१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
यम बम काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o७:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

फागुनबाट सबै क्षेत्र खुल्ने

Read Time : > 2 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:o५:oo

कोभिड–१९ संक्रमणको तेस्रो लहरको रोकथामका लागि एक महिनाअघि जारी भएका प्रतिबन्धात्मक आदेश खारेजीमा पुगेका छन् । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)ले विद्यालय सञ्चालनदेखि रात्रिकालीन व्यवसाय सञ्चालनका लागि सरकारलाई सिफारिस गरेको छ ।‘प्रतिबन्ध पूर्ण रूपमा नहटे पनि लगभग सबै क्षेत्र आंशिकदेखि पूर्ण रूपमा खुला गर्ने गरी सरकारलाई सिफारिस गरेका छौँ,’ सिसिएमसिसीकी प्रवक्ता सुनिता नेपालले भने, ‘कोभिडको संक्रमणदर घट्नुका साथै विज्ञहरूबाट खुकुलो गर्न सिफारिस गरेपछि त्यहीअनुसार अघि बढेका हौँ ।’

सिसिमएसीको सिफारिसअनुसार उपत्यका जिल्ला प्रशासन कार्यालयले सोमबारबाट लागू हुने गरी यातायातमा जोर–बिजोर प्रणाली हटाइसकेका छन् । १ फागुनबाट डान्सबार, दोहोरीलगायत रात्रिकालीन व्यवसाय राति १० बजेसम्म खुल्ने भएका छन् । त्यस्तै, हेल्थ क्लब, जिमखाना, फुटसल पनि स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न पाइनेछ ।

विश्वविद्यालय, विद्यालयसहित शैक्षिक प्रतिष्ठान पनि १ फागुनबाट सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरिएको प्रवक्ता नेपालले जानकारी दिइन् । तर, १२ वर्षमाथिका विद्यार्थीको हकमा नियमित कक्षा भए पनि १२ वर्षमुनिका विद्यार्थीको हकमा आलोपालो कक्षा सञ्चालन हुनेछ । पार्टी प्यालेस ५० प्रतिशत वा एक सयजना उपस्थित हुने गरी सञ्चालन हुने भएका छन् । यसअघि क्षमताको २५ प्रतिशतमा मात्र सञ्चालन हुँदै आएका थिए । 

खेलकुद कार्यक्रम गर्दा यसअघि दर्शक २५ प्रतिशत दर्शक मात्र सहभागी हुन पाइन्थो । तर, १ फागुनबाट रंगशालाको कुल क्षमताको ५० प्रतिशत राख्न पाइनेछ । तर, स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने गरी सिफारिस गरिएको छ । यसअघि पुस अन्तिम साताबाट २५ जनाभन्दा बढी जम्मा हुने गरी भेला, मेला र महोत्सवमा प्रतिबन्ध लगाइएको थियो । यी विषयमा भने पुनर्विचार गरिएको छैन । विश्वविद्यालय, कलेज, लोकसेवा आयोगले रद्द गरेका परीक्षा पनि फागुनबाट सञ्चालन गर्ने निर्णय गरिसकेका छन् ।

 उपत्यकामा १७औँ दिनमा हट्यो जोरबिजोर
काठमाडौं उपत्यकामा यातायातमा लागू भएको जोरबिजोर प्रणाली १७औँ दिनमा हटेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझको बैठकले सोमबारबाट लागू हुने गरी सबै प्रकारका सवारीसाधनमा जोरबिजोर प्रणाली हटाएको हो । ‘कोरोनाको संक्रमणदर घटेको छ । सिसिएमसिसीले पनि जोरबिजोर हटाउन सिफारिस गरेपछि जोरबिजोर हटाइएको छ,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने ।
यसअघि १७ माघ मध्यरातिदेखि उपत्यकामा अत्यावश्यकबाहेकका सवारीसाधनमा जोरबिजोर कायम गरिएको थियो । जोरबिजोर निर्णयको आलोचना भएपछि ७ माघ मध्यरातिबाट सार्वजनिक यातायातबाहेक ट्याक्सी र निजी सवारीसाधनमा मात्र जोरबिजोर कायम गरिएको थियो ।

तर, सार्वजनिक सेवा, बजार व्यवसाय खुला रहे पनि सवारीसाधनमा मात्र जोरबिजोरको अर्थ नरहने भन्दै आलोचना बढेपछि सिसिएमसिसीको सिफारिसमा प्रमुख जिल्ला अधिकारीहरूले जोरबिजोर पनि हटाएका हुन् । कोरोना नियन्त्रणका लागि जारी भएका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने प्रजिअ उपाध्यायले बताए । सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइनेछैन भने सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ । 

 भौतिक रूपमै विद्यालय सञ्चालन गर्न पाउने

कोभिड संक्रमणको दर बढेपछि बन्द भएका विद्यालय १ फागुनदेखि भौतिक रूपमा सञ्चालन हुने भएका छन् । सिसिएमसिसीको बैठकले भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । केन्द्रका प्रमुख रामप्रसाद थपलियाका अनुसार कोभिडको संक्रमणदर कम भएकाले धेरै क्षेत्रमा सहजीकरण गर्ने निर्णय भएको छ । उनका अनुसार १२ वर्षमाथिका विद्यार्थीले खोप लगाइसकेकाले भौतिक उपस्थितिमा नियमित कक्षा सञ्चालन हुने र १२ वर्षभन्दा कम उमेरका विद्यार्थीले खोप नलगाएकाले आलोपालो सञ्चालन गर्ने निर्णय भएको छ । 

कोभिडको संक्रमण बढेसँगै शिक्षा मन्त्रालयले २६ पुसमा विद्यार्थीलाई स्वास्थ्य सुरक्षा तथा बचावटका लागि १५ माघसम्म बिदा दिने निर्णय गरेको थियो । कोभिडको संक्रमण तीव्र भएसँगै विश्वविद्यालयको परीक्षासमेत स्थगित भएका थिए । जिल्ला प्रशासनले पनि शैक्षिक संस्थाहरू माघ मसान्तसम्मका लागि भौतिक रूपमा सञ्चालन गर्न नमिल्ने आदेश गरेका थिए । संक्रमणदर घटेसँगै काठमाडौं उपत्यकाभित्रै भौतिक रूपमा पठनपाठन सुरु हुन थालेका छन् । काठमाडौंभित्रको गोकर्णेश्वर नगरपालिकाले आइतबारदेखि भौतिक रूपमा कक्षा सञ्चालनको निर्णय गरेको छ । भक्तपुर नगरपालिकामा पालिकाले औपचारिक निर्णय नगरे पनि निजी विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरु भइसकेको छ । 

ad
ad