क्षेत्र, आश्रम, धर्मक्षेत्र, मठमन्दिर, पँधेरा, कुण्ड, पोखरी, जलस्रोत, पाटीपौवा, यज्ञशाला, धर्मशाला एवं भग्नावशेषहरू रहेका छन्। यस क्षेत्रमा दुर्लभ चरा, पुतली, सरिसृप एवं स्तनधारी जीवहरू पाइने हुनाले जैविक विविधताले पनि यो क्षेत्र अत्यन्तै महत्त्वपूर्ण रहेको छ।

महर्षि ऋष्यशंगासित सम्बन्ध रहेको मानिने सो तपोभूमिमा अनेक ऋषिमुनि र साधुसन्तहरूले तपस्या गर्दै आएको बताइन्छ। त्रेता युगमै महर्षि ऋष्यशृंगाले त्यहाँ पुगेर तपस्या गरेको र ऋष्यशृंगा महर्षिले अयोध्याका राजा दशरथको पुत्रेष्टि यज्ञ गराएको पनि कथन छ। जुन यज्ञका कारण राजा दशरथलाई राम, लक्ष्मण, भरत र शत्रुघ्नजस्ता पुत्ररत्नहरू प्राप्त भएका थिए भन्ने कुरा वाल्मीकि रामायणको बालकाण्डको ९–१५ सर्गसम्ममा विस्तृत वर्णन गरिएको छ।

ad
ad