१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ माघ २० शुक्रबार ०८:४७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

व्यवसायीलाई विचलित नहुन पूर्वप्रधानमन्त्री ओलीको आग्रह : विराटनगरमा पहिलोपटक ‘सिएनआई एक्स्पो’

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ माघ २० शुक्रबार ०८:४७:००

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीलाई विचलित नहुन आग्रह गरेका छन् । बिहीबार उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा आयोजना गरेको प्रथम ‘सिएनआई एक्स्पो’को उद्घाटन ओलीले यस्तो बताएका हुन् । साथै, उनले डेढ वर्ष नेतृत्व गरेको अघिल्लो सरकारले सही तरिकाले शासन सञ्चालन नगर्दा देशको अर्थतन्त्र तहसनहस भएको र उद्योगी व्यवसायीले आत्महत्या गर्नुपर्ने अवस्था आएको आरोप लगाए । 

एक्स्पोको उद्घाटन गर्दै प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै ओलीले व्यापार व्यवसाय घाटा हुँदैमा र उतारचढाव आउँदैमा विचलित नहुन आग्रहसमेत गरे । सूर्यलाई पनि ग्रहण लाग्ने उदाहरण दिँदै व्यापार व्यवसायमा उतारचढाव आए पनि उद्योगी–व्यवसायी विचलित हुन नहुने उनको तर्क थियो । 

 उद्योगीको हितकै लागि वर्तमान सरकारको २० बुँदे ग्यारेन्टी 
पूर्वप्रधानमन्त्री ओलीले उद्योगी–व्यवसायीको हितकै लागि वर्तमान सरकारले २० बुँदे ग्यारेन्टी पत्र सार्वजनिक गरिसकेको र त्यसले हित गर्नेमा आफू विश्वस्त रहेको प्रस्ट पारे । ‘सरकार तपाईंहरूको समस्याका लागि सधैँ साथमा छ,’ उनले भने, धेरै आत्तिने काम नगर्नुहोस् । बरु समस्या कसरी हल गर्न सकिन्छ भनेर हामीसँग माग गर्र्नुहोस्, वर्तमान सरकारले समस्या समाधान गर्छ ।’ 

 ठोस माग ल्याए सरकारले पूरा गर्छ
ओलीले विराटनगरका उद्योगी–व्यापारीलाई ठोस र मूर्त माग लिएर काठमाडांै आउन आग्रह गर्दै सरकारले जायज माग योजना बनाएर पूरा गर्न लागिपर्ने बताए । उनले आफ्नो पार्टी सहभागी भएको वर्तमान सरकारलाई गफ गर्ने छुट  नभएकाले काम गरेर देखाउने दाबी गरे । 

वर्तमान समय कुराको जुहारी खेल्ने हैन, काम गर्ने भएकाले सरकारले अपवादका लागि हैन उत्पादन र उद्यमशीलताका लागि ठोस रूपले काम गर्ने आश्वासन दिलाए । उद्योगी–व्यवसायीको समस्या समाधान गर्नकै लागि २० बुँदे ग्यारेन्टी ल्याएको उनको भनाइ थियो । 

 विकासको प्रतिस्पर्धा गर्न आग्रह
ओलीले संसारमा औद्योगीकरण भइसक्दा पनि तत्काल आफूहरूको देशले चाल पाउने अवस्थासमेत नभएकाले अर्थतन्त्रमा पछाडि पर्नुपरेको भन्दै अब कुनै पनि उद्योग व्यवसाय गर्ने नागरिकलाई राज्यले उपेक्षा नगर्ने बताए ।
उद्योगी–व्यवसायीका संस्थाहरूले पनि आफ्नो मानसम्मान घरानिया प्रतिष्ठाका लागि नभई समग्र अर्थतन्त्रको विकासका लागि प्रतिस्पर्धा गर्न आग्रहसमेत गरे । उनले आफू र आफ्नो सरकार उत्पादन बढाउन सचेत रहेको दाबी गरे । 

 एकीकृत औद्योगिक नीति बनाउँछौँ :  उद्योगमन्त्री भण्डारी 
संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले जारी गरेको नीति, कार्यक्रम र मार्गनिर्देशन भएकाले सोहीअनुसार उद्योगी–व्यवसायीको विकासमा लागिपर्ने प्रतिबद्धता जनाए । मन्त्री भण्डारीले सरकारले चाँडै छरिएका कोषलाई एकीकृत गर्ने र औद्योगिक नीति बनाइरहेको जानकारीसमेत दिए ।

समस्या कायमै भएको उद्योगीको गुनासो 
नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले अझै पनि प्रदेश १ मा प्रदर्शनीस्थल नएकाले खुला चौरमा औद्योगिक प्रदर्शनी आयोजना गर्न बाध्य भएको बताए । साथै, विशेष आर्थिक क्षेत्र निर्माण गर्ने प्रतिबद्धता भए पनि अझैसम्म निर्माण सुरु नभएको, विराटनगर–वथनाहा रेल्वे सञ्चालनमा आउन नसकेको, जोगबनी–किमाथांका सडक निर्माण पूरा नभएको र बैंकको चर्को ब्याजदरबारे पटक–पटक आन्दोलन गरी सरकारको ध्यानाकर्षण गराउँदा पनि उद्योगी–व्यवसायी मारमा परेको भन्दै समस्या समाधान गरिदिन सरकारसँग आग्रह गरे । उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा पहिलोपटक आयोजना गरेको सिएनआई अन्तर्राष्ट्रिय एक्स्पोमा तीन सयभन्दा बढी स्टल राखिएका छन् ।