१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण ९ सोमबार ०८:२४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एमसिसी संसदमा टेबुल गरिनु स्वागतयोग्य : सिएनआई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण ९ सोमबार ०८:२४:००

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनका लागि संसदमा टेबुल गरिनु स्वागतयोग्य भएको नेपाल उद्योग परिसंघले बताएको छ । एमसिसी संसदबाट अनुमोदन भएर कार्यान्वयनमा लैजाँदा देशले आर्थिक लाभ हासिल गर्नेमा परिसंघ विश्वस्त रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

‘नेपालको आर्थिक विकासमा रणनीतिक महत्व दिने विद्युत् र सडक क्षेत्रको विकासका लागि एमसिसी सम्झौता महत्वपूर्ण छ, लामो छलफल र तयारीपछि नेपालले प्रस्ताव गरेका आयोजनाको कार्यान्वयन दिगो आर्थिक विकासका आधार हुन सक्छन्,’ परिसंघले विज्ञप्तिमार्फत भनेको छ । दिगो विकासका लक्ष्य हासिल गर्न र कोभिडपश्चातकाे आर्थिक पुनरुत्थानका लागि ठूलो लगानी चाहिने बताउँदै परिसंघले एमसिसीजस्ता पूर्वाधार सहयोग परियोजना नेपालका लागि आवश्यक रहेको ठहर गरेको छ । 

‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र सहायताको इतिहासमा अमेरिकासँगको सम्बन्ध ऐतिहासिक छ । नेपालले ७५ वर्ष लामो सम्बन्धमा अमेरिकाबाट प्राप्त भएका सहयोगबाट आर्थिक–सामाजिक विकासमा गुणात्मक फड्को मारेको छ । नेपालले दातृ निकायहरूबाट प्राप्त गरिरहेको विश्वास अभिवृद्धिमा एमसिसी सम्झौता कार्यान्वयनले थप टेवा दिनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य हो । सन् २०२६ बाट नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपालमा उत्पादित वस्तुहरूको सहज निर्यातका लागि नेपालले असल सम्बन्ध कायम गरिराख्नुपर्छ ।’