
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमैत्री शिक्षामा चासो राखेकी छिन् । राष्ट्रपति कार्यालयले काठमाडौं विश्वविद्यालयसँग बुधबार गरेको अन्तर्क्रिया कार्यक्रममा राष्ट्रपति भण्डारीले माटो, ढुंगा र पानी भावी सन्ततिलाई कसरी हस्तान्तरण गर्ने भन्नेमा अनुसन्धानकेन्द्रित हुनुपर्ने बताइन् ।
रातारात बनाउन नसकिने वस्तु भावी पुस्तालाई हस्तान्तरण गर्नेबारे सरोकारवाला सबै सचेत हुनुपर्नेमा उनले जोड दिइन् । उनले शिक्षा सुधारमा आफ्नो चासो निरन्तर रहँदै आएको पनि बताइन् ।
केयूका उपकुलपति भोला थापाले सीमित स्रोत र साधनका बीच केयूले काम गरिरहेको र उक्त कामलाई समाजले राम्रो मान्दै उत्कृष्ट दर्जा दिएको स्मरण गरे । उनले केयूले कार्यक्रम विस्तारको नीति लिएको पनि जानकारी गराए ।
केयूका सातवटै संकायको प्रस्तुतिसहितको उक्त कार्यक्रममा सातजना डिन, रजिस्टार, परीक्षा नियन्त्रक, निर्देशकहरूसहित १३ जना र राष्ट्रपति कार्यालयका सचिवसहित पदाधिकारीको सहभागिता थियो।